प्रचण्डको छलफललाई गुटको संज्ञा दिने ओलीले बालुवाटार बोलाए पूर्वएमालेका नेताहरुलाई

8

काठमाडौं । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छलफललाई गुटको भेलाको संज्ञा दिएका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूर्व एमाले पक्षधरका नेताहरुलाई बालुवाटार बोलाएका छन् ।

शनिबार एपीवान टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमबीच हुने छलफललाई गुटको भेला र बैठकको संज्ञा दिएका थिए ।

तर, यसको २४ घण्टा नबित्दै आइतबार अपरान्ह अध्यक्ष ओलीले पार्टीको बैठक नराखी बालुवाटारमा उनै माधवकुमार नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बोलाएर छलफल गरेका हुन् ।

केन्द्रीय सचिवालयका बहुमत सदस्यको बैठकलाई गुटको संज्ञा दिएका ओलीले आइतबार सचिवालय सदस्य माधवकुमार, स्थायी कमिटी सदस्यत्रय सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तलाई बोलाएर आन्तरिक विषयमा कुराकानी गरेका हुन् ।

प्रचण्डसँग विवाद बढिरहँदा ओलीले पूर्वएमाले पक्षधरका प्रभावशाली नेताहरुलाई बालुवाटारमा बोलाएर पार्टीको विवादबारे छलफल गरेका हुन् ।

आफू गुटको बैठक नराख्ने बताउने अध्यक्ष ओलीले औपचारिक बैठक नराखी उनीहरुलाई बोलाएर आगामी रणनीति तय गर्ने विषयमा छलफल गरेका हुन् । यसअघि शनिबार नेकपाका बहुमत सचिवालय सदस्यहरुले ओलीलाई बैठक बोलाउन माग गर्दै लिखित पत्र बुझाएका थिए ।

यसरी पत्र बुझाउनेमा सचिवालय सदस्यहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ थिए । नौ सदस्य सचिवालय सदस्यमध्य पाँच जनाले बैठक बोलाउन माग गरेका हुन् ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg