कृषक अब निराश हुनुपर्दैन, नयाँ व्यवस्था आउँदैछ : कृषिमन्त्री भुसाल

8

झापा – कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताए । झापाको बिर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दाबी गरे।

उहाँले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा उत्पादनको समर्थन मूल्य तोक्दै जाने गरी नयाँ कृषि व्यवस्था सरकारले ल्याउन लागेको जानकारी दिए । ‘नेपालमा कृषि कर्म गर्ने हरेक नागरिकले अब निराश हुनुपर्दैन’, मन्त्री भुसालले भने, ‘कृषकले उत्पादन गरेको हरेक वस्तुको सरकारले समर्थन मूल्य तोक्छ र त्यसको सुनिश्चितता गर्दै जाने छ ।’

कृषि क्षेत्रमा अहिले सयौँ समस्या रहेको र त्यसलाई नयाँ व्यवस्थामा ढालेर समस्याको हल गर्न यो सरकार लागि परेको बताउँदै मन्त्री भुसालले अबको दुई/तीन वर्षमा कृषि क्षेत्रमा नयाँ व्यवस्था ल्याएर कृषकका सबै समस्या हल गर्ने धारणा व्यक्त गरे । उहाँले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्थाका लागि आफैबाट सुशासनकाे काम सुरु गरेको बताए ।

सरकारले ठिक तवरले काम गरिरहेको बताउँदै मन्त्री भुसालले सरकारका जुनसुकै कार्यक्रमहरु अहिलेको संविधान बमोजिम नै अघि बढेको जानकारी दिए । संविधानलाई कार्यान्वयन गर्दै जाने दिशामा सरकार रहेकाले सरकार सञ्चालनका क्रममा केही कमी कमजोरी भए त्यसलाई सरकारले सुधार्दै जाने बताए । ‘सरकार अगाडि बढ्न सरकारको टिका टिप्पणी आवश्यक छ’, मन्त्री भुसालले भने, ‘यो सरकार संविधानभित्र छ र संविधानलाई कार्यान्वयन गर्नका लागि सरकारका सबै संरचना ठिक ढङ्गले सञ्चालन भइरहेका छन् ।’

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg