सम्माननीय प्रधानमन्त्री ज्यूलाई भूपू सैनिकको खुला पत्र: बुटवलमा पिपिओ कहिले आउँछ ?

901

(सम्माननीय प्रधानमन्त्री ज्यूलाई भूपू सैनिकको खुला पत्र)

सम्माननीय प्रधान्मन्त्री केपि ओलि ज्यू,
वीर योद्धाको जोशिलो “सल्युट“ साथ न्यानो अभिवादन !
प्रम ज्यू ,

मेरो नाम, थर, जात के हो, गाउँ, क्षेत्र, प्रदेश कहाँ हो, र म कुन पार्टीको कार्यकर्ता हुँ भन्दा पनि म देशलाई माया गर्ने एक नेपाली हुँ भनेर बुझ्नु होला । म पार्टीभन्दा पनि राम्रो काम गर्नेलाई प्रशंसा र नराम्रो काम गर्नेलाई आलोचना गर्ने साहसिक नागरिक हुँ । म यहाँ हजुर समक्ष केही निजी विचार तर लगभग ५० हजार कार्यरत सैनिक र एक लाख पचास हजार वीर योद्धा पेन्शनरसँग सम्बन्धित विषयलाई प्रतिनिधित्व गरेर लेख्दै छु । आशा छ मनन गर्नु हुनेछ ।


प्रम ज्यू म तपाईंको जोशिलो भाषण–प्रेमी नै हो भन्दा हुन्छ । तर के गर्नु तपाईको त्यो जोशिलो भाषणले अहिले मेरो दाँतमा ढुङ्गो लागे झै भएको छ । ग्याँसको अभाव देखेर चुला–चुलामा ग्याँस पुराउने भाषण होस् या तुइन हटाउने होस् या पेट्रोल निकाल्ने होस् या पानी जहाजको होस् वा चुच्चे मेट्रो र मोनोरेल होस् अथवा समृद्ध नेपालको होस् तपाईंको मुखराविन्दबाट सुन्न पाउँदा अन्तरात्मादेखि नै बडो जोश जाग्थ्यो ।

देशको बारेमा हाँकिदाउ बोल्ने जननेता मदन भण्डारीको भनाई…… “राजा रहनु या नरहनुमा केही फरक पर्दैन तर राजा हटे पनि दलाल पुँजिवाद, सामन्तबाद..रह्यो भने……. यो देश र जनता………...।“ अनि जनयुद्ध प्रमुख प्रचन्ड ज्युले बोल्नु भएको …. “यो देशका दलाल पुँजीपति र राजाको अधिनमा रहेको सम्पत्ति जबसम्म आम जनताको हातमा जांदैन तबसम्म यो देश र जनता………………..।’’

त्यसैगरि बाबुराम भट्टराइ ज्युले मेरो लगायत पूर्व नेताहरुको सम्पत्ति छानबिन हुनुपर्छ………. भन्दै भाषण गर्दा अनि संसदमा समान हक अधिकारको, समान जातजातिको, समान शिक्षाको, समानताको कुरा गर्दैगर्दा, हृदयदेखि सपोर्ट गर्दै खुशी हुने व्यक्ति हो म । तर अफसोस प्रम ज्यु, आज हाम्रो देश महामारीको चपेटामा छ । जनताले आईसियु र वेन्टिलेटर (Ventilator) नपाएर रोडमै प्राण त्यागेको स्थिति झनै भयावह हुन थालिसकेको अबस्थामा कोरोनाको चेकजाँच, उपचार आफै गर, होम आइसोलेशनमा मृत्यु भएमा परिबारले नै जलाउनु पर्ने जस्ता गैर जिम्मेवारीपूर्ण विज्ञप्ति स्वास्थ्यमन्त्रालयले जारी गर्दै पन्छिन खोज्दा तपाईले तपाईंको मृगौला फेर्दा भोगेका दुःखले मन पोल्दैन र प्रम ज्यू ?

आफ्नो जिम्मेवारीबाट हात उठाउन खोज्दा भोलि जनताले कर तिर्दैनौ भनेर हात खडा गरे के गर्नुहुन्छ ? प्रम ज्यू याहाँ त चाहेर पनि जनताले उपचार गर्न नपाएर मर्ने स्थिति सृजना भैसकेको छ । यस्तो विषम परिस्थितिमा पनि दशैं भत्ता बाँडनु, ७० करोडको बार्गेनिङ गर्नेलाई सपोर्ट गर्नु, जलविद्युत्त निर्माणमै नौ-नौ अरब भ्रष्टचार हुनु, एनसेल, ह्वाइट् बडि, सुनकाण्ड, ओम्नि, जस्ता काण्डै काण्ड भएको सुनेर, देखेर अलिकति पनि हजुरको मन रुन्न र प्रम ज्यू ?

प्रम ज्यू केही महिना अगाडि भारतीय, बृटिश, सिङ्गापुरे सेवानिवृत्त पेन्शनरहरुको सामाजिक भत्ता कटौति गरियो । पुरै देशबाट आपत्ति जनाएपछि सुचारुको आश्वासन आयो । आशा छ सही निर्णय गर्नुहुनेछ । प्रम ज्यू नेपाल भरि रहनु भएका एक लाख पचास हजार पेनशनरहरुले पेन्शन आउने बेलामा पाउनुपर्ने रकम मध्ये आइसी क्ष्ऋ ३० देखि ५० हजार भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना अर्थात् इसिएचएस एक्स सर्विसमेन कन्ट्रीब्युटरी हेल्थ स्किम (ECHS-Ex Servicemen Contributory Health Scheme) मेडिकल उपचार भनेर भारतमै जम्मा गरिएको हुन्छ ।

जस बापत पेन्शनर र उनका परिबार बिमार हुँदा (औषधि,बेड, ल्याब, डा.फीस, खाना, सम्पूर्ण अस्पतालको सेवा चाहे करोडौं किन नलागोस्) निशुल्क उपचार गरिन्छ । त्यो पनि नेपालकै मान्यताप्राप्त अस्पताल र मेडिकल कलेजबाट, त्यस्कोलागि पिपिओ (PPO- Pension Paying Office) द्वारा इमरजेन्सि केस छोडेर रिफर गरेपछि मात्र अस्पतालमा भर्ना गरि उपचार गरिन्छ । हाल पिपिओ नेपालमा काठमान्डु, धरान र पोखरामा मात्र सीमित छ । अब पेन्शनर र उनका परिवार बिमार भएमा सिफारिसको लागि उपर्युक्त तीन मध्ये एक ठाउँमा जानुपर्ने हुन्छ ।

पश्चिम महाकालीदेखि बुटवल वरिपरिका पेन्शनर बिमार भएमा फ्रीमा उपचारको लागि पाल्पा या भैरहवाको मेडिकल कलेज जानुपर्ने हुन्छ भने रिफरलको लागि काठमाडौ जानु पर्ने हुन्छ । सम्पूर्ण भूपू र उहाँहरुको परिवारको स्वास्थ्य उपचार, पेन्सनको गडबडी, विवाह, जन्म, मृत्यु, छात्रबृत्ति, शिक्षा जस्ता कामकोलागि धेरै ठाउँको केन्द्रबिन्दु भएको बुटवलमा पिपिओ  हुनु नितान्त जरुरी देखिन्छ । यसैलाई मध्येनजर गरेर यहाँको भूपू र समाजसेवीको पहलमा बुटवलको फुलबारीमा भारतीय राजदूत मनजीव सिंह पूरीद्वारा ४ सेप्टेम्बर २०१७ मा (१९ भदौ २०७४ सोमबार) पिपिओ स्थापना गरिएको थियो । स्थापना मितिले पनि आज ३ वर्ष १ महिना १६ दिन भइसक्यो ।

त्यहाँको रुखको परिपूर्ति गर्न शंकरनगरको सामुदायिक वनमा वृक्षारोपण पनि गरियो । तर स्थानीयको गलत बुझाइ र प्रचार अनि पार्टीगत बिचारले गर्दा आजसम्म शिलान्यासको मार्बल भित्तोमै सीमित रह्यो । यो कार्य कहाँ, किन, कसरी रोकियो ? त्यसको छानबिन गरि बुटवलको फुलबारीमा पिपिओ अविलम्ब स्थापना गरियोस् ताकि सम्पूर्ण पश्चिमेली नेपालीले आफ्नो इसिएचएस (ECHS) को फाइदा लिन सकुन् । पिपिओ स्थापना पछि भूपूको स्वास्थ्य सम्बन्धी चासो तपाईंले लिनु नै पर्दैन । पिपिओ आफैले लिन्छ ।

प्रम ज्यू, हजुरले सातवटै मुख्यमन्त्री ज्यूहरुलाई पनि निर्देशन दिनुहोस् । सातवटै प्रदेशमा पिपिओ स्थापनाको पहलकोलागि भारतीय राजदूतसँग समन्वय गरियोस् । पिपिओ स्थापना भयो भने हतियारबद्ध भारतीय सेना बुटवलमा आउँछन् र नेपाललाई खतरा हुन्छ भन्ने जस्ता आधारहीन कुरा गरेर स्थानीय केही नेताद्वारा गलत प्रचार गरि भूपूहरुले पाउने हक अधिकार खोसिएको हामी सम्पूर्ण भूपूहरुले महसुस गरेका छौं।

त्यस्तो हुने भए आजसम्म पोखरा, धरान र काठमाडौ त भारतको भैसक्थ्यो, होइन र ? पिपिओ त भूपू र तिनका परिवारको आर्थिक एवम् स्वास्थ्यको आवश्यकताको परिपूर्तिको लागि बनाइएको हो । मात्र १५ साल भारतीय सेनामा सेवा गरे बापत आजीवन पाइने फ्री मेडिकल सेवादेखि किन हामी बञ्चित हुनुपर्यो ? भूपूले जवानीसँग साटेको सेवासुविधा सहजतापूर्वक प्राप्त हुनसक्ने वातावरण किन निर्माण हुनसकेन प्रम ज्यु ? हाम्रो देशमा जिन्दगीभरी कर तिरेर पनि मेडिकल सेवा दिन नसक्ने अनि विदेशले केही सालको सेवा बापत आजीवन पेन्शन र मेडिकल सेवा उपलब्ध गराउँछु भन्दा हजुरलाई किन आपत्ति भयो?

पिपिओ शिलान्यास भएको मितिले थौथो वर्षमा प्रवेश भइसक्दासमेत पिपिओ सञ्चालन हुन नसक्नु भनेको तपाईलाई गिज्जाइरहनु होइन र प्रम ज्यू ? सम्माननीय प्रम ज्यू ! मलाई थाहा छ, हजुर कोमल र स्वच्छ दिल र दूरदर्शिता बोकेको अनुभवी राजनीतिक व्यक्तित्व हुनुहुन्छ । यी हाम्रा समस्याहरु हजुरको गहन विषयमा पक्कै पनि पर्ने छन् र तुरुन्तै बुटवलमा पिपिओ निर्माणको अनुमति र पहल गरिदिनुहुनेछ भन्नेमा म लगायत सम्पूर्ण पेन्शनरहरुले आशा र विश्वास गरेका छौं । धन्यबाद !

भवदीय
लोक नाथ लुइटेल
भारतीय भूपू सैनिक

 

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg