दार्चुलामा निषेधाज्ञा, बैतडीमा लकडाउन

6

धनगढी- कोरोना संक्रमण बढेपछि सुदूरपश्चिम प्रदेशका दुई पहाडी जिल्ला दार्चुला र बैतडीमा आवत जावत र हिडडुलमा कडाई गरिएको छ।

दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिकाको दुई वडामा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार निषेधज्ञा जारी गरेको हो।

नगरपालिकाको वडा नम्बर ४ र ५ बाट कन्ट्रर्याक्ट ट्रेसिङ गरिएका ७२ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि डडेल्धुरा अस्पताल प्रयोगशाला पठाइएकोमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि महाकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले निषेत्रज्ञा जारी गरेको हो।

महाकाली नगरपालिका वडा नम्बर ४ र ५ मा संक्रमित बढ्दै गएकोले संक्रमणको जोखिम समुदायमा थप फैलिन नदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नगरपालिका वडा नम्बर ४ को सम्पूर्ण क्षेत्र र वडा नम्बर ५ को गल्फै, ऐरान, तल्लासैन र मोहती क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको छ।

नगरपालिकाले विहिबार राती ८ बजेदेखि अर्को सूचना नभएसम्मको लागि निशेधाज्ञा जारी गरेको छ । यो अवधिमा आवत जावतमा पनि पूर्ण रोक लगाइएको छ।

निशेधाज्ञा अवधिभर अस्पताल, औषधि पसललगायत अन्य स्वास्थ्य सम्बन्धि निकाय र सुरक्षा निकाय बाहेक अन्य कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु २ कात्तिक देखि बन्द गरिएको छ। बिहीबार ३८ जना कोरोना संक्रमित थपिएसंगै दार्चुलामा कोरोना संक्रमितको संख्या एक सय ९१ पुगेको छ । संक्रमितमध्ये ९८ जनाले कोरोना जितेका छन्।

यता, सुदूरपश्चिम प्रदेशको अर्को पहाडी जिल्ला बैतडीमा चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै लकडाउन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आंशिक लकडाउन गर्ने जनाएको छ।

दशैँ तिहारका बेला जिल्लाका विभिन्न शक्तिपीठहरुमा हुने मेला, जात्रा, उत्सव, पर्व, सांस्कृतिक तथा सामाजिक जमघट नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। यसका साथै खेलकुद, विद्यालय, कलेज तथा शैक्षिक संस्थामा पठनपाठन अर्को व्यवस्था नभएसम्मका लागी नगर्न नगराउन सूचनामा भनिएको छ।

प्रमुख जिल्ला अधिकारी जोशीले भने-‘चाडपर्वका बेला हुन सक्ने कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यसम्बन्धी मापदण्ड पालनाबारे थप कडाइ गरेका हौं, मास्क, सेनिटाइजर लगायत स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गर्दछौं ।’

बैतडीमा हालसम्म ४ सय ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये ३७ जना सक्रिय सङ्क्रमित रहेका छन्। उपचारपछि निको भएर ४ सय ११ जना घर फर्केका छन् भने एक जनाको मृत्यु भइसकेको छ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg