खाद्यान्न माफियाहरुको गिरोहलाई कानुनी दायरामा ल्याउन साझा पार्टी कर्णालीको माग

299

राजु विके, रुपन्देही, मंसीर १
खाद्यान्न माफियाहरुको गिरोहलाई कानुनी दायरामा ल्याउन साझा पार्टी कर्णालीले सम्बन्धित निकायसँग माग गरेको छ ।

दुर्गा भगवती इन्टरप्राइजेज र शर्मा निर्माण सेवाका प्रोप्राइटर समेत रहेका आपूर्तिकर्ता वासुदेव शर्माले ना ६ ख ५७२१ नम्बरको ट्रकमा रहेको २५० क्वीन्टल चामल भक्तपुर पठाउँदै गर्दा प्रहरीले सुब्बाकुनाबाट नियन्त्रणमा लिएपछि सो कुरा मिडिया मार्फत सार्वजनिक भएसँगै  जिल्ला प्रशासन कार्यालय सुर्खेतको आदेश अनुसार जिल्ला प्रहरी कार्यालयले कालोबजारी गर्ने आपूर्तिकर्ता वासुदेव शर्मालाई नियन्त्रणमा लिएको थियो ।


शर्माको स्वास्थ्यमा समस्या आएको भनि निजलाई कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो । मुटुमा समस्या देखाइएपछि शर्मालाई काठमाडौं रेफर गरिएको थियो । शर्माको स्वास्थ्यलाई मध्यनजर गरि शर्मालाई उनको भाइको जिम्मा लगाइ प्रहरीले थुनामुक्त गरेकोे छ ।

सजायबाट केही समयलाई उम्कन र आफ्नो बचाउको उपाय निकाल्न कर्णालीका नागरिकहरुको दोषी शर्माले अस्वस्थताको बहाना बनाइ प्रहरी हिरासतबाट छुट्न सफल भएको साझा पार्टी कर्णालीका संयोजक गेहेन्द्र दाहालले पहिलोसन्देशलाई बताउनु भयो ।

लामो समयदेखि कर्णालीका जनताहरुलाई भोकभोकै जिउन बाध्य बनाउने खाद्यान्न माफियाहरुको अपराधिक गिरोहलाई नेपाली भूमिमा अब साँस फेर्न दिन नहुने साझा पार्टीको धारणा रहेको साझा युवा संगठन, सुर्खेतका संयोजक अनिल ढकालले बताउनु भयो ।

कर्णालीका जनताको भोकमाथि व्यापार र अराजकतामा केन्द्रित राजनीति गरेर हिजोका कानुनलाई नै चुनौती दिने शर्मा जस्ता कमजोर आर्थिक स्थिति भएका खाद्यान्न माफियाहरु आज तीन तीनवटा ढुवानी सेवादेखि विभिन्न बिजिनेस व्यवसायसम्मका मालिक बनेको साझा पार्टीको अनुसन्धानले देखाएको छ ।

यस्ता खाद्यान्न माफियाहरुविरुद्ध खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालयले ढिलाइ नगरी मुद्दा हाल्नुपर्नेमा कम्पनीले मौनता धारण गरेकोमा साझा पार्टी कर्णालीले आपत्ति जनाउँदै गरिब जनताको खान पाउने र बाँच्न पाउने मौलिक अधिकारमाथि यसरी पूर्वनियोजित रुपमै कुठाराघात गरिनु जघन्य अपराध भएको बताएको छ ।

दैलेखबाट सुर्खेत आएर सामान्य व्यवसाय थालेका शर्मा नेपाली कांग्रेसका पुराना समर्थक हुन् । जिल्लाभित्र हुने पार्टीगत सानाठुला कार्यक्रमहरुलाई उनैले फन्डिङ्ग गर्छन् । उनलाई कांग्रेस पार्टी सुर्खेतको पालनहार पनि भन्ने गरिन्छ । अहिले शर्मा ढुवानी सेवा र दुर्गा भगवती इन्टरप्राइजेज अनुदानमा प्राप्त जापानिज चामल जिल्लाबाहिर बेचबिखन गर्न पठाउँदै गरेको अवस्थामा समातिएपछि खाद्यान्न ठगीको मुद्दामा मुछिएका छन् । गोदामहरु सिल गरिएका छन् भने थप अनुसन्धानका लागि कागजपत्र लगायतका कारोबारका अभिलेखहरु  नियन्त्रणमा लिइएको छ । सुर्खेतका एसपी भट्टका अनुसार शर्माको वीरेन्द्रनगरस्थित गोदाममा करिब २ सय बोरा (६० क्विन्टल) चामल रहेको छ ।

शर्मा ढुवानी सेवाले असोज २३ देखि २६ गतेसम्म १ हजार क्विन्टल जापानी चामल र कात्तिक ५ गते १ सय क्विन्टल अरुवा मोटा चामल गोदामबाट उठाएको थियो । त्योमध्ये भक्तपुर लैजाँदै गर्दा नियन्त्रणमा लिइएको, कालैमा पुर्‍याइएको र गोदाममा रहेको समेत गर्दा ३ सय ७० क्विन्टल चामल भेटिएको छ । ‘७ सय ३० क्विन्टल चामल कहाँ छ भनेर अनुसन्धान भइरहेको छ ।

यो घटनाबारे अख्तियार दुरुपयोग अनुन्धान आयोगको सुर्खेत कार्यालयले पनि छानबिन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको समेत संलग्नता हुन सक्ने भन्दै अख्तियारले छानबिन थालेको हो । अख्तियारको टोलीले कम्पनीको सुर्खेतस्थित कार्यालयबाट कागजपत्रहरू नियन्त्रणमा लिइसकेको छ  ।

शर्मा ढुवानी सेवाले खाद्य कम्पनीसँग सम्झौता गरि नेपाल सरकारलाई अनुदानमा प्राप्त जापानिज चामल सुर्खेतबाट मुगु पठाउने जिम्मा लिएको थियो । दुर्गा भगवती इन्टरप्राइजेजको भ्याट बिल प्रयोग गरि अनुदानमा प्राप्त ४२ रुपैयाँ प्रति केजीका दरले रु. १० लाख ५० हजार ८ सय ४० रुपैयाँ बराबरको ३० केजीको ८३४ बोरा मोटा चामल ना६ख ५७२१ नम्बरको ट्रकमा अजय खाद्यान्न सप्लायर्स भक्तपुर पठाउँदै गर्दा उक्त ट्रक प्रहरी नियन्त्रणमा परेको थियो । जापानिज चामलको बोरा हटाइ अर्काे नाम लेखिएको बोरामा चामल  रिप्याकिङ्ग गरेर भक्तपुर पठाउन खोजेको तथ्य बाहिर आएको थियो  ।


प्रहरीले गत कार्तिक १८ गते मंगलबार शर्मालाई नियन्त्रणमा लिइ कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भएता पनि ७ दिन पछि उपचारका लागि भनि छोडेको हो । यसरी राजनीतिक पहुँचका भरमा कुनै न कुनै बहानाले दोषीलाई थुनामुक्त बनाउन पहल गरिनु कानुनको खिल्ली उडाएको वा कानुनलाई खेलाचीको रुपमा लिइएको देखाउँछ ।

शर्मालाई सुरुदेखि राजनीतिक संरक्षण प्राप्त भएको बुझिएको छ । नेका र नेकपा जस्ता ठुला दलहरु जनताको हितमा नबोल्नु तथा खाद्यान्न माफिया विरुद्ध मौन धारण गर्नु, खाद्य कम्पनी पनि चुप बस्नु आफैमा आपूर्तिकर्ता शर्मालाई दलहरुको समर्थन रहेको अनुमान लगाउन सकिन्छ ।

कर्णालीका जिल्लाहरूमा चामल ढुवानीमा हुने अनियमितता अध्ययन गर्न प्रदेश सरकारले कार्तिक १९ गते बुधबार पाँच सदस्यीय अनुगमन समिति समेत गठन गरेको छ ।

डक्टर डम्मर खड्का पूर्वमन्त्री पुर्ण खड्काका भाइ हुन् । शर्माको मुटुमा समस्या आएकाले निजलाई थप उपचार आवश्यक परेकोहुँदा सो उपचार गर्न निजलाई थुनामुक्त गरिनुपर्ने सिफारिश डक्टर खड्काले नै गर्नुभएको थियो ।

वासुदेव शर्माले हाम्रो नाम मुछ्न सक्छ भन्ने डरले सेटिङ्ग मिलाएरै बिमारीको बहानामा छुटाउने काम भएकोमा साझा पार्टी कर्णालीको घोर आपत्ति रहेको छ ।

खाद्य कम्पनीदेखि जनप्रतिनिधि एवं सुर्खेतका प्रतिष्ठित राजनीतिक छवि भएकाहरु समेत मौन देखिएका छन् भने केही प्रहरीहरु पनि शर्माकै पक्षमा क्रियाशील रहेको यस्तो निरीह सिस्टमलाई क्रमभंग गरिनुपर्दछ भन्ने पक्षमा साझा पार्टी कर्णाली रहेकोमा दुईतिहाइ बहुमतको सरकारले निष्पक्ष ढंगले अनुसन्धान गरि खाद्यान्न माफियाहरुको गिरोह तथा समर्थक एवं संरक्षकहरुलाई कानुनी दायराभित्र ल्याइ कार्वाही गर्ने छ भन्ने आफुले अपेक्षा राखेको बताउनुहुन्छ संयोजक दाहाल ।

नेपाली कांग्रेस र नेकपाका केही समूहहरु ज्यान फालेर शर्मालाई छुटाउने प्रयासमा रहनु कर्णालीका जनता र सरकारलाई ठाडो चुनौती भएको साझा पार्टी कर्णालीको ठहर छ । राजनीतिक पहुँचकै भरमा शर्मालाई ठुला–ठुला सरकारी ठेक्का पर्दै आएको पनि आशंका गरिएको छ ।

कर्णालीमा सरकारले चामल ढुवानीमा अनुदान दिएपनि दुर्गम क्षेत्रका नागरिकले महंगो दाममा किन्नुपर्ने बाध्यता ज्यूँका त्यूँ छ । कर्णालीका मुगु, हुमला, जुम्ला, दैलेख लगायतका क्षेत्रमा पठाइएको अनुदानको चामल बीच बाटोमै बिक्रि गर्दा कर्णालीका जनता भने भोक मेटाउन खाद्यान्नको लागि भौतारीरहेका छन् ।

चुनावका बेला बोराका बोरा चामल, रक्सि, मासु भोका जनता अगाडि भोट पाउन वितरण गर्ने त्यसपछि भोट दिएर जिताएका जनताकै भोकमाथि रमिते बन्नेहरुबाट नेपालमा परिवर्तन आउन नसक्ने ठोकुवा साझा पार्टीले गर्दै आएको छ ।
सरकारलाई छलेर बिचौलियाहरुले कर्णालीको जनताहरुमा भोकमरी सृजना गर्दै आएको अनैतिक, गैरकानुनी र मानवता विरोधी यो प्रतिनिधिमूलक घटना भएकोमा सो घटनातर्फ साझा पार्टी कर्णालीले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
वैधानिक स्वरुप प्राप्त गरेर अवैधानिक क्रियाकलाप गर्ने शर्मा ढुवानी सेवा र दुर्गा भगवती इन्टरप्राइजेज, यिनीहरुलाई संरक्षण दिने र सरकार र नागरिकलाई छल्ने माफियाहरुको अपारधिक गिरोहलाई कानुनी दायराभित्र ल्याइ कडाभन्दा कडा सजाय दिइनुपर्ने साझा पार्टी कर्णालीको जोडदार माग रहेको छ । तिहार लगतै कर्णालीका नागरिकहरुको पक्ष तथा खाद्यान्न माफियाहरुको विरोधमा सडकमै ओर्लिएर प्रस्तुत हुने तयारी भइरहेको बताउनुहुन्छ संयोजक दाहाल ।

कर्णालीका जनतालाई भोकभोकै राखेर भारी परिमाणमा अनुदानको चामल जिल्ला बाहिर जानेगरेको थाहा पाएपछि साझा पार्टी कर्णाली संयोजक दाहाल, साझा युवा संगठन संयोजक ढकाल लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसँग सो विषयमा गम्भीर छलफल गरेको थियो ।

No description available.

त्यसैगरि कार्तिक २७ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतका कार्यालय प्रमुख माधव मिश्रसँग पनि सो विषयमा छलफल भएको थियो भने कम्पनीले साझा पार्टीको माग बमोजिम खाद्यान्न आपूर्ति तथा भण्डारण सम्बन्धी प्रमाणित सूचना तथा विवरण उपलब्ध गराएको थियो ।

No description available.

त्यसैगरि संयोजक दाहालले कर्णाली प्रदेश मुख्य मन्त्रीको कार्यालयमा सह–सचिव आनन्द सारुसँग कर्णालीका जनता भोकभोकै बस्न बाध्य भएकै बेला भारी परिमाणमा चामल बाहिरी जिल्लामा पठाउन खोजिएको बारे भेट गरि कुराकानी भएको थियो ।

No description available.
साझा पार्टी यसरी अवैधानिक चामल ढुवानी सुर्खेतदेखि बाहिरी जिल्लामा हुनेगरेकोप्रति चिन्तित एवं यो माफियातन्त्रको अस्तित्व र प्रभावलाई निस्तेज कसरी पार्ने भन्नेमा केन्द्रित भइ अगाडि बढ्दै गर्दा अन्य दलहरु भने मौन नै बसेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट र रुकुम (पश्चिम) गरि १० जिल्लामा खाद्यान्न आपूर्तिको व्यवस्था मिलाउँदै आएको छ ।

No description available.

नेपाल सरकारको खाद्य नीति कार्यान्वयन गर्ने आधिकारिक निकायको रुपमा देशभर खाद्यान्न आपूर्ति व्यवस्था मिलाउन देशका विभिन्न जिल्लामा कामको प्रकृति, चाप र स्वरुप हेरि कम्पनिको प्रधान कार्यालय, प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय, शाखा कार्यालय र डिपो कार्यालयहरु स्थापना गरेको छ । खाद्यान्न आपूर्ति सम्बन्धी नेपाल सरकारको नीति कार्यान्वयन र निर्देशन दिन प्रधान कार्यालयमा ६ वटा विभाग, ४ वटा एकाई र १ महाशाखा गठन गरिएको छ ।

विभागहरुमा मानव संसाधान विभाग, बिक्रि वितरण विभाग, योजना विभाग, खरिद विभाग, अर्थ तथा आर्थिक विभाग र आन्तरिक लेखा परीक्षण तथा निरीक्षण विभाग रहेका छन् भने इकाइतर्फ गुणस्तर नियन्त्रण एकाई, छिज जर्ति तथा वेरुजु कार्यवाही एकाइ, खरिद एकाइ र कानुन एकाइ र महाखातर्फ सम्पत्ति व्यवस्थापन महाशाखा रहेका छन् । प्रधान कार्यालय १ वटा, प्रादेशिक कार्यालय ७ वटा, मुख्य शाखा कार्यालय ५ वटा, शाखा कार्यालयहरु २३ वटा र डिपो कार्यालयहरु ५९ पटा रहेका छन् ।

खाद्य व्यापार कम्पनीले चाडपर्वमा पनि 'होम डेलिभरी' सेवा दिने

यसका बावजुद विभिन्न जिल्ला तथा ठाउँहरुमा खाद्यान्न आपूर्ति व्यवस्थित हुन नसक्नुमा संघीय सरकार नै दोषी हो कि भद्रकाली प्लाजा, काठमाडौ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय दोषी हो कि प्रदेश सरकार अथवा स्थानीय सरकार दोषी हो कि सम्बन्धित कार्यालयका अधिकारीहरु दोषी हुन् वा अरु कोही दोषी हुन् सो कुराको निष्पक्ष छानबिन गरि खाद्यान्न आपूर्ति व्यवस्था प्रणालीमा आमूल परिवर्तन ल्याउनु आवश्यक छ ।

आर्थिक लाभका निम्ति कर्णालीका जनताको गरिबी र भोकमरीलाई बढावा दिने मात्रै नभइ बेवास्ता समेत गर्नेगरि लागीपरेको खाद्यान्न माफियाहरुको गिरोहको अपराधिक संयन्त्र विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत लगायतका सम्बन्धित सबै निकायहरु निष्पक्ष ढंगले एक्शनमा आइ खाद्यान्न माफियाहरुको गिरोहलाई कानुनको कटघरासम्म पुर्याउन कार्यवाही प्रक्रियालाई टुंगो लाउनुपर्ने साझा पार्टी कणार्लीले सुझाव दिएको छ । विधिको शासनलाई कायम राख्न सरकारले दोषीहरुमाथि कडा कार्वाही गर्नुपर्ने यो एक अवसर भएकाले यसलाई मूर्त रुप दिन समेत साझा पार्टीले सुझाव दिएको छ ।

यो गिरोह लामो समयदेखि यस्ता गतिविधिहरुमा संलग्न हुँदै आएकोमा सम्बन्धित निकायहरुबाट कुनै चासो नलिइनु, अनुगमन नगरिनु, मिलिमतोमै सबै सेटिङ्ग मिलाइनु आफैमा चरम लापरवाही भएको साझा पार्टी कर्णालीले बताएको छ ।
जनताको समृद्धि बारे फ्लाक्दै नथाक्ने दलहरुबाट गरिब नागरिकहरुको गास लुटिदा समेत रमिते बनी बस्ने अनुत्तरदायी ढंगको काम भएकोमा उनीहरुको राष्ट्र विरोधी चरित्र प्रमाणित भइसकेको साझा पार्टी बताउँछ ।

 

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg