विजयनगरमा एक जनामा कोरोना पोजेटिव देखिएपछि सम्पर्कमा आएका सबैको स्वाब संकलन

66

पहिलोसन्देश डेस्क, कपिलवस्तु, जेष्ठ २ ।
कपिलवस्तुको विजयनगरमा शुक्रवार १ वडाध्यक्ष, १ एम्बुलेन्स चालक र १ ट्रयाक्टर चालक गरी ४५ जनाको स्वाब संकलन गरिएको छ । गाउँपालिकाको वडा न. ६ मा रहेको राम शरण आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका एक जना ३२ वर्षीय पुरुषमा कोरोना पोजेटिव देखिएपछि उनीसँग कन्ट्याक्ट ट्रेसिङ्गमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरिएको हो ।

कन्ट्याक्ट ट्रेसिङ्गमा रहेकाको स्वाब संकलन गरी प्रदेश नम्बर ५ को भैरहवा स्थित जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि पठाईएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले बताउनुभएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गाउँपालिकाको क्वारेनटाइनमा रहेका ४५ जनाको स्वाब संकलन गरिएको हो । हालसम्म क्वारेन्टाइनमा रहेका जम्मा ५ सय ४ जना मध्ये ४५ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि भैरहवा पठाईएको छ भने ४ सय ५९ जनाको बाँकी रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

पहिलो चरणमा ५० जनाको स्वाब संकलन गरिएकोमा सबैको पिसिआर परीक्षण नेगेटिव आएको थियो । गाउँपालिकाभित्र एक जनामा कोरोना पोजेटिव देखिएसँगै उच्च सावधानी अपनाइएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg