पहिलोसन्देश, मंसिर ५, विरेन्द्रनगर ।
खाद्यान्न माफियातन्त्र निर्मूल पार्न साझा पार्टी कर्णालीले सरकारसंग माग राखेको छ । साझा पार्टीले मुगुको लागि आएको चामल भक्तपुर पठाउने खाद्यान्न माफियालाई कारबाहीको माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
मंसिर ४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै कर्णालीमा लामो समयदेखि सञ्चालित खाद्यान्न माफियातन्त्र निर्मूल पार्न साझा पार्टीले सरकारको ध्यानाकर्षण गराएको हो ।
खाद्यान्न माफियालाई तत्काल कारवाही गर्न माग गर्दै पार्टीका कर्णाली संयोजक गेहेन्द्रप्रसाद दाहालको नेतृत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पाँच बुँदे ध्यानाकर्षण पत्र समेत बुझाइएको छ ।
जनता जनार्दन जाग्ने छन् । खाद्य माफिया भाग्ने छन् ।
गरिब जनता लुटेर, भाडा लिन्छौ कुटेर ।
माफिया राज चाहिदैन, देश लुट्न पाइदैन ।
युवा अब लाग्दै छन्, देशमै रोजगार माग्दै छन् ।
चामलका बोरा कहाँ छन् ? रुपैयाँका बिटा जहाँ छन् ।
गास, यातायात भन्दै छौं, तिम्रा अपराध गन्दै छौं ।
जनता वैरी भएछन्, चामल अन्तै गएछन् ।
कर्णालीको पेटमा भोकमरीको लात, दलालको मुखमा मार्सीको भात ।
लगायतका मार्मिक नारासहित प्रदर्शन गरिएको थियो । सरोकारवाला निकाय मौन हुँदा कर्णालीका लागि सुरक्षित राखिएको खाद्यान्न अन्तै पुगेको भन्दै संयोजक दाहालले सरकारलाई दबाब दिन आफुहरु बाध्य भएको बताउनु भयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका ढुवानीकर्ता बासुदेव शर्माले मुगुको कालै बिक्री केन्द्रमा पठाउनको लागि असोज अन्तिम साता कम्पनीको डिपोबाट उठाएका २ सय ५० क्विन्टल चामल भक्तपुर पठाउँदै गर्दा सुर्खेत प्रहरीले सुब्बाकुनाबाट कात्तिक १३ गते नियन्त्रणमा लिएको थियो । चामलसहितको ट्रक नियन्त्रणमा लिएको केही दिनपछि प्रहरीले शर्मालाई नियन्त्रणमा लिइ एक सातामै कार्तिक २४ गते थुनामुक्त गरेको थियो ।
पूर्वमन्त्री पुर्ण खड्काका भाइ डक्टर डम्मर खड्काबाट सिफारिश भएपछि शर्माको अस्वस्थतालाई थप उपचार चाहिएको भन्दै उनलाई उनको भाइको जिम्मा लगाइ मुक्त गरिएको थियो । डक्टर खड्का कर्णाली प्रादेशिक अस्पतालमा कार्यरत छन् ।
एकजनामाथि कारबाही गरि हजारौं जनालाई न्याय हुने भन्दै संयोजक दाहालले पूर्ण निष्पक्ष ढंगले खाद्यान्न माफियाबारे अनुसन्धान गरि विधिको शासन अन्तर्गत कडाभन्दा कडा कारबाही गर्न सरकारसंग माग राखेको बताउनु भयो ।
संयोजक दाहाल भन्नुहुन्छ “एकातिर कृत्रिम भोकमरी अर्काेतिर यातायातमा बढ्दै गएको भाडा दरमा अनियमितताले कर्णालीका जनतालाई सामान्य जीवन जिउन कठिनाई भएकोमा भोकमरी र भाडा दरमा देखिएको अनियमिततालाई सदाका लागि निर्मूल पार्न समेत साझा पार्टी कर्णालीले सरकारसंग माग राखेका छौं ।” दाहालले भन्नु भयो– “कर्णालीका जनतालाई सरकारबाट रोजगारीको अवसर प्रशस्त पारिनुपर्ने, पेटभरी खान पाउनुपर्ने, गुणस्तरीय जीवन प्रत्याभूत हुनुपर्ने र खाद्यान्न माफियातन्त्र निर्मूल पारिनुपर्ने र यातायात सुविधा सहज बनाइनुपर्नेमा त्यसो नभएमा साझा पार्टी कर्णाली थप कडा रुपमा सडकमा उत्रने छ ।”
कोरोना महामारीको समयमा कर्णालीका जनताबाट यातायात व्यवसायीले पनि मनपरी भाडा उठाउने गरेका छन् ।
संयोजक दाहालले देश र जनताको सुरक्षामा खटिएको प्रहरी प्रशासनले राजनीतिक दायित्वको दुरुपयोग एवं दवाबमा परेर शर्मालाई थुनामुक्त गर्नु र नागरिकको मौलिक अधिकार खोस्ने अपराध विरुद्धको मुद्दालाई समेत फितलो बनाउने प्रयास हुनुलाई पार्टीले नागरिकप्रति सरकारको शुभ नियत नरहेको संकेत भएको बताउनु भयो ।
दाहालले शर्मालाई कुनै पनि बहानामा बचाउने प्रयास गरिएमा त्यसको मूल्य महँगो हुने भन्दै लामो समयदेखि कालोबजारीमार्फत नागरिकको गास खोसेर व्यक्तिगत समृद्धि चाहने माफियालाई निष्पक्ष रुपमा कानुनको दायरामा ल्याइ उच्चतम सजाय दिन सरकारसंग आफ्नो माग रहेको बनाउनु भयो ।
दोस्रो र तेस्रो तहका केही राजनीतिक नेताहरुको संरक्षणकै आडमा एक व्यक्तिको नेतृत्वमा सञ्चालित खाद्यान्न माफियाले सिंगो नेपाल सरकारलाई चुनौती दिदै आएकोमा सरकारले यसलाई गम्भीरपूर्वक हेर्नुपर्ने दाहालको भनाइ छ ।
Facebook Comments