जीवनलाई आनन्दमय बनाउने अचुक कला

65

जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ, र म पनि स्वीकार्छु । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ ।

आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता र खुशी नजिकिँदै जान्छ । खुशी सन्तुष्टि र आत्मगौरवको प्रतिफल हो ।

गल्ती महसुस गर्ने र तनाव नलिने हो भने मात्र पनि जीवन यापन सहज र प्राकृतिक स्वरुपको हुनसक्छ ।
गल्ती कसले गर्दैन ? म, तपाईं उ सबैबाट हुन्छ तर जानेर पो गर्नुहुँदैन । नजानेर हुने गल्तीका लागि धेरै मान्छे पछुताउँछन् । तर, यो बानी राम्रो होइन । एकचोटी भएको गल्तीलाई सम्झिरहँदा दिमागको क्षय हुन्छ । त्यसैले गल्ती नदोहोर्याउनेमा प्रतिबद्ध भएर पुराना गल्तीमा नअल्झिने सोच बनाउनुपर्छ र म पनि त्यहि गर्छु ।

अर्काको नजरबाट आफूलाई नहेर्ने, म मेरो जिन्दगीलाई तपाईंको जिन्दगीसँग किन तुलना गर्ने? यस धर्तीमा हर मानव आफैमा युनिक अर्थात् अद्वितीय छ । म पनि युनिक छु अनि तपाईं पनि ।

धेरै मान्छेले जिन्दगीमा दोहोर्याउने गल्ती भनेकै नचाहिदो तुलना हो । अरुले ‘राम्रो’ भन्दा मख्ख पर्ने र ‘नराम्रो’ भनेपछि खिस्रिक्क हुने प्रायःको बानी हुन्छ । यही गल्तीले मान्छेलाई निरन्तर पछारिरहेको हुन्छ । सधैँ अरुले हौसला प्रदान गर्दैनन् र सबै आफ्ना अनुकूल हुँदैनन् । अरुको नजरले आफूलाई सही नदेखेकै अवस्थामा आफू गलत नहुन पनि सकिन्छ । त्यसैले सही सुझावलाई ग्रहण गर्ने तर उनीहरुको नजरिया (दृष्टिकोण) अनुसार आफूलाई मूल्यांकन नगर्ने बानीले दिमागलाई स्वस्थ राख्न मद्दत गर्छ । यस संसारमा धेरै सम्पत्तिका मालिक देखिनेहरु धेरै दुःखी र थोरै सम्पत्ति हुनेहरु धेरै खुशी भएका धेरै उदाहरण भेटिन्छन् ।

परिवर्तनसँग नडराउने मान्छे ठिकठाक अवस्थामा छ भने परिवर्तनदेखि डराउँछ । यथास्थितिमै रमाउन वातावरण सिर्जना गर्न थाल्छ । जसले गर्दा दिमागमा नयाँ सोच सिर्जना हुँदैन । परिस्थितिको परिबर्तनलाई अवसरको नयाँ दैलो ठान्नेहरु मात्रै यो दुनियाँमा तेज बुद्धि भएकामध्ये परेका छन् । सफलताको माथिल्लो सिँढीमा उनीहरु नै पुगेका छन् । मान्छेको दिमाग परिवर्तनलाई सदा स्वागत गर्छ । तर, समयसँगै आफूलाई बदल्न चाहन्छ । हामी यथास्थितिमा राख्न खोज्छौँ । यो परस्पर विपरीत प्रकृतिको आन्तरिक द्वन्द्वले गर्दा बुद्धिको विकासमा नकारात्मक असर पुग्छ । परिवर्तनसँग डराउने होइन, डटेर सामना गर्ने विचारले दिमाग बढाउँछ । जब सकरात्मक तरिकाले बुद्धि बढ्छ अनि मान्छे कहिल्यै दुखी हुँदैन । दुखमा रमाउन र समस्याभित्रै समाधान खोज्नसक्ने ब्यक्ति नै असल ब्यक्ति हो ।

आफ्नो जीवनमा प्रतिकूल समयको आगमनसँगै व्यक्तिले यो बेला आफुलाई मानसिक र भावनात्मक रुपबाटै झनै बलियो र संयमित बनाउनु पर्छ भनेर जान्नु जरुरी छ । यो मानिसको कला हो । यो कला मानिसको हाथखुट्टाले होइन भावनाबाट सृजित, नियन्त्रित र सञ्चालित हुन्छ । परिवर्तनशील परिस्थिति अनुसार जीवनलाई अनुकूलनीकरण गर्न यो कलाले ठुलो सहयोग गर्छ । जीवनलाई आनन्दमय बनाउने कला सबैसँग हुन्न । आनन्दलाई बाहिरी दुनियाँबाट प्राप्त गर्न सकिदैन । व्यक्तिले यसलाई आफुभित्रैबाट मन्थन गरेर निकाल्नुपर्ने हुन्छ । आफ्नो क्षमता र रुचिको पहिचान गरेर त्यसैलाई जीवनमा प्राथमिकता दिनसकेमा व्यक्तिले कहिलै आत्मग्लानि गर्नुपर्ने स्थिति नै आउँदैन । मेरो, मैले गरेको, मसँग छ, म राम्रो, म ठुलो भन्ने भावहरु व्यक्तिमा जति धेरै हुन्छन् उति धेरै उसले जीवनमा दुख पाउने सम्भावना रहन्छ ।

त्यसैले यदि साच्चै नै आनन्दले भरिपूर्ण जीवन बिताउन चाहानुहुन्छ भने यि ५ कुराहरुलाई आत्मसाथ गरेर हेर्नुहोस् :

१. जीवनमा सदा प्रसन्न रहने, सकारात्मक सोच्ने, भयरहित, चिन्तामुक्त, रिस डाह रहित हुने र आफ्नो हृदयमा आनन्दलाई चारैतिर फैलिन दिनुपर्छ, जसबाट तपाईंसँग रहनेहरु पनि आनन्दमा रंगिउन् । चिड्चिडापन र उदासीपनबाट मुखको आकृति बिग्रन्छ, पाचनशक्ति पनि बिग्रन्छ, स्वास्थ्य र सौन्दर्यको नाश हुन जान्छ । त्यसैले हाँस्ने प्रयास गर्नुपर्छ हास्यबाट आयुको वृद्धि हुन्छ । त्यसैले सदा आनन्दमा रमाउन सिक्नुपर्दछ ।

२. दोष, चक्षुदृष्टि तथा अहंकारको त्याग गरि गुणदर्शी बनि प्रत्येक शुभ वस्तुमा शुभ हेर्न सिक्नुपर्छ ।

३. सब प्रकारको सफलता आत्मविश्वासमा निर्भर हुनेगर्छ । सदा आफ्नो मनलाई पवित्र र उत्तम लक्षणवान् बनाउनुपर्छ । अरुका नराम्रा विचारहरुलाई कहिल्यै ग्रहण गर्नुहुदैन । सत्यता, दृढता, पवित्रता र प्रसन्नताका विचारहरुबाट शरीर र मनोबल बढ्दछ । सकारात्मक विचार अनि मनोबल बढेसँगै आत्मविश्वास बढ्दछ । आत्मविश्वासले जीवनलाई आनन्दमय बनाउँछ ।

४. मौन धारण गर्नु, व्यर्थ बकवास नगर्नु, शान्त रहनु र आत्म (देहिक) प्रशंसाको त्याग गर्नु नै महान् पुरुषहरुको उत्तम लक्षण हुन् । प्रत्येक कार्य शान्तिपूर्वक गर्नु । आफ्ना इच्छाहरुलाई आफ्नो अधीनमा राख्नु । कहिल्यै उत्तेजित नहुनु शान्त, एकाग्र चित्तले प्रतिदिनका कार्यहरुलाई गर्नुपर्दछ । अस्वाभाविक र अनावश्यक परिश्रमबाट मुक्त भै सारा दिन आनन्दमा व्यतित गर्नुपर्छ । स–साना कुरामा उत्तेजित हुनाले मनको शान्ति भंग भएर शरीरलाई बडो हानि पुग्छ र अल्प आयुमा मृत्यु हुन जान्छ । मृत्यु नभए नि शरीर त्यसपछि रोगको भकारी बन्न पुग्छ ।

५. सबैसँग प्रेमपूर्वक व्यवहार गर्नु । ‘ईश्वर सब प्राणीहरुमा समभावले स्थित छ ।’ यस कुरामा श्रद्धा राख्नु, ‘म जे पनि गर्न सक्छु ।’ यो विश्वास राख्नु । यस्ता विचारहरुले हाम्रो शरीरमा बल तथा पुष्टिको वृद्धि बनिरहन्छ, किनभने हामी जस्तो भावना गर्नेछौं , उस्तै नै बन्नेछौ । मानव–शास्त्रको नियम छ, जो कुरो बारम्बार मनमा उत्पन्न हुन्छ, त्यो विश्वासको रुपमा बदलिन्छ । आफ्नो तथा शरीरको विषयमा जस्तो विश्वास छ, उस्तै नै लक्षण प्रकट हुन लाग्दछन् । ‘यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी ।’ सत्यता नै प्रसन्नताको जननी हो । सत्यदेखि कहिल्यै भयभित नहुनु र नभाग्नु ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg