विदेशमा थप २१ नेपालीको कोरोनाले ज्यान लिएको पुष्टि

9

लन्डन – विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विभिन्न मितिमा थप २१ जना नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ।

गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरि शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको हो।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका हुन् ।

ती मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।
समितिका संयोजक डा. संजीव सापकोटाका यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै नेपालमा मात्र ७१ हजार ८ सय २१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ५३ हजार १३ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ७१ प्रतिशत हो । हालसम्म नेपालमा ४ सय ६७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपाली मध्य ७ सय ३२ जनाको निधन भएको छ। यस्तै विश्वभर १ लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन् ।

७८ हजार ३ सय ४३ जनाको उद्धार

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३२ देशमा अलपत्र परेका ७८ हजार ३ सय ४३ जनाको नेपालीको उद्धार गरिएको छ ।

चीनबाट कोरोना भाइरसको संक्रमण भए लगत्तै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड १९ उच्चस्तरीय समिति विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र राहत वितरणमा सक्रिय रहेको संघले जनाएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत २४ साता देखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg