रमेश कुमार – नेपालले दैनिक रु.११ करोड भन्दा बढीको चामल आयात गर्दै आएकोमा त्यसलाई प्रतिस्थापन गर्न विभिन्न विकल्प र सुधारको बाटो अपनाउनुपर्ने विज्ञहरूको राय छ।
गत साउनयता कात्तिकसम्म चार महीनामा देशमा रु.१३ अर्ब ५८ करोडको धान–चामल आयात भयो। नेपालीको भान्छामा भातको माग बढेसँगै हरेक वर्ष विदेशबाट धान–चामलको आयात बढ्दो छ। गत आर्थिक वर्ष २०७६/७७ मा विदेशबाट रु. ३३ अर्ब ६५ करोडको चामल भित्रियो।
खाने मुखको संख्या बढेसँगै नेपालीको क्यालोरीको मुख्य स्रोत चामलको माग बढिरहेको बुझ्न कठिन छैन। ६० वर्षअघि नेपालमा धानको उत्पादकत्व जति थियो, अहिले मुश्किलले दोब्बर मात्र भएको छ। जबकि, यसबीचमा जनसंख्याको वृद्धि तीन गुणाले बढिसकेको छ।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको तथ्यांक अनुसार, वि.सं. २०१८ मा नेपालमा एक हेक्टर खेतमा १.९ मेट्रिक टन धान फल्थ्यो। ६० वर्षपछि अहिले त्यो करीब दोब्बर भएको छ। गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर करीब ३.८ मेट्रिक टन पुगेको छ। ६० वर्षअघिको तुलनामा खाने मुख भने तेब्बर बढिसकेका छन्। २०१८ सालमा ९४ लाख हाराहारीमा रहेको जनसंख्या अहिले ३ करोड नाघिसकेको केन्द्रीय तथ्यांक विभागको अनुमान छ। यसले, देशमा जनसंख्या वृद्धिको अनुपातमा धानको उत्पादन नबढेको र बढिरहेको चामलको माग थेग्न आयातमा भर परिरहनुपरेको तथ्य देखाउँछ।
पहाडतिर बाटोघाटोको सुविधा नपुगेको र विपन्न नागरिकको किनेर खाने आर्थिक क्षमता पनि नभएका कारण २०३० सालको दशकतिर नेपालको तराई क्षेत्रमा उत्पादित धान–चामल विदेश नै निर्यात हुन्थ्यो। पहाडमा भोकमरी चले पनि विदेशमा चामल निर्यात गर्न सरकारले धान–चामल निर्यात कम्पनी नै स्थापना गरेको थियो।
तर, पहाडमा सडक यातायात खुलेसँगै चामलका बोरा बोकेका ट्रक उकालो लाग्न थालेपछि स्थिति बदलियो। नागरिकहरुको बढ्दो आयका कारण धान नफल्ने गाउँमा पनि कोदो, गहुँ, जौ जस्ता परम्परागत बालीबाट बन्ने रोटी, ढिंडोलाई चामलले विस्थापित गरे। वैदेशिक रोजगारीबाट आर्जित रेमिटेन्सका कारण नागरिकको क्रयशक्ति बढ्दा मसिनो र बास्नादार चामलको माग बढेको बढ्यै छ, जसले आयातमा दबाब थपिरहेको छ।
उत्पादकत्व नबढ्नुका कारण
संसारभरिका धान उत्पादन हुने अधिकांश देशहरुको धानको उत्पादकत्व करीब ६० वर्षअघि उस्तै–उस्तै थियो। २०१८ सालमा नेपालमा प्रतिहेक्टर १.९ टन धान फल्दा उत्तरी छिमेकी चीनमा पनि २ टन प्रतिहेक्टर धान फल्थ्यो। दक्षिणी छिमेकी भारतमा त अझ प्रतिहेक्टरमा १.५ टन मात्रै धान फल्थ्यो। संसारभरि धेरै धान फलाउने इन्डोनेसियादेखि बाङ्लादेश, भियतनामदेखि थाइल्याण्डसम्मको धानको उत्पादकत्व उस्तै थियो। अझ, चीनलाई छोडेर बाँकी देशका तुलनामा त नेपालकै धानको उत्पादकत्व बढी थियो।
उन्मोचन विधि मार्फत उन्नत जातको धानका बीउ उत्पादन, रासायनिक मल तथा प्रविधिको प्रयोगले पछिल्लो पाँच दशकमा संसारभरि धानको उत्पादकत्वमा ठूलो सुधार आएको छ। अझ, सन् १९७० को दशकमा चिनियाँ वैज्ञानिक युआन लोङफिङले धानको वर्णसंकर बीउ आविष्कार गरेपछि त धान उत्पादनमा क्रान्ति नै शुरु भयो। फरक–फरक गुण, क्षमता र स्वभाव भएका धानका जातबीचको ‘क्रस’ मार्फत निकालिने वर्णसंकर बीउले उत्पादन कैयौं गुणासम्म बढाउँछ। त्यसैकारण, भोकमरीबाटै लाखौं मृत्यु हुने चीनमा यो आविष्कारले रामवाणको रुपमा काम गर्यो।
चीनसहित दक्षिण पूर्वी एशियाका अन्य देशहरुले पनि वर्णसंकर बीउको प्रयोग मार्फत धानको उत्पादन क्रमशः बढाउँदै लगे। चीनले अहिले देशभरिमा प्रतिहेक्टर औसतमा ७ मेट्रिक टन धान फलाउँछ। यो नेपालको भन्दा झण्डै दोब्बर हो। गत महीना मात्रै वर्णसंकर धानका पिता भनिने उनै लोङफिङको नेतृत्वमा तेस्रो पुस्ताको वर्णसंकर धानको बीउबाट प्रति हेक्टर खेतमा २२ टनभन्दा धेरै धान फलाएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले उल्लेख गरेको छ।
भारतले धानको उत्पादकत्वमा ठूलो फड्को नमारे पनि बाङ्लादेशले भने वर्णसंकर धानको बीउमार्फत उत्पादनमा छलाङ मारेको छ। बाङ्लादेशको धानको उत्पादकत्व प्रतिहेक्टर करीब ५ मेट्रिक टन पुगिसकेको छ। नेपालमा बाङ्लादेशकै जति अर्थात् प्रतिहेक्टर ५ मेट्रिक टन धान फलाउन सक्ने हो भने यसले देशको जनसंख्यालाई पुग्ने जानकारहरु बताउँछन्।
वर्णसंकरमा ठूलो अग्रसरता नलिए पनि रैथाने धानको मात्रै खेती हुँदै आएको नेपालमा ६० वर्षजति अगाडि उन्नत जातको बीउबाट खेती हुन थालेको हो। २०२३ सालमा सरकारी कृषि वैज्ञानिकहरुले सीएच–४५ नामको ३.५ टन प्रतिहेक्टर उत्पादन क्षमता भएको उन्नत चैते धानको बीउ सिफारिश गरेका थिए। त्यसयता, विन्देश्वरी, चैते २, ताइचुङ्ग १७६, सावित्री, खुमल ३, खुमल ४, खुमल २, राधा ७, चन्दननाथ ३, लल्का बासमती लगायतका उन्मोचन विधिबाट विकास गरी ६४ जातका उन्नत जातका धानको बीउ किसानसमक्ष पुर्याइसकिएको छ। अहिले देशको तीन चौथाइ क्षेत्रफलमा उन्नत जातका बीउबाट धान उत्पादन हुन्छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बाली तथा बागबानी निर्देशक रामबहादुर केसी धानको उत्पादकत्वमा सिंचाइ, मलखाद, बीउबिजन र कृषि शिक्षाको अहम् भूमिका हुने बताउँछन्। उनका अनुसार, धान उत्पादनमा गुणस्तरीय बीउको ठूलो महत्व हुन्छ। कृषि वैज्ञानिकहरु किसानले बीउको गुणस्तरमा धेरै ध्यान नदिने कारण उत्पादन कम हुने गरेको बताउँछन्।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक भानुभक्त पोखरेल भन्छन्, “धानको बीउ मात्रै गुणस्तरीय बनाउन सके उन्नत जातबाट मात्रै करीब २० प्रतिशतले धानको उत्पादन बढ्छ।” हरेक ३/४ वर्षमा धानको बीउ फेर्नुपर्ने भए पनि अहिले त्यो न्यून भएको पोखरेल बताउँछन्। अहिले धानको बीउको प्रतिस्थापन दर करीब २४ प्रतिशत मात्रै छ।
धान बालीका लागि पानीको उपलब्धता अनिवार्य शर्त हो। व्यवस्थित सिंचाइ प्रणाली अभावमा आकाशे पानीमा भर पर्नुपर्ने कारणले नेपालको धान उत्पादनमा असर गर्दै आएको छ। देशको खेती हुने २६ लाख ४१ हजार हेक्टरमध्ये करीब १४ लाख ८० हजार हेक्टरमा मात्रै सिंचाइ सुविधा पुगेको छ। त्यसमध्ये पनि करीब साढे ८ लाख हेक्टरमा मात्रै वर्षैभरि सिंचाइ सुिवधा पुगेको छ। हरेक वर्ष धान रोपाइँका बेला किसान आकाशे पानीमा निर्भर हुँदै आएका छन्। त्यसैकारण, मनसुनी वर्षा राम्रो भएको वर्ष मात्र धान उत्पादन बढ्ने गरेको छ।
धान उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति अर्को महत्वपूर्ण पक्ष हो। तर, हरेक वर्ष किसानले धान खेती गर्ने बेला मलखादको अभाव भोग्ने गरेका छन्। नेपालमा हरेक वर्ष आवश्यकताको आधाजति मात्रै रासायनिक मल आपूर्ति हुने गरेको सरकारी अधिकारीहरु नै बताउँछन्। विरुवालाई सप्रिन तथा उत्पादन हुन १६ तत्व चाहिन्छ, जसमध्ये नाइट्रोजन, फोस्फोरस र पोटासको मुख्य भूमिका हुन्छ। युुरिया मलले नाइट्रोजन आपूर्ति गर्छ भने डीएपीले नाइट्रोजन तथा फोस्फोरस। धानबालीलाई समयमा मलखाद दिन नसके उत्पादन एक तिहाइ ह्रास हुने जानकारहरु बताउँछन्। एक किलो रासायनिक मल हाल्दा १० किलो उत्पादन बढ्ने अनुमान गरिन्छ। यस बाहेक, खेती गर्ने तौरतरिकाका सुधार, प्रविधिको प्रयोग, रोग किरा नियन्त्रणका लागि विषादी प्रयोग आदिले धानको उत्पादकत्व बढाउँछन्।
वर्णसंकर कति सुरक्षित ?
खाने मुख र बजारको मागलाई थेग्न संसारभरि अगाडि सारिएको विकल्प वर्णसंकर बीउको प्रयोग हो। यसले धानको उत्पादकत्व कैयौं गुणासम्म बढाउन सक्छ। नेपालमा पनि करीब १० प्रतिशत खेतमा वर्णसंकर बीउको प्रयोग मार्फत धान खेती हुने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बाली तथा बागबानी निर्देशक रामबहादुर केसी बताउँछन्। केसी देशकोे चामलको माग थेग्ने हो भने वर्णसंकर बीउ प्रयोग गरेर धान खेती बढाउनुपर्ने तर्क गर्छन्। वर्णसंकर बीउको प्रयोग बढाउन नार्कले हर्दीनाथ १ र हर्दीनाथ ३ गरी दुई धानका वर्णसंकर जातको अध्ययन गरी सिफारिश गरेको छ।
राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान अन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत धानसम्बन्धी वैज्ञानिक सुशील सुवेदी वर्णसंकर बीउको प्रयोगबाट धान खेती गर्ने हो भने देशको चामलको माग अनुसारको उत्पादन सजिलै हुने तर्क गर्छन्। यसो हुँदा चामल आयातमा वर्षेनि विदेशिने रु.३४ अर्ब हाराहारीको रकम जोगिन सक्छ। बुद्ध एअरका सञ्चालक व्यवसायी वीरेन्द्रबहादुर बस्नेतको पहलमा पूर्वी तराईमा गरिएको धान खेतीमा पनि वर्णसंकर बीउको प्रयोगबाट प्रतिहेक्टर करीब ७ टन धान फलिरहेको तथ्यले पनि त्यसलाई पुष्टि गर्छ।
तर, वर्णसंकर बीउले तत्काल लाभ दिए पनि यसमा भर पर्दाका अनेक जोखिम छन्। वर्णसंकर बीउको मुख्य समस्या के हो भने, यो बीउ एक पुस्तालाई मात्र काम लाग्छ। अर्थात्, वर्णसंकर बीउको प्रयोग गरेर उत्पादन गरेको बालीको बीउ प्रयोग गरी फेरि उत्पादन गर्न सकिँदैन। त्यसपछि हरेक वर्ष बीउ किन्नुपर्छ। जबकि, रैथाने बालीमा पुस्तौंसम्मको प्रजनन क्षमता हुन्छ। वर्णसंकर बीउको प्रयोग गर्दा दोस्रो पुस्ताबाट राम्रो उत्पादन नहुने र अधिकांश यस्ता बीउ विदेशबाट आयात गर्नुपर्ने कारणले नेपाल थप वर्णसंकर बीउ आयातको दुश्चक्रमा पर्नसक्नेमा कतिपय जानकारले सचेत गराउने गरेका छन्। उनीहरुका अनुसार, आफ्नो रैथाने बीउ नाशिंदा विकल्प सीमित हुने र बीउमा परनिर्भर हुनुपर्ने भएकाले खाद्य असुरक्षा बढ्न सक्छ।
विश्व खाद्य तथा कृषि संगठनले गएको २०औं शताब्दीमा मात्र विश्वको बाली विविधतामा पूर्ति गर्नै नसकिने गरी करीब ७५ प्रतिशत बाली नाश भइसकेको उल्लेख गरेको छ। नेपालमै पनि ५० प्रतिशतभन्दा बढी रैथाने जातका बाली नाश भइसकेको नार्कको आकलन छ। अहिले धानमा १० प्रतिशत क्षेत्रफलमा मात्रै एक्ले, मार्सी, जेठो बूढो, कालो नुनिया, ललका बासमती, अनदी, पोखरेली मसिनो लगायत रैथाने धानका बाली लगाइन्छ।
अर्कातिर, वर्णसंकर बीउमा मात्र भर पर्दा कदाचित् अन्य देशबाट बीउ आउन रोकिए बीउ संकटकै जोखिम आइपर्छ। प्राकृतिक अवस्था फेरिने बित्तिकै वा सामान्य रोगकीरा लाग्नेवित्तिकै वर्णसंकर बाली जोगाउन कठिन हुन्छ। त्यसैले यसलाई बढी मलखाद, किटनाशक विषादी आवश्यक पर्छ।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक भानुभक्त पोखरेल चामलमा आत्मनिर्भर हुन जोखिमयुक्त वर्णशंकर जातमै जानुपर्ने आवश्यकता नरहेको बताउँछन्। उनी उन्नत प्रविधि मार्फत उन्मोचन गरिएको बीउ र सिंचाइको राम्रो बन्दोबस्त गर्न सकिए प्रतिहेक्टर ६/७ मेट्रिक टनसम्म धान उत्पादन गर्न सकिने तर्क गर्छन्।
पोखरेल कार्यरत राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले सुनसरी, बर्दिया लगायत जिल्लाका किसान सहकारीसँगको सहकार्यमा उन्नत बीउकै प्रयोग मार्फत ५ टन प्रतिहेक्टर धान फलाएको छ। राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान अन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत वैज्ञानिक सुवेदी पनि अहिले उन्नत जातका बीउ मार्फत किसानको खेतमा ४ मेट्रिक टन धान उत्पादन भइरहे पनि परीक्षणका लागि गरिएका उत्पादन ६/७ मेट्रिक टन भइरहेको बताउँछन्। व्यवसायी बस्नेतले लगाएको धान खेतीमा पनि उन्नत जातको बीउको प्रयोग बाटै ६ मेट्रिक टन धान फलेको छ।
सुवेदी भन्छन्, “यसको अर्थ सिंचाइको अभाव तथा खेती तथा खेतीको तरिका सुधार नगरेका कारण धान उत्पादकत्व नबढेको हो, यसलाई सम्बोधन गर्ने बित्तिकै अहिलेकै बीउबाट ६/७ मेट्रिक टनसम्म धान उत्पादन गर्न सक्छौं।”
प्रविधिको प्रयोगबाट धान खेतीको नयाँ अभ्यास गरिरहेका व्यवसायी बस्नेत चाहिं नेपालमा धानको उत्पादकत्वमा महत्वपूर्ण सुधार नभएको भन्दा ठूलो चुनौती धान उत्पादनपछिको व्यवस्थापनको कमजोरीलाई औंल्याउँछन्। उनका अनुसार, अहिले पनि धानको उचित भण्डार गर्ने क्षमता नभएको, बजारमा मसिनो चामलको माग बढेका कारण तराई क्षेत्रमा किसानले उत्पादन गरेको धान भारत पुग्छ। बिस्तारै भारतबाटै मसिनो चामल आयात हुन्छ। धानको भण्डार गर्ने, सुकाउने तथा मूल्य अभिवृद्धि गरी उत्पादन गर्ने चक्रमा लगानी बढाउन सके आयात विस्तारै प्रतिस्थापन गर्दै जान सकिने उनको तर्क छ। बस्नेत भन्छन्, “उत्पादकत्व वृद्धिसँगै अनाज भित्र्याइसकेपछिको व्यवस्थापनमा सुधार नगर्दासम्म धान–चामलको आयात प्रतिस्थापन गर्न सकिंदैन।’
-हिमालखबरबाट साभार
Facebook Comments