काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विकास मल्ललाई पुनः राष्ट्रिय पुरुष टोलीको गोलकिपर प्रशिक्षकको जिम्मा दिएको छ । एन्फाले मल्ललाई बंगलादेशसँगको दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि गोलकिपर प्रशिक्षकको जिम्मा दिएको हो ।
यसअघि विश्वकप छनोटका बाँकी खेलका लागि मल्ललाई गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको थियो । तर, विश्वकप छनोटका खेल स्थगित भएपछि एन्फाले उनको काज फिर्ता गरेको थियो ।
एन्फाले साउन २० गते मल्ललाई नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको गोलकिपर प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो । भदौ १ बाट बन्द प्रशिक्षण सुरु गर्ने तयारी स्वरुप एन्फाले उनलाई नियुक्त गरेको थियो । तर, असोज-कात्तिकमा हुने तय भएको छनोटका बाँकी खेल २०२१ सम्मका लागि भएपछि एन्फाले पनि बन्द प्रशिक्षण तत्कालका लागि स्थगित गरेको थियो ।
तर, हाल एन्फाले बंगलादेशसँग दुई खेलको मैत्रीपूर्ण खेल खेल्ने भएपछि मल्ललाई पनि टोलीको गोलकिपर प्रशिक्षकका रुपमा नियुक्त गरेको राष्ट्रिय पुरुष टोली व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिए । उनले राष्ट्रिय पुरुष टोलीको गोलकीपर प्रशिक्षकमा विकास मल्ल नै रहने जानकरी दिए ।
त्यस्तै राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठलाई निरन्तरता दिइएको उनले बताए । तर, मुख्य प्रशिक्षकको भने टुंगो लागेको छैन । स्विडिस मुख्य प्रशिक्षक जोहान कालिन स्वदेश फर्किएकाले हाल मुख्य प्रशिक्षकको टुङ्गो लाग्न नसकेको उनले बताए । टोली व्यवस्थापक उपाध्यायका अनुसार मुख्य प्रशिक्षकको टुंगो केही दिनमा लागि सक्नेछ ।
Facebook Comments