रोकथाम नै हो कोरोना नियन्त्रणको उपाय

859

कुनै सरुवा रोगको प्रकोप यदि तीव्र गतिमा ठुलो भौगोलिक क्षेत्रमा फैलिन्छ र एकै समयमा धेरै व्यक्तिहरुलाई असर गर्दछ भने यो महामारी हो । त्यसैगरी कुनै पनि महामारी यदि एक देशबाट अर्काे देश गरी धेरै देश वा महाद्वीपहरुमा फैलिन्छ र लाखौं मानिसलाई असर गर्दछ भने यो विश्वमारी हो । यहि विश्वमारीको रूप अहिले कोराना भाईरसले लिएको छ ।

यो अप्रत्याशित रूपले विश्वजगतमा फैलिएको छ । यसबाट के बुझिन्छ भने महामारीले नै पछि गएर विश्वमारीको स्वरुप धारण गर्दछ । कोरोनाले अहिले विश्वका सारा मानव समुदायलाई चुनौती सिर्जना गरेको छ । महामारी विशेषगरी सामान्य स्रोत महामारी र प्रसारित महामारी हुने गरेको पाईन्छ । जानि राखौँ महामारी नियन्त्रणका केही उपायहरू जसमा मौलिक तहको रोकथाम, प्राथमिक तहको र द्वितीय तहका रोकथाम हुने गर्दछन् ।

विशेषगरी रोगको भण्डार तथा स्रोतको नियन्त्रणमा ध्यानदिनु आवश्यक हुन्छ । रोगका जीवाणु बस्ने, बाँच्ने र वृद्धि हुने ठाउँ रोगको भण्डार हो । महामारी नियन्त्रण र रोकथामका लागि रोगको भण्डार र स्रोतको पहिचानमा विशेष ध्यान दिनु पर्दछ । नियन्त्रण र रोकथामका लागि यी तरिका अनुशरणयोग्य छन् :
१. शिघ्र निदान (Early Diagnosis) :
कुनैपनि रोग लाग्ने बित्तिकै रोग के कारणले लागेको हो भन्ने कुरा शिघ्र पत्ता लगाउनु पर्दछ । महामारीको जाँचपड्ताल, शारीरिक तथा प्रयोगशाला परीक्षण गरेर शिघ्र निदान गर्न सकिन्छ । यसको लागि अस्पताल गएर विशेषज्ञ डाक्टरसँग बेलैमा परामर्श लिनु पर्दछ । कोरोना सँक्रमणको हकमा नेपाल सरकारले तोकेको प्रयोगशालामा थ्रोट स्वाब परीक्षणबाट यसको शिघ्र निदान गर्न सकिन्छ ।

२ सूचना गर्ने (Information):
समुदायमा महामारी देखापर्ने वित्तकै ढिला नगरी स्थानीय स्वास्थ्य संस्था तथा कार्यकर्तालाई सूचना गर्नु पर्दछ । यसरी सूचना प्रवाह गर्दा सरकारको रोगको भण्डार पहिचान र नियन्त्रण गर्ने प्रयासमा सहयोग पुग्छ । चाइनाको वुहान शहरमा पहिलो कोरोना सँक्रमण ३० डिसेम्बर २०१९ मै थाहा लागेको थियो । तर  ३० जनवरीसम्म चाइनाले यसको बारेमा विश्वलाई जानकारी गराएन । एक महिनाको अवधिसम्म कोरोना सँक्रमणको तथ्य लुकाइयो । फलस्वरुप आज विश्व नै कोरोनाको कहरमा छ । समयमै चाइना सरकारले सूचना जारी गरिदिएको भए विश्वाम कोरोना वायरसले विश्वमारीको रुप लिने थिएन । हाम्रो देशको हकमा पनि यदि कसैलाई कोरोना सँक्रमणको लक्षण देखिएमा सम्बन्धित निकायलाई तुरुन्त सूचित गरिनु पर्दछ । सँगसँगै अरुमा नफैलियोस् भन्नको लागि सतर्कता अपनाउनु पर्छ ।

३ अलग राख्ने (Isolation): 
घर समुदायका कुनै पनि व्यक्तिलाई रोग लागेमा स्वस्थ मानिसबाट अलग्गै कोठामा राख्ने र उपचार गर्ने गरेमा अरूलाई रोग फैलन पाउँदैन ।

४ क्वारेन्टाइनको नियम अवलम्बन गर्ने :
महामारी रोग फैलिएको समयमा रोग फैलिएको क्षेत्रबाट आएका वा रोगको जोखिममा परेका व्यक्तिलाई रोगका लक्षण देखा पर्ने अवधिभर निगरानीमा राख्ने र सिमित क्षेत्रमा मात्र हिडडुल गर्न पाउने गरि नियन्त्रणमा राख्ने । यसले रोग फैलन दिदैन ।

५ कीटाणुशोधन (Disinfection) विधि अपनाउने :
यो विधिमा केमिकल वा अन्य कीटाणुनाशक तत्वहरु प्रयोगमा ल्याइ कीटाणुलाई मार्ने काम गरिन्छ । सर्जिकल औजारहरु पानीमा उमाल्नु, साबुन पानीले हाथ धुनु, सेनिटाइजर प्रयोग गर्नु, यी कीटाणुशोधन विधि हुन् ।

६ रोग सर्ने माध्यम वा प्रसारणमा अवरोध गर्ने :
विशेषगरी कोरोनाको हकमा यस अन्तर्गत व्यक्तिगत सरसफाइ, हात धुने, मास्क, हेण्ड सेनिटाईजर, पंजा, पिपिई, चस्मा आदिको प्रयोग गर्ने गराउने गरिन्छ । तातो पानी, तातो चिया पिउनु, साबुन पानीले नुहाउनु, कसैसँग हात नमिलाउनु, तीन मिटरको भौतिक दूरी कायम राख्नु कोरोना नियन्त्रणमा उपयोगी छ ।

७ रोग ग्रहण लायक व्यक्तिहरूको संरक्षण :
यस अन्तर्गत उच्च जोखिममा रहेका केही व्यक्तिहरुको समूहलाई विशेष सुरक्षण घेरामा राखिन्छ । जस्तै वृद्ध, बालबालिकाहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यिनीहरुलाई विशेष रेखदेख गर्नु जरुरी छ । त्यसै गरी उच्च रक्तचाप, दम, डायबिटिजका विरामीहरुलाई विशेष हेरचाहको खाँचो छ ।

८ उपचार गर्ने :
केही महामारीको उपचार सम्भव छ । केही महामारीको औषधि नै बनेको छैन । जस्तै हैजाको उपचार सम्भव छ । यसको बेलैमा उपचार गर्ने हो भने थप फैलिने प्रक्रिया रोकिन्छ । तर कोरोनाको उपचार पत्ता लागीसकेको छैन । कोरोना सँक्रमणमले गम्भिर रुप धारण गरेर साँस फेर्न गाह्रो भएपछि विरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्दछ । यो सुविधासम्पन्न अस्पतालमा मात्र सम्भव छ ।

त्यसैले रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्न नै नदिनु उत्तम उपाय हो । रोकथामका उपायहरु अपनाएरै कोरोना नियन्त्रण सम्भव छ । विशेषगरी नेपाल जस्तो अविकसित देशमा ।

सबै लागौं कोरोना नियन्त्रणमा यिनै उपायहरु अवलम्बर गरेर । जे गर्नु छ आफै गरौं, हुँदैन नि अरुको भर परेर । स्वस्थ बसौं, सुरक्षित रहौं, सबै जागौं । भौतिक दूरी अपनाएर अब आय आर्जनमा लागौं ।
हरिकृष्ण लोहनी

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg