वास्तविकता तीतो छ तर यथार्थ अनि सत्य छ

77

सबैजना आ–आफ्नो गफमा मस्त थिए । सुटुक्क कुनातिरबाट मधुरो स्वरमा एउटा प्रश्न गुन्जियो मेरो कानमा ।
‘‘दिदी पृथ्वी कसरी घुम्छ ?’’
मैले सीधा जवाफ दिएँ–‘‘सुल्टो ।’’
मेरो जवाफ सुन्नासाथ उनले भनिन् ‘‘होइन होला । मेरो जीवनको पृथ्वी उल्टो घुम्दै छ । हरेक मोडमा हन्डर र ठक्कर बाहेक अरु केही पाउँदिन मैले ।’’
उनको कुरा सुनेर मलाई केही उत्सुक्ता जाग्यो । अलि पर सरेर धेरै कुरा बुझ्ने कोसिस गरें ।
‘‘किन के भयो र पृथ्वी नै उल्टो घुम्नलाई ?’’

मेरो प्रश्नलाई न्याय दिने प्रयत्नमा उनले आफ्ना कुरा सुनाउन थालिन् ।
‘‘म जब जान्ने र बुझ्ने भएँ त्यो दिनदेखि आजसम्म आउँदा जन्म दिने बाउको माया पाउन सकिन अनि दिदी म, भाइ र आमाले हरेक दिन अनेकौं ठक्कर खायौं तर त्यति बेला सम्हाली दिने हाम्रो बाउ हामीसँग थिएनन् किनभने उनले त्यतिबेलासम्म अर्काे बिहे गरेर आफ्नो छुट्टै संसारमा रमाउन थालीसकेका थिए । आमाले अनेकौं पीडा र हिंसाको शिकार हुँदै हामीलाई हुर्काउनु भयो । यद्यपि हामी ३ जनालाई बाउको कमी कहिल्यै हुन दिनु भएन । तर पनि एक्लो महिला त्यो माथि ३ स्न्तान जीवनको हरेक उतार चढाव सुस्त चल्दै थियो । आमालाई सहयोग होस् भनेर अनेकौं कोसिस गरें । मैले नि काम गर्न सुरु गरें तर त्यहाँ म सुरक्षित हुन सकिन ।’’

‘‘किन ?’’ भन्दै मैले प्रश्न थपें ।
‘‘किनभने म शारीरिक रुपमा पूर्ण महिला नभएता पनि मेरो आचरण र बानी व्यवहार महिलाको जस्तो थियो जसले गर्दा हरेक दिन, हरेक व्यक्तिको नकारात्मक नजर ममाथि पर्ने गर्दथ्यो । त्यस पश्चात काम गर्न छाडें । अनि आमासँग अरु काम गर्न थालें । दिन बित्दै गए । आर्थिक अवस्था पनि कमजोर भएको कारण केही गरौं भन्ने सोच भए पनि गर्न सक्ने अवस्था थिएन । तर पनि जीवनको नैया सुस्त सुस्त चल्दै गएको थियो । यतिकैमा कोही साथीको माध्यमबाट निल हिरा समाजमा पुग्ने मौका पाएँ । त्यस पश्चात् आफु र आफु जस्ता धेरै साथीहरु भेटें अनि खुशी लाग्न थाल्यो । एक्लो म होइन, एक्लो त यो समाज रहेछ भन्ने महसुस गरें । केही समय पश्चात् सो संस्थामा काम गर्ने अवसर पनि प्राप्त भयो । आजको मितिसम्म सो संस्था अन्तर्गत नै रहेर काम गर्दै आएकी छु । तर पनि आफ्नो जन्म दिने बाउप्रतिको मेरो अधिकार पाउँछु भन्ने आशा मरेको थिएन । पटक–पटक गरी मैले मेरो बाउसँग पैतृक सम्पत्तिमा हाम्रो अधिकार भएको र सो सम्पत्ति बाँडफाड गरौं भनेर अनुरोध गरें । केही लागेन । प्रहरी उजुरी गरें, त्यो पनि काम लागेन । विभिन्न कानुनी सहयोगमा कुरा राख्दा नि भएन । अनि फेरि मैले सोधें बाउलाई सम्पत्तिको बारेमा के भयो भनेर…………. ।

उनी भावुक हुँदै भन्दै गइन् – ……….. म मरेर जान्छु तर तँ जस्तो सन्तानकालागि मेरो कुनै सम्पत्तिमा अधिकार हुने छैन भन्नु भयो । जन्म दिने पनि उनै, तिरस्कार गर्ने पनि उनै । सम्पत्तिमाथि अधिकारबाट वञ्चित गराउने पनि उनै । कि जन्म नदिनु, जन्म दिएपछि पूर्ण रुपमा सन्तानको अधिकार सुनिश्चित गर्नु जन्मदाताको कर्तव्य र दायित्व पनि हो दिदी, त्यसैले मेरो जीवनको पृथ्वी उल्टो घुम्दै छ ।’’

एक सांसमा बोल्दै गइन् उनी अनि मौन भइन् ।
समाज कति क्रुर छ भन्ने कुराको अनुभव मलाई छ । उनका कुरा सुनेर सान्त्वना दिन मन लायो । मौनतालाई चिर्दै मैले सान्त्वना दिने कोसिस गरें –

‘‘हरेस नखाउ, एकदिन त्यो पनि आउनेछ जुन दिन तिम्रो बुवाले स्वयं त्यो सम्पत्तिमाथिको अधिकार आफैले दिनुहुनेछ । किनभने मनमोहक प्वांखसहित जति सुन्दर र आकर्षक भए पनि पुतली फुलको डालीभन्दामाथि उड्न सक्दैन । हो त्यस्तै नै हो तिम्रो अहिले बुवाको अवस्था । उनले अहिले रंगीन संसार मात्रै देखेका छन् तर भोलि त्यो रंगीन संसार रंगहीन र निरस पनि हुन्छ । बल्ल त्यतिबेला याद आउँछ छोराछोरीको । फर्की आउने छन् यही ओइलाएको फुलको बोटमा मलजल गर्न अनि सुनिश्चित हुनेछ तिम्रो आसा । तिमिले महसुस गर्ने छौ पृथ्वीको सुल्टो घुमाइ।’’

नितान्त व्यक्तिगत र यथार्थ कथा हो यो तेस्रोलिङ्गी महिला पुष्पा लामाको । सबै उनको बोली थियो । लेखेर छोटो उद्धरणको रुप मात्र दिने काम मैले गरें । हातखुट्टा बिना पनि जन्मिन्छन् सन्तान तर आमा बुवाले अपाङ्ग र अशक्त, अपूर्ण भन्दै सन्तानको तिरस्कार र त्याग गर्दैनन् । यस्ता आमाबुवा नै असल आमाबुवा हुन् जसले जुनसुकै रुपमा भएपनि सन्तानप्रति अपनत्व र वात्सल्यता प्रकट गर्न छोड्दैनन् । निर्दयी र मानवताहीन अभिभावक हुनुभन्दा टुहुरो जीवन नै जिउनु राम्रो हो जस्तो लाग्छ मलाई । सन्तानलाई शत्रु देख्ने, समाजमा बदनामीको कारण मान्ने मातापिता भएको नभएको एउटै हो । निल हिरा समाज जस्तो संस्था नै राम्रो जसले अभिभावकको दायित्व पुरा गर्दछ तेस्रोलिङ्गीहरुको हक, अधिकार, संरक्षण र प्रवर्धनका लागि ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg