महाकाली नदीमा खटिदा ‘गोर्खाली भारतीय सैनिक’ को अनुभव

1251

भारतको गोर्खा राइफल्समा करिब ८० हजार नेपाली गोर्खा सैनिक छन् भने असम राइफल्समा गोर्खाको संख्या करिब एक लाख छ । ज्यानलाई मृत्युको उच्च जोखिममा राखेर गोर्खाली(नेपाली)हरु भारतीय सेनामा कार्यरत छन् । म पनि ती मध्य एक सैनिक थिएँ । अहिले सेवाबाट निवृत्त भएर रुवदेश फर्की रिटायर्ड जीवन व्यतित गर्दै छु । सर्विसको दौरान भारतको प्रायः सबै राज्यहरुमा जाने अवसर प्राप्त भएको थियो ।

अफिसको कम्प्युटर क्लर्क, लेखा, मेडिकल कोर्स अनुभव देखि कलेजको डिग्रीसम्मको अध्ययन अनि जम्मुकश्मीरको अफगानी र पाकिस्तानी मिलिटेन्टदेखि असमका उल्फा अनि उडिसाका खतरनाक माओवादी, कार्गिल युद्ध लगायत अनेकौं अप्रेसन, इन्सरजेन्सी, कोर्डन, रेड, एम्बुसको अनुभवहरु बटुल्न सफल भएको थिएँ । सन् २००५ मा भारतको धार्चुलाको कालापानीमा मलाई ड्युटीमा खटाइएको थियो । अथवा भनौं मैले कालापानीमा सेवाको मौका पाएको थिएँ ।


त्यस दौरान लिपुलेख, लिम्पियाधुरा जाने अवसर पनि मिलेको थियो तर त्यतिबेलासम्म मलाई त्यो भूभाग नेपालको थियो भन्ने जानाकारी थिएन किन कि मैले भूगोल पढ्दा आजको जस्तो चुच्चो परेको नक्सा देखेको पनि थिइन र त्यहाँ भारतीय सेनाहरु तैनात भएको हुँदा मैले सोच्थें यो भूभाग भारतको हो । कालापानी जहाँ हामी ड्युटीमा खटियौं त्यहाँका वासिन्दाले सन् १९६२ को भारत र चिनको लडाइपछि भारतीय सेनाहरु यहीँ बस्दै आएको गुनासा सुनाएका थिए । मेरो मनमा शंका लाग्यो र एक दिन आइतबार बिदाको दिन म र मेरो साथी “लिम्पियाधुरा“ भन्ने गाउँमा घुम्न गयौं । त्यहाँका मानिस प्रायः नेपालीभन्दा बढी डोटेली भाषा बोल्दा रहेछन् । बुझ्दै जाँदा तिनिहरुका राशन कार्ड, पान कार्ड, आधार कार्ड सबै भारतकै रहेछ । त्यहाँ बनाइएका स्कुल, रोड, भवन सबै भारतले नै बनाएको रहेछ ।

लिम्पियाधुरा क्षेत्रका गाउँका बासिन्दाको थर गाउँको नामबाट राख्दा रहेछन् । गुन्जी गाउँका बासिन्दाले गुन्जीयाल थर, नाबी गाउँका बासिन्दाले नाबियाल थर, र कुटी गाउँका बासिन्दाले कुटियाल थर । त्यहाँ लगभग ३ हजार जना जति जनसंख्याको बसोबास रहेछ । दुर्गम ठाँउ भएपनि साक्षरता उच्च रहेछ । प्रायःले दिल्ली र देहेरादुनबाट उच्च शिक्षा पूरा गरेका रहेछन् । कुनै–कुनै त मैले पढेको देहरादुनको डिएवी (पीजी) कलेज- DAV (PG) College देखि डिग्री लिएका सहपाठी पनि भेटिए । सोही कलेजबाट पढेका ३–४ जना भारतको प्रतिष्ठित आइएएस/आइपीएस (IAS/IPS) अफिसर भएका पनि रहेछन् । सरकारी सेवामा अरू पनि धेरै नै रहेछन् ।

कुटी गाउँका एकजना प्रतीक कुटियाल भन्ने व्यक्ति र उनका साथीहरुले त आफू जान्मिएदेखि भारतीय भएको र उनको बुबा पनि भारतीय भएको बताउँदै नेपालले समय मै ध्यान नदिएकाले आफ्नो भूमि गुमाएको समेत गुनासो गरका थिए त्यो बेला । गुन्जी, नाबी र कुटीका मानिसहरु आफूलाई नेपाली नभनेर भारतीयकै रुपमा आफुलाई चिनाउन चाहन्छन् । नेपालले आफ्नो भूमि र नागरिकलाई दशकौंसम्म बेवास्ता गर्दा त्यहाँका जनताले आफुहरु भारतीय हुन बाध्य भएको बताए । यो थियो म इण्डियन आर्मी हुँदा विवादित भूमिबारे मेरो स्थलगत अनुभव ।

अब कुरा आजको
यही २०७७ साल जेठ ३१ गते नेपालको निशान छापमा नेपालको नयाँ नक्सा प्रयोग गर्ने संविधान संशोधन विधेयक प्रतिनिधिसभामा सर्वसम्मत पारित गरियो । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि देशभर खुशियाली छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मतले पास गरेको छ ।

अब नयाँ नक्शालाई आधार बनाएर सरकारले भारतसँग छिटो वार्ता गरि अतिक्रमित जमिनबाट तत्काल आफ्ना सेना हटाउन भारतलाई दबाब देओस् र हामी हाम्रो गुमेको भूमि नक्सामा मात्र नभै जमिनमा पनि साबिक रुपमा होस् भन्ने हामी सबै नेपालीहरुको अन्तरात्मादेखिको चाहना हो ।

यदि त्यसो भएन भने कहीं कतै भोलि भारतमा भएका गोर्खाली भारतीय सैनिकले पक्कै पनि नुनको सोजो नगरेर मातृभूमिको रक्षाकालागि भारतले दिएको ट्रेनिङ्ग र गोलिले भारतलाई नै बजाउन बेर लाग्ने छैन । त्यसैले शान्तिपूर्ण ढंगले कुटनैतिक वार्ताको माध्यमबाट समस्याको समाधान गरियोस् । यसमा दुबै देशको हित देखिन्छ ।

शत्रुलाई जुनसुकै अवस्थामा चुनौती दिने र आवश्यक परिआएमा खुकुरीले गर्दन छप्काउन समेत नडराउने शूरवीरको रुपमा नेपालीलाई विश्वले चिन्दछ । अति ठुलो शूरवीरता बापत विक्टोरिया क्रस VICTORIA CROSS नामक विश्वकै ठुलो उपाधिले सम्मानित भइसकेका वीर गोर्खाली जङ्गियो भने लिपुलेख, लिम्पियाधुरा र कालापानी मात्र होइन असमान सुगौली सन्धिमा खोसिएको ग्रेट नेपालको भूभाग पनि हासिल गर्न पछि पर्ने छैन ।


नेपाललाई सानो ठान, नेपालीलाई सानो ठान तर नेपालको पवित्र गाथा र नेपालीको शूरवीरतालाई सानो ठान्ने भूल कसैले नगरेकै राम्रो । ब्रिटिश भारतका अधिकारीहरुले गोर्खालीलाई योद्धा प्रवृत्तिको मालिक र युद्धमा अति आक्रामक भएको बताएका छन् । वीर गोर्खालीहरु इमानदार, साहसी, आत्मनिर्भर, शारीरिक रुपले फुर्तिला र मजबुत हुन्छन् । भारतीय आर्मीका भूतपूर्व चीफ अफ स्टाफ जनरल स्व. सैम मानेक्शाले भनेका छन् –‘‘If a man says he is not afraid of dying, he is either lying or is a Gurkha”  अर्थात् यदि कसैले भन्छ मलाई मर्नदेखि डर लाग्दैन भने कि त उसले झुट बोल्दै छ कि ऊ गोर्खाली हो ।

लोकनाथ लुइटेल शर्मा

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg