स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्यकर्मी संघको माग

3

काठमाडौं – नेपाल स्वास्थ्यकर्मी संघले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने सबै स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

संघले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै कोरोना महामारीमा खटिएका सबै स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन माग गरेको हो। यी माग सहित संघले १३ बुँदा सहितको ज्ञापन पत्र मन्त्रालयमा बुझाएका हुन्।

स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउन नसक्ने गरी विभिन्न निर्देशिकाहरु बनेको भन्दै संघले आपत्ति समेत जनाएको छ।

ज्ञापन पत्रमा भनिएको छ, ‘सबै स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउने गरी निर्देशिकामा व्यवस्थापन गर्न, संघीय सरकारले गरेका निर्णयहरु सबै तहका सरकार र व्यवस्थापक वा सञ्चालकहरुले कम्तीमा पनि लागू वा कार्यान्वयन गर्ने व्यवस्था गर्न माग गर्दछौं।’

कोरोना महामारी रोकथाम नियन्त्रणका लागि शंकास्पद, संभावित र पुष्टि भएका बिरामीहरुको केस अनुसन्धान र निजका कन्ट्याकमा आएको व्यक्तिहरुको खोज पड्ताल गर्नका लागि तयारी गरिएको टिमको न्यूनतम सेवा सुविधा संघीय सरकारबाट हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

स्वास्थ्यकर्मीका लागि छुट्टै आइसोलेसन र अस्पतालको व्यवस्थापन हुनुपर्ने, ज्यान जोखिममा परेका स्वास्थ्यकर्मीका परिवारलाई राहतको विशेष व्यवस्था हुनुपर्ने, स्वास्थ्यकर्मीका लागि घोषणा गरेको बिमाको भुक्तानी गर्ने कार्य सहज बनाउनुपर्ने माग संघले अघि सारेको छ।

स्वास्थ्यका कर्मचारीहरुको विभेदपूर्ण समायोजन गरेको भन्दै संघले समायोजन व्यवस्थापन र स्तरवृद्धिका सबै कार्यहरु तत्काल अगाडी बढाउन पनि माग गरेको छ।

संघले वीर अस्पतालका आन्दोलित कर्मचारीहरुको मागहरु अविलम्ब पुरा गर्न समेत सरकारसँग माग गरेको छ।

‘देशकै ठुलो सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु विगत लामो समयदेखि आफ्ना जायज मागहरु राखी आन्दोलन गरिरहेकोमा सम्बन्धित निकायहरुले आजका मितिसम्म कुनै यथोचित पहल नगरेको प्रति यस सघको गंभीर ध्यानाकर्षण भएको छ। अतः तत्काल आन्दोलनरत पक्षसँग संवाद गरी जायज मागहरु अविलम्ब पुरा गर्न सम्बन्धित निकायसँग अनुरोध गर्दछौं’ ज्ञापन पत्रमा भनिएको छ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg