कोभिड महामारीजन्य प्रतिकूलतामै कर्मचारीको सरुवा, कर्मचारीहरु जागिर छाड्दै

1069
पहिलोसन्देश डेस्क, पोखरा, २१ भदौ,
कोभिड १९ को महामारीले विश्व आक्रान्त भएको अवस्था छ । नेपाल सरकार तथा प्रदेश स्तरमा निषेधाज्ञा भइरहेको समयमा स्याङ्जाको वालिङ प्रधान कार्यालय रहि हाल प्रस्तावित केन्द्रीय कार्यालय पोखरा रहेको कालिका लघुवित्त वित्तीय संस्थाले भने व्यापक मात्रामा सरुवा गरेको कुरा बाहिर आएको छ ।
सूत्रका अनुसार यस आर्थिक वर्षको शुरुवातसंगै कर्मचारी पदस्थापन लगायतका निहुमा कर्मचारीहरुको जागिर छोड्नुपर्ने अवस्था रहनेगरि सरुवा गरेको हो । तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई भिआरएसबाट विदाइ गरेसंगै श्रावण १ गतेबाट मर्जरको समयमा नायब कार्यकारी प्रमुखको रुपमा रहेका कमल बहादुर खत्रीले कायम मुकायम कार्यकारीको जिम्मा पाएका हुन् । खत्रीले जिम्मेवारी पाए लगत्तै कर्मचारीहरुको सरुवा गरेको बताइएको छ ।
संस्थामा सरुवा नियमित प्रक्रिया भएता पनि हालको अवस्थामा अव्यवहारिक भएको कर्मचारीहरुले बताएका छन् । पदस्थापनको निहुमा एउटै जिल्ला नभई प्रदेश नै कटेर अझ पुग्न नै २ दिन लाग्ने ठाउँसम्म सरुवा गरिएको र जस्ले गर्दा हाल बढुवा भए पनि जागिर छोड्ने अवस्थामा पुगेको पीडित कर्मचारीहरुले पहिलो सन्देशसंगको कुराकानीमा बताएका छन् ।
साविक जनसेवी लघुबित्त वित्तीय संस्था र कालिका लघुवित्तबीच मर्ज भए यता प्रमुख कार्यकारीभन्दा बाहेक उच्च व्यवस्थापनमा साविक जनसेवीका कर्मचारीहरुमात्र रहेका छन् । मर्ज पछाडि दुई संस्था बीचको तालमेल मिलेर अगाडि जानु पर्नेमा पछिल्लो सरुवाको विषयले कालिका र जनसेवी बीच प्रष्ट रुपमा विवाद र आग्रह पूर्वाग्रह भएकोकुरा अहिले सामाजिक सन्जाल मा छताछुल्ल भएको छ ।
पहिलो सन्देशले समसामयिक रुपमा केही लघुवित्त वित्तीय संस्थाका कार्यकारी एवं जनशक्ति व्यवस्थापन विभाग प्रमुखहरुसंग कर्मचारीहरुको सरुवाको विषयमा प्रश्न राख्दा प्रायःले यो समय यसै पनि सरुवाकोलागि उपयुक्त समय होइन, अत्यावश्यक भएकै ठाउँमा हामीले पनि सरुवा गरेका छौं तर सरुवा गरेको ठाउँमा कर्मचारी जान सकेका छैनन् । जहाँ बसेर काम गरिएको छ त्यहाँ नै हाजिरी गरेर काम गरिरहेका छन् भन्ने जवाफ पाइएको छ ।
करारमा काम गरेको डेढ वर्ष भयो, पहिले मर्जको बेला छ भनेर एक वर्ष त्यत्तिकै भयो, मर्ज पछाडि फेरि प्रशिक्षार्थी सहायक भनेर नै कर्मचारी मागियो । यस्तो अवस्थामा न जागिर छोडेर घर बस्न सक्नु, हाम्रो त भविष्य नै बरबाद भयो । हिजो मर्ज हुने बेलामा करारका कर्मचारीहरुलाई मर्ज पछाडि प्रक्रिया पुर्याएर स्थायी गर्ने भन्ने सुनेका थियौं, अहिले काम अर्कै भयो, यस्ताे बेला दिएको टार्गेट पुरा भएन भने स्थायी हुन गाह्रो छ।
पटक-पटक गरेर करारको अवधि थप गरियो । राम्रो काम नगरेको भए करार थप नगरेको भए हुन्थ्यो । मर्जको बेलामा करारमै रहनु भएका साविक जनसेवीका प्रमुख कार्यकारी सरको चाहिं नियुक्ति मिति देखि स्थायी गरियो भन्ने सुनियो । तर अहिले हाम्रो बिचल्ली भयो । नाम नबताउने सर्तमा एक कर्मचारीले पहिलो सन्देशलाई आफ्नो गुनासो पोखे ।
सरुवा पश्चात कर्मचारीहरुलाई सम्बन्धित कार्यालयमा हाजिर हुनकोलागि व्यवस्थापनले दबाव दिएको र शाखामा हाजिर नभएमा राजिनामा दिन या घटुवा गरिदिन (बढुवा हुनु अगाडिको पदमै बस्न मञ्जुर भएको) पत्र लेख्नकोलागि कार्यकारीले दवाव दिएको बताइएको छ । हामी तल्लो तहको कर्मचारीले कसलाई भन्ने केही नभन्दा त यस्तो छ, भन्यो भने त सीधै जागिरजान्छ । हामीले जति कर्मचारीहरुसंग कुरा गर्यौं, कसैले नाम खुलाउन चाहेनन् ।
एक शाखा प्रमुखले दिएको जानकारी अनुसार एउटा जिल्ला कटेर जानुपर्ने साथिले २० हजार जति खर्च गरेर गएकाे तर लेखाले खर्च स्वीकृत हुँदैन भनेर साविकको भाडा मात्र स्वीकृत गरि पठाएको बताए । अरु केही कर्मचारीहरु पनि त्यसरी नै शाखामा हाजिर भएको बताए । उनले अझै थपे कोही अझ जान सकेका छैनन् भने कतिपयले राजिनामा दिएका छन् । जानकारीअनुसार एक साता अगाडी सम्म पर्वतबाट काभ्रे सरुवा गरिएको छ । हामीले कुराकानी गर्ने क्रममा कर्मचारीहरुले सबैकुरा बताए पनि व्यवस्थापनको डरले आफ्नो नाम नखुलाइदिनको लागि आग्रह गरे । पछिल्लो समयमा संस्थाका केही शाखाहरुमा आर्थिक अनियमितताका कुराहरु पनि बाहिर आएको छ । यस विषयमा हामीले संस्थाका कार्यकारी प्रमुखसंग सम्पर्क गर्न खोज्यौं तर सम्पर्क हुन सकेन ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg