१३ वर्षीया बालिकाको एक वर्षदेखि सामूहिक बलात्कार, ५ महिने गर्भ पुष्टि

1071

राजु विके, बुटवल, जेष्ठ ३ ।
धनुकुटामा एक १३ वर्षीया किशोरीको चार जना प्रौढ पुरुषहरुबाट पटक पटक एक वर्षदेखि यौन शोषण हुँदै आएको घृणास्पद घटना बाहिरिएको छ । धनकुटा नगरपालिका वडा न ६ बस्ने बालिकालाई बलात्कार गरिएको खुलासा भएपछि उनीहरु विरुद्ध स्थानीयहरुको सहयोगमा बिहिबार मुद्दा दर्ता गरिएको छ ।

धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर निवासी मावि तहमा अध्यापनरत मदन अधिकारी, धनुकुटा वडा नं. ६ कै गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्त बहादुर मगरले सामूहिक रुपमा पालैपालो ललाईफकाई यौन सम्बन्ध स्थापित गर्दै आउँदा बालिकाको ५ महिने गर्भका कारण पेट ठुलो देखिन थालेपछि स्थानीयहरुले सोधपुछ गर्दा उक्त यौन शोषणको घटना सार्वजनिक भएको हो ।

बालिकामाथि यौन शोषणको आरोप लागेका चारै जनाको उमेर ५० नाघीसकेको छ । उनीहरुले सो घटना लुकाउन आफुले स्थायी बन्ध्याकरण गरिसकेको बताएका छन् । धनकुटा प्रहरी कार्यालयका एसपी सुदर्शन कोइरालाले आरोपीहरु मध्य तीन जना पक्राउ परिसकेको र एक जना भागेकाले खोजी कार्य जारी रहेको बताएका छन् ।

सार्की समुदायकी बालिकाकी आमा बालिका सानै छँदा बितेको, बाबुले कान्छी आमा ल्याएको र उनीहरुको आर्थिक अवस्था निकै कमजोर रहेकोले ओरोपीहरु बालिकालाई पैसा, लुगा, खानाको प्रलोभन दिइ लामो समयदेखि यौन शोषण जस्तो घृणित कार्यलाई लुकाउन सफल भएको बुझिन्छ । आरोपित चार जनाले पीडित बालिकाका बुवालाई प्रति व्यक्ति ३ लाखको दरले १२ लाख उपलब्ध गराउने गरी मिलापत्र गरौं भन्दै प्रहरीमा उजुरी दिनु अघि दवाब दिएका थिए । स्थानीयबासी र शान्ति गजमेर लगायतका केही अधिकारकर्मीहरुले चासो नलिएको भए बालिका आमा बनिसक्दासम्म यो यौन शोषणको घटना रहस्य नै बनेर त्यतिकै बिलाउथ्यो, सेलाएर जान्थ्यो ।

ललाईफकाई बलात्कार गर्ने चार जना मात्रै नभई अन्य केही व्यक्तिहरु पनि बालिकाको यौन शोषणमा आबद्ध भएको हुन सक्ने आशंका गरिएको छ ।

अहिले यो घटनालाई केही अनलाइन मिडियाहरुले प्रकाशित गरि सामाजिक संजालमा पोस्ट गरेका छन् । समाचारमा दलित बालिकाको बलात्कार भएको उल्लेख गरिएको छ । हरेक नेपाली सार्वभौम सम्पन्न नागरिक भएकाले मानवीय हिसाबले मानव र जातीय हिसाबले नेपाली हो । सार्वभौम सम्पन्न नागरिक राष्ट्रको सर्वाेच्च शक्ति हो ।

बाहुन, जनजाति, क्षेत्री, दलित, मुस्लिम, इसाइ भनेर यस सर्वाेच्च शक्तिको अपहेलना गर्नु उचित कार्य होइन । विशेषगरी दलित शब्द जाति विशेष नभई दलन वा शोषणमा परेको एक निश्चित अवस्थालाई वर्णन गर्ने शब्द हो । नेपालका नागरिक दलनमा परेका छन्, शोषणमा परेका छन् भन्ने कुराको प्रमाण सबुत राज्यले नै संविधानमा दलित शब्द प्रयोग गरेर दिइरहेको छ । त्यसलाई शिक्षक, पत्रकार, न्यायकर्मी, मानवाधिकारकर्मी लगायत सबैले पुष्टि गर्दै आएका छन् । बालिका यौन शोषणमा परेकी छिन्, उनलाई मानसिक यातना भएको छ । सशक्त, अधिकारसम्पन्न, सृजनशील छौ भनेर चिनाउनु र स्वाभिमानी बन्न हौसला दिनुको सट्टा कलिलै उमेरमा उनी दलित भएको अनुभूति दिलाउन, मानसिक रुपमै कमजोर बनाउन सबै लागीपरेको जस्तो देखिन्छ । पत्रकार, शिक्षक र न्यायकर्मीहरुले दलित शब्दको प्रयोग गर्न नहुने कुरालाई बुझ्न र बुझाउन अति आवश्यक छ । संविधानबाट यो शब्द हटाइ समता र समानताको सिद्धान्त अनुरुप राज्यले नीति र विकासका योजना निर्माण एवं कार्यान्वयन गर्न आवश्यक छ ।

राज्यको कानुन पैसामा होइन, कसैको भावनामा होइन परमोचित न्यायको सिद्धान्तमा केन्द्रित भएमा मात्र हर प्रकारको अपराध कार्य निर्मूल हुन्छ । नागरिकको सुरक्षाको प्रत्याभूति पनि हुन सक्छ । धनकुटाकी बालिकामाथिको योजनाबद्ध यौन शोषण त प्रतिनीधि घटना मात्र हो । यस्ता घटनाहरु गाउँ, शहर चारैतिर भइरहेका छन् । घटनाका दोषीहरुलाई कुनै पनि बहानामा उम्किन नदिन राज्यले दायित्व निर्वाह गर्नै पर्छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg