बुटवलमा डाक्टरको निर्देशनमै भेन्टिलेटर हटाएपछि विरामीको मृत्यु

1512

धनी, गरिब, सपांग र अशक्त जो कोहीको जीवन उत्तिकै महत्वपूर्ण हुन्छ । स्वास्थ्य क्षेत्रलाई राज्यको दायित्वभित्र पार्न सकेमा स्वास्थ्य सुविधा हरेक नागरिकलाई सहजै उपलब्ध हुन सक्छ र कसैले अकाल मृत्यु वरण गर्नु पर्दैन । अस्पताल त्यो मन्दिर सरह हुनु पर्छ जहाँ आएपछि रोगी मानिसहरुले देवीदेवता स्वरुप डाक्टर, नर्सहरुबाट दीर्घायुको वरदान  प्रसाद पाउन् । स्वास्थ्य रक्षाको नाममा कहीँ कतै माफियातन्त्रले आफ्नो सलतनत जमाउन खोजेको छ भने त्यसलाई निरुत्साहित गरिनु पर्दछ । लुम्बिनी सिटी अस्पतालमा भएको गोकुलको मृत्युमा उनको आफ्नै लापरवाहीले पनि ८०% काम गरेको देखिन्छ । यो समाचार अस्पताललाई पीडक र मृतक परिवारलाई पीडित भन्दै क्षतिपूर्ति दिलाइनु पर्छ भन्ने पक्षमा नभइ व्यक्ति आफुप्रति, डाक्टर तथा नर्सहरु विरामीप्रति र राज्य नागरिकहरुप्रति उत्तरदायी बन्नु पर्छ भन्ने प्रेरणा प्रवाह गर्नका लागि प्रकाशित गरिएको छ । —सम्पादक

 

पहिलो सन्देश, रुपन्देही, असार १३ ।
लुम्बिनी सिटी अस्पताल बुटवलमा ६ दिनदेखि आइसियूमा उपचाररत विरामीको असार १० गते निधन भएको छ । यही असार ५ गते पेटमा पानी (Ascites) जमा भएकै कारण एक्कासी सांस फेर्न गाह्रो भएसँगै असह्य पेट दुखेपछि आइसियूमा राखी उपचार भइरहेको अवस्थामा डाक्टर मुकेश शर्माको निर्देशनमा ५१ वर्षीय गोकुल केसीको भेन्टिलेटरबाट हटाएपछि मृत्यु भएको हो । असार ११ गते केसीको कपिलवस्तु जिल्लाको शिवपुर स्थित घरमा आवश्यक विधि प्रक्रिया सम्पन्न गरेर सूर्यपुरा घाटमा दाहसंस्कार गरिएको छ ।

अस्पताल आउँदा सुरुमै डाक्टर मुकेश शर्माले विरामीको चेकजाँच गरेर आइसियूमा उपचार गर्दा १०% मात्र आश गर्न सकिने बताएका थिए । विरामीका आफन्तजनले चाहेमा विरामीलाई अन्य अस्पतालमा लैजान रेफर समेत गर्न सक्ने डा. मुकेशले विरामी लिएर आएका केसीका श्रीमती र भान्जालाई डे वनमै जानकारी गराएका थिए ।

डा. शर्माले अन्यत्र लैजान सक्ने भने तापनि कोरोना कहरका कारण गत चैत ११ गतेदेखि जारी लकडाउन अनि केसीको गम्भिर अवस्थाले गर्दा उनलाई लुम्बिनी सिटी अस्पतालको आइसियूमै भर्ना गरि उपचार सुरु गरिएको थियो ।
पहिलो दिनको ल्याब रिपोर्ट अनुसार हिमोग्लोबिन ५.५(सिवियर एनिमिया), आरबीएस १७० (हल्का बढेको), ब्लड युरिया १८ (नर्मल), सेरम क्रिएटिनिन ०.९ (नर्मल), टोटल बिलिरुबिन १.७ (बढेको), टोटल काउन्ट (WBC) ९००० (नर्मल) देखिएको थियो ।

असार ६ गते पेटको सिटी स्क्यान गर्न भनि प्लान गरिएकोमा सांस फेर्न गाह्रो भएकाले स्क्यान हुन सकेन । पेटको अल्ट्रासोनोग्राफी रिपोर्टले कलेजो क्षतिग्रस्त भइसकेको देखाएको थियो । पित्त थैलीमा १८ मिमि को पत्थरी थियो । रक्तचाप लो थियो । सेरम क्रिएटिनिन १.४ (नर्मल), पोटेशियम ६.५ (केही बढेको), सोडियम १३७ (नर्मल) थियो । रातिको ९ बजेसम्म ४ पोका रगत चढी सकेको थियो । तर पनि एचबी ५.९ (साँझ ५ः३७ बजे) भन्दा बढ्न सकेन । एचबी फेरि ५.२ (साँझ ६ः१७ बजे) मा झरेको थियो । प्लेटलेट्स १ लाख ६७ हजार थियो । टोटल काउन्ट (WBC) १४५०० (बिहान ९ बजे केही बढेको), टोटल काउन्ट (WBC) ५५०० (साँझ ५ः३७ बजे नर्मल) ल्याब रिपोर्टमा देखिएको थियो । पेटमा पानी जमा भएकाले दुई तीन ठाउँमा सुई घोपेर पानी झिक्ने प्रयास गरिएको थियो । पेटको सिटी स्क्यान गराउन लैजांदा यिनीहरुले पानी झिक्ने प्रयास गरेपनि सफल नभएको श्रीमान्ले आफुसँग भनेको विरामीकी श्रीमतीले बताइन् ।

अस्पतालको नियम अनुसार आइसियूमा भर्ना भएका विरामीलाई भेट्ने समय बिहान ८ बजे, दिउँसो ३ बजे र राति ८ बजे भएकोमा केसीलाई उनको साथीले राति ८ बजे भेटेका थिए । आफ्नो साथीलाई देखेर केसीको मुहारमा मुस्कान छरिएको केसीका साथीले बताए । केसीले आफ्नो साथीेसँग दरभान स्थित अस्पतालमा आफुले परिवार नियोजन तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी गरिसकेको अवस्थामा यस्तो भयो, बर्बाद भयो यार भनेका थिए । उनको साथीले त्यस्ता कार्यक्रम फेरिपनि आउँछन् । पहिला सञ्चो हुनु पर्याे । टेन्सन कत्ति नलेउ तेतातिरको भनि सम्झाएका थिए ।

‘‘पेट फुलेको छ ? अप्ठेरो भाछ तिमिलाई ?’’ भन्दै केसीका साथीले पेट छामे । केसीले पनि दाँया हातले दवाब दिदै आफ्नो पेट आफै छामे । उनले पेट छाम्दै सुस्तरी ठिकठिकै छ भने । गोकुल आफैपनि स्वास्थकर्मी थिए । साथीलाई उनले सांस फेर्न गाह्रो भएको र बोल्दा पनि चक्कर लाग्ने गरेको बताए । यतिकैमा भेट्ने समय पुरा भएकाले आइसीयूबाट गोकुलका साथी बाहिरिए । दुई साथीहरुबीच यो भेट नै अन्तिम भेट थियो शायद दुबैजनालाई थाहा थिएन ।

असार ७ गते बिहान करिब ७ बजे गोकुल अचेत अवस्थामा पुगे । हृदयको चाल रोकिएको थियो । फोक्सोले काम गर्न छोडिसकेको थियो । तत्काल आइसीयूमा खटिएका डक्टरले सिपीआर दिए । लगभग १५ मिनेटसम्मको सिपीआरपछि उनको फोक्सो र मुटुले पुनः काम गर्न थाल्यो । तर यतिबेलासम्म उनको मुटु र फोक्सोले काम गर्नकालागि भेन्टिलेटरको सहारा लिनुपर्ने स्थिति आइसकेको थियो । पोस्ट सिपीआरको अवस्थामा पुगेकाले उनलाई भेन्टिलेटरमा राखिएको थियो । रातिसम्म थप दुई पोका रगत चढाइएको आफन्तले बताए । एचबी ६.८, प्लेटलेट्स १ लाख ४० हजार, ब्लड युरिया ५२ (बढेको), सेरम क्रिएटिनिन १.९ (बढेको), सोडियम, पोटेशियम १३५/५.२ (नर्मल), बिलिरुबिन ४.८ (बढेको), डाइरेक्ट बिलिरुबिन २.९ (बढेको), एसजिपिटी १३३ (अत्याधिक बढेको–लिवर सेल डेमेज), एसजिओटी २२६ (अत्याधिक बढेको), टोटल काउन्ट (WBC) १४२०० ( केही बढेको) जस्ता स्थिति देखिएको थियो असार ७ गतेको ल्याब रिपोर्टमा ।

डक्टर मुकेश शर्माले विरामीका आफन्तीसँग आफुले जानेको गरिसकेको भएकाले योभन्दा बढी अरु केही गर्न नसक्ने बताएका थिए । उनले विरामी सिकिस्त भएकाले बचाउन नसकिने भन्दै विरामीका आफन्तले चाहेमा निकालेर घर वा अन्य अस्पतालमा लैजान सक्ने कुरामा जोड दिदै आएका थिए । असार ७ गते नै गोकुलका साथीले डक्टर मुकेशसँग उनले हात झिकेपछिको अवस्थामा होमियोपैथी औषधि दिएर प्रयास गर्ने कि भन्ने प्रस्ताव राखे । आफुले होमियोपैथी र आयुर्वेदिक उपचार पद्धतिमा विश्वास नराख्ने भएकाले त्यस्ता औषधि विरामीमाथि प्रयोग गर्न अनुमति नदिने डक्टर मुकेशले बताएका थिए ।

असार ८ गतेको ल्याब रिपोर्टले प्लेटलेट्स घटेर ३९००० मात्र भएको देखायो । युरिया, क्रिएटिनिन पनि बढेको थियो । इनटेक १५५० मिलि र आउटपुट केवल ४५० मिलि थियो । अर्थात् मृगौलाले काम गर्न लगभग छोड्न लागेको रिपोर्टको हवाला दिदै भन्न सकिन्छ । रक्तचाप १४०/१०० थियो । एचबी भने बढेर ७.५ पुगेको थियो । ब्लड युरिया ९५ थियो, क्रिएटिनिन ३.३ थियो, बिलिरुबिन ६.८ पुगीसकेको थियो, त्यसैगरी एसजिपिटी ७६ मा झरेको थियो, एसजिओटी ११७ थियो । मुटुको चाल ११३ प्रति मिनेट थियो । अक्सिजन स्याचुरेशन ९० थियो । टोटल काउन्ट (WBC) १४५०० (केही बढेको) ल्याब रिपोर्टमा देखिएको थियो । विरामीको पेटमा पानी भरिएर झन् ठुलो आकार लिदै गएकाले आइसीयूमा खटिएका नर्ससँग विरामीका साथीले पेटको पानी निकालेमा केही सहज हुन सक्थ्यो, पानी किन ननिकालेको भनि प्रश्न गरेका थिए । विरामीको पछाडिको भागमा केही घाउहरु थिए । विरामीको साथीले घाउ कस्तो छ भनि नर्सलाई सोध्दा नर्सले डाइपर फेरिदिने परिचारिकालाई थाहा हुन्छ, सोध्न पर्छ भन्ने गैरजिम्मेवार जवाफ दिइन् ।

भारतीय होमियोपैथिक डक्टर/प्रोफेसरसँग विरामीका साथीको पहलमा अनलाइन कन्सल्ट गर्दा उनले कलेजो डेमेज भएको कारणले मात्र मान्छे हतपत कोमामा नजाने बताए । विरामीको पेटमा पानी भरिएकाले उपचारमा सलाइन दिन नहुने बताउँदै विरामी सलाइन दिइरहनाले कोमामा गएको होमियोपैथिक प्रोफेसरले प्रष्ट पारे । उनले हिस्ट्री टेकिङ्गको आधारमा एपोसाइनम कैन ३० र एसेटिक एसिड ३० दुई वटा औषधि सिफारिश गरे । तर डक्टर मुकेश, आइसीयूमा खटिएका डक्टर नवीन तिरुवा, विन्दा शर्मा कसैले पनि बाहिरबाट औषधि ल्याएर खुवाउन अनुमति दिएनन् बरु विरामी निकालेर लैजानै सल्लाह दिए । बाहिरबाट ल्याइ खुवाएको औषधिले विरामीलाई नकारात्मक असर गरि केही भयो भने को जिम्मेवार हुने भन्ने उनीहरुको तर्क थियो । डक्टर मुकेशले नसक्ने भनि जवाफ दिएपछि विरामीका आफन्तले होमियोपैथी औषधिले सुधार भइपो हाल्ने हो कि भनेर विरामीको साथीलाई औषधि आइसियू टिमलाई नसोधी खुवाउन आग्रह गरेका थिए । उपचाररत टिमलाई जानकारी गराएरै खुवाउँदा राम्रो हुने भन्ने विरामीको साथीको सोच थियो किनकि औषधि पटक पटक गरि खुवाउनु पर्ने आवश्यकता थियो । तर असहयोग भएपछि विवाद सृजना भएको थियो ।

होमियोपैथी प्रोफेसरले सिफारिश गरेका एपोसाइनमले शरीरभित्र पानी जमा भइ जहाँकहीं पनि सूजन छ त्यसलाई हटाउने वा कम गर्ने क्षमता राख्द छ भने एसेटिक एसिडले इन्टरनल ब्लीडिङ्ग रोक्न सहायता प्रदान गर्दछ । रातिको विरामी भेट्ने समयमा भेट्न जांदा विरामीकी श्रीमती र भान्जाले होमियोपैथी औषधि खुवाइ दिन विरामीको साथीसँग दिउँसैदेखि पटक–पटक आग्रह गरेका थिए ।

डक्टर मुकेशले दिएको बचाउन नसकिने जानकारी, विरामीका आफन्तजनको आग्रह र विरामीका साथीको आफ्नै इच्छा भएकाले राति ८ बजेको भेट्ने समयमा होमियोपैथी औषधि एपोसाइनमलाई फुकाएको पानी भनेर आइसियूका नर्ससँग औषधि खुवाउन दिन विरामीको साथीले आग्रह गरे । नर्सले डक्टरलाई सोधेर मात्र त्यसो गर्न सकिने आफुले अनुमति दिन नमिल्ने बताउँदै डक्टर आइसियुमा आएपछि बोलाउने भनि विरामीको साथीलाई भनिन् । औषधि खुवाउन नदिएपछि विरामीको साथीले विरामीको दायाँ बायाँ खुट्टा पालैपालो समातेर १०–१० पटक घुँडा खुम्च्याउने, तन्काउने गरे । खुट्टाका औंलाहरु एक–एक गरी केही बेर दबाए । खुट्टाको कान्छी औंलो दवाउँदा दुखेको अनुभव भए झैं बुढी औंलो हल्लियो । दुईटै खुट्टाका बुढी औंलाहरुमा प्रतिक्रिया भएको देखेपछि ३ मिटर पर उभिएकी नर्सलाई आएर हेर्न अनुरोध गरे । तीन पटकसम्म अनुरोध गर्दा पनि नर्सले सुनेको नसुुने जस्तै गरिन् । ‘‘सिस्टर तपाईले विरामीसँग के भइरहेको छ भन्ने कुरा थाहा पाउनुहुन्न भने डक्टरले प्रगति के छ भनि सोध्दा के रिपोर्ट दिनुहुन्छ ?’’ विरामीको भिजिटर साथीले प्रश्न गरे । जसलाई बोलाएको उनले कुनै प्रतिक्रिया दिइनन् । अर्की सिनियर नर्स खोइ के भयो, के हेर्ने, के देखाउन खोज्नु भएको भन्दै झर्किदै आइन् । साथीले कान्छी औंला फेरि दबाए, यस पटक पनि दुइटै खुट्टाका बुढी औंला हल्लिए ।

नर्सले हेरिन् तर त्यसप्रति खुशी वा आश्चर्य व्यक्त गरिनन् । शायद डक्टरले यो विरामी बाँच्दैन भन्ने सूचना दिएकाले संवेदनाशून्य प्रायः बनेका उनीहरु विरामीप्रति संवेदशीलता प्रकट नगर्न पूर्वाग्रही नै बनेका थिए । ‘‘विरामीको शरीरमा के भइरहेको छ तपाईले थाहा पाएमा मात्र डक्टरलाई जानकारी दिन सक्नुन्छ । अघिदेखि बोलाएको छु, कुनै वास्ता गर्नुहुन्न तपाईहरु ।’’ नर्सको व्यवहारिक अकर्मण्यताका बावजुद विरामीका साथीले भने । अहिले डक्टर आएपछि बोलाउँछौं, भेट्ने समय पुरा भयो, बाहिर जानुस् नर्सले भनिन् । साथी आइसियुबाट निस्किए । केही बेरमा आइसियूबाट गोकुल केसीको भिजिटर आइसियूमा आउनुस् भनि माइकमा भनियो । गोकुलको साथी भित्र गए । केही बेर आइसियूका डक्टरसँग बहस भयो । पेटको पानी किन ननिकालेको? विरामीका साथीले डक्टरसँग सोधे । पानी निकालेमा ब्लड प्रेशर घट्छ त्यसैले ननिकालेको भन्ने जवाफ डक्टरको थियो । करिब ५ मिनेट जतिको बहसपछि डक्टरले नर्सलाई बोलाइ ५ थोपा होमियो औषधि ख्वाइदिन निर्देशन दिए ।

असार ८ गते राति करिब १०ः३० बजे ल्याक्टोलुज सोलुशन नाकबाट खुवाउन १४ नम्बरको एनजी ट्युब लगाइयो । तर दिसा नभएको आइसियूकी परिचारिकाले बताइन् । भर्ना भएदेखि आजसम्म ६ पिन्ट ब्लड विरामीलाई चढाइ सकिएको थियो ।
असार ९ गते सोडियम १३४ (केही घटेको), पोटेशियम ४.१ (नर्मल), लिम्फोसाइट्स ७ (नर्मलभन्दा धेरै घटेको), हिमोग्लोबिन ९.२ (पूर्वको भन्दा बढेको तर नर्मल नभइसकेको), ब्लड युरिया ९५, क्रिएटिनिन २.७, बिलिरुबिन ५.४ (बढेको), एसजिपीटी ५०, एसजिओटी ६७ ल्याब रिपोर्टमा उल्लेख थियो । यो रिपोर्टले कलेजोमा सुधार आएको देखिन्छ । शरीरमा सँक्रमण फैलिएको बुझिन्छ । ज्वरो पनि आएको थियो । लिम्फोसाइट्स धेरै नै घटेकोले शरीरको रोगप्रतिरोधात्मक क्षमता औसतमा केवल २२.७५% मात्र थियो ।

शरीरको प्रतिरोधात्मक क्षमता नभएको अवस्थामा गोल्ड मेडालिस्ट डक्टर होस् वा अति विकसित चिकित्सकीय विज्ञान कसैले केही गरेर पनि सुधार आउँदैन । युरिन आउटपुट १२ घण्टामा जम्मा २०० मिलि थियो जसले मृगौला फेल हुन लागेको देखाउँछ । यद्यपि पेटमा पानी जमा भएकाले सलाइन स्वतन्त्र रुपमा दिन मिल्दैनथ्यो । त्यस कारण स्वभाविक छ कि युरिन आउटपुट कम नै हुन्छ । असार ९ गते साँझ ८ बजे विरामी भेट्ने समयमा विरामीका साथी भेट्न गए । मुटुको चाल ११३ थियो, ओटू सेच्युरेशन ८५ र रिसपेरेटरी रेट २५ थियो । ब्लड प्रेशर १५०/९० थियो । राति १० बजेतिर केही मात्रामा दिसा भएको परिचारिकाले बताएकी दिइन् विरामीका साथीलाई । तर पेटमा जमा भएको पानी उस्तै थियो ।

असार १० गते विरामीका दाजुभाइ, आफन्तजन, साथीभाइहरु अस्पताल हाताभित्र जमा भएका थिए । विरामीलाई बचाउन नसकिने भन्ने सुरुदेखि डक्टर मुकेशबाट भएको सूचना प्रवाहका कारण सबैलाई त्यस्तै लागेको थियो । पेटको पानी निकालेमा विरामीलाई केही सहज हुन्थ्यो भन्ने विरामीका आफन्तजनको सोचाइ थियो । त्यसमाथि कोमामा गएको विरामीलाई नाकबाट भएपनि केही खाने कुरा वा आवश्यक औषधि समयमै खुवाउन सहज होस् भन्नको लागि एनजि ट्युब असार ७ गते नै लगाइनु पर्ने हो तर लगाइएको थिएन । पेटको सिटी स्क्यान गर्न स्क्यानर सेन्टरमा लैजांदा विरामीले आफ्नी श्रीमतीसँग २–३ ठाउँमा सुई घोपे तर पानी निकाल्न सकेनन् भनेका थिए । यिनै कारणले आइसियूमा विरामीको अवस्था र व्यवस्थापनमा केही प्रक्रिया नमिलेको हो अथवा विरामी बाँच्दैन भनेर सुरुदेखि लापरवाही गरिएको हो कि भन्ने विरामीका आफन्तजन र साथीभाइहरुको अनुमान थियो । यसै सम्बन्धमा अस्पतालको प्रशासनसँग कुरा राखेर प्रशासन, उपचारको जिम्मा लिएका डक्टर, विरामीका आफन्तजन एवम् साथीभाइहरुबीच आधा घण्टाभित्र बैठक बस्न विरामीका आफन्तजनले आग्रह गरे । अस्पताल प्रशासनले डक्टर मुकेशले पहिला भेटेर के मा चित्त बुझेको छैन म सम्झाउँछु भन्नु भएको छ, पहिला उहाँलाई भेटौं भनी आग्रह गरेपछि डक्टरको केबिनमै बसी प्रश्न सोधाइ र उत्तर दिने काम भएको थियो ।

बैठकमा भएका सवाल जवाफ
सवालः विरामी कोमामा छ । एनजि ट्युब किन लगाइएन ?
जवाफ : विरामीको शरीरमा रगत छैन, कतैबाट रगत बगीरहेको छ, एनजिट्युब राख्दा भित्र घाउ हुनसक्छ त्यसैले नलगाएको ।
सवाल :पेटको पानी निकाल्दा विरामीलाई सहज हुने थियो । निकालिएन, किन ? पानी निकाल्ने प्रयास त गरियो तर निकाल्न सकिएन विरामी आफैले भनेका छन् । वास्तविकता के हो ?
जवाफः पेटको पानी निकाल्दा विरामीको ब्लड प्रेशर लो हुनसक्छ त्यस कारण पानी नझिकेको तर इन्फेक्शन छ कि भनेर जाँच्नलाई थोरै मात्र पानी निकालेका हौं ।
सवालः विरामीको खुट्टाको बुढी औंलो अरु औंला दबाउँदा हल्लियो । त्यही कुरा नर्सलाई देखाउन सिस्टर यता आउनु त भनेर तीन पटक सम्म बोलाउँदा नि नर्स आउनु भएन । पछि के देखाउन खोजेको भन्दै झर्किदै आउनु भो । विरामीका आफन्त, साथी पीडामा छन् रिसाउनु, चर्काे बोल्नु स्वाभाविक हो तर सिस्टरले त्यसरी व्यवहार गर्नु उचित हो ?
जवाफ : सिस्टरलाई थर्काइए छ । त्यसमाथि फुकाएर ल्याएको पानी भन्दै बाहिरी औषधि खुवाइए छ । मैले सकेको गरिसके । योभन्दा अरु उपाय छैन । चाहनु भयो भने घर लैजान सक्नुहुन्छ भनेको थिएँ । बाहिरबाट औषधि ल्याएर खुवाउनुस् भनेको थिइन । बाहिरबाट औषधि ल्याएर खुवाउनु अस्पतालको नियम विपरित हो । हामीले उपचार गर्ने पद्धति र होमियोपैथी वा आयुर्वेदिक सिद्धान्त फरक छ । उता वात, कफ, पित्तलाई रोगको कारण मानिन्छ हामीले बेक्टिरिया, वाइरस, जर्मले रोग लगाउँछ भन्छौं । औषधि–औषधि जुधेर विरामीमाथि नकारात्मक असर पर्न सक्छ । अर्काे विरामीलाई बाहिरबाट विष खुवाएर मार्ने प्रयास भएका घटनाहरु पनि छन् । हामीले मानवता पनि हेर्नुपर्ने हुन्छ । मैले सुरुमै भनेको थिएँ अवस्था गम्भिर छ, विरामीलाई अन्तै लैजान सक्नुहुन्छ भनेर । कोशिस त गरेकै छौं हामीले सकेको ।

डक्टर मुकेशसँगको बसाइपछि आफन्तजन र साथीभाइहरुले बाहिर आएर विरामीलाई भेन्टिलेटरबाट हटाएर अक्सिजनमा मात्र राखौं । गोकुलको शरीर अक्सिजनले धानियो भने अर्काे अस्पताल लैजाऔं भन्ने सल्लाह गरे ।
सल्लाह अनुसार नै डा. मुकेशसँग प्रस्ताव राखियो । उनले मलाई सोध्न नपर्ने, आइसियूका डक्टरलाई भनेपछि हुन्छ भने । अनड्युटी डक्टरलाई जानकारी गराएपछि भेन्टिलेटर अफ गरेर अक्सिजनमा मात्र राख्ने । विरामीलाई केही भएमा आपत्ति नहुने भनि लेखिएको बोन्ड पेपरमा विरामीका दाजुले सही छाप गरिदिए ।
आइसियूमा अनड्युटी डाक्टरले डा. मुकेशलाई प्लानबारे जानकारी गराए थिए । डा. मुकेशले अफ मात्र नगरेर भेन्टिलेटर हटाइदिन भनेका रहेछन् । भेन्टिलेटर अफ गर्नुको सट्टा निकालीदिनु भन्ने डा. मुकेशबाट आएको निर्देशनबारे आइसियूका अनड्युटी डाक्टरले विरामीका आफन्तजनलाई जानकारी गराए । आफन्तजनले मन्जुरी दिएपछि भेन्टिलेटर हटाएर अक्सिजनमा मात्र राखियो । आधाघण्टाभित्रै विरामीको मृत्यु भयो ।

केही प्रश्न जसको जवाफ शायद नै भेटिएला
१. भेन्टिलेटरको इन्डोट्रेकियल ट्युब मुखबाट घांटी हुँदै ट्रेकियासम्म पुराइएको अवस्थामा पनि कठिन हुन्छ तर एनजि ट्युब राख्न सकिन्छ । खुट्टाको औंला हल्लिएको छ भनेपछि मात्र त्यहि राति एनजि ट्युब लगाउनुपर्ने आवश्यकता भयो । विरामी कोमामा जांदा नै किन आवश्यक परेन ? एनजि ट्युब राख्दा घाउ हुनसक्ने भएपछि भेन्टिलेटरको इन्डोट्रेकियल ट्युबले पनि त घाउ गराउन सक्छ ।

२. मानवीयताको कुरा गर्ने अनि बाहिरी औषधिको रिएक्शनले विरामी मर्न सक्छ भन्ने डाक्टरले विरामीको आफन्तजनले भन्दापनि होमियोपैथी ओषधि खुवाउन दिएनन् तर त्यहि आफन्तजनले भेन्टिलेटर हटाउन भनेपछि भेन्टिलेटर हटाउन तयार भए । बाहिरी औषधि खुवाउँदा विरामी मर्न सक्छ भन्ने जानकारी भएका डाक्टरलाई भेन्टिलेटर हटाएमा विरामी मर्छ भन्ने थाहा थिएन र ?

३. पेटमा पानी (एसाइटिस) भरिएमा पेट दुख्ने, असहज हुने, र सांस फेर्न गाह्रो हुने हुन्छ  जुन विरामीलाई अस्पताल ल्याउँदाकै समस्या थियो । पेटमा भरिएको पानी नझिकेमा स्पनटेनियस बेक्टिरियल पेरिटोनाइटिस हुने खतरा हुन्छ । जुन भइसकेको थियो । भर्ना भएको पछिल्लो समयमा विरामीलाई १०१.० सम्म ज्वरो आएको थियो । पेटको पानी नझिकेमा हेपाटिक हाइड्रोथोरेक्स पनि हुनसक्छ । यो भनेको पेटको पानी फैलिएर छातीमा भरिनु हो । यसो भयो भने रगतमा अक्सिजनको कमी हुन्छ, खोकी लाग्छ । मृतक गोकुलका साथीले बताए अनुसार असार ९ गते राति ८ बजेको भेट्ने समयमा विरामीलाई भेट्दा अघिल्लो दिन जस्तै खुट्टाका बुढी औंला हल्लिएनन् तर दुईटै आँखाको माथिल्लो परेला एकदम हल्का हल्लिएका थिए भने विरामीलाई आवाजबिनाको (सांस मात्रै बाहिरिने गरी) खोकी पनि दुई पटक लागेको थियो । यो हेपाटिक हाइड्रोथोरेक्सको लक्षण हुन सक्छ । त्यसैगरी पेटको पानी निकालिएन भने हेपाटोरेनल सिन्ड्रोम(किडनी फेल) पनि हुन सक्छ जुन अति खतरनाक स्थिति हो । वास्तवमा यी सबै एसाइटिसका कम्पलीकेशन हुन् । तर डा. मुकेशले पानी निकालेमा ब्लड प्रेशर घट्छ भन्दै पेटको पानी ननिकालेको तथ्य बाहिर आएको छ । मान्छे नै नरहेपछि ब्लड प्रेशरको के काम? पानी निकालेमा ब्लड प्रेशर घट्छ भन्ने डाक्टरलाई एसाइटिसको भयानक जटिल अवस्थाबारे थाहा थिएन र ? उसोपनि असार ७ गते देखि विरामीको ब्लड प्रेशर कि नर्मल कि उच्च नै थियो ।

४. होमियोपैथी र आयुर्वेदिक चिकित्सा पद्धतिलाई विश्वसनीय नमान्ने एलोपैथिक चिकित्सा विज्ञानमा पेटको पानी झिकेर गोकुललाई बचाउन सक्ने क्षमता नै थिएन र ?

५. होमियोपैथी वा आयुर्वेदिक औषधि बाहिरबाट ल्याउन र खुवाउन नदिन कट्टरपन्थी बन्न सक्ने डाक्टरले भेन्टिलेटरबाट निकालेमा विरामीको मृत्यु हुन्छ त्यसो नगर्नुस् भन्नुको सट्टा भेन्टिलेटर नै निकालीदिन किन भने ? यही मानवता हो ? विरामी बाँच्दैन भनेर विचार बनाउनुको परिणाम त होइन यो ?

६. विरामीको अवस्था र प्रकृति अनुसार एक ठाउँबाट एलोपैथिक, प्राकृतिक, होमियोपैथिक र आयुर्वेदिक चिकित्सा पद्धतिलाई एकिकृत रुपमा विरामीको जीवन बचाउनका लागि प्रयोग गर्न सकिन्न र ?

७. डाक्टरले कलेजो बिग्रिदै छ भन्ने जानकारी दुई वर्ष अघिनै दिएको त्यसमाथि आफुपनि स्वास्थ्यकर्मी भएको अवस्थामा समेत मादक पदार्थ सेवन गर्नु, चिल्लोपिरो खाने कुरा खान नछोड्नुको उद्देश्य अकाल मृत्यु वरण गर्नु नै थियो त गोकुलको ? यस्ता स्वास्थ्य विरोधी आनीबानी त्याग्न किन नसकेका होलान् गोकुलले ? आफुमाथि आश्रित सुन्दर परिवार छ भन्ने कुरा किन बिर्सिदिएका होलान् ?आफु बाँचेर समाजको सेवा गर्नु छ किन नसोचेका होलान् उनले?

 

 

 

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg