हाड, मासु, रगतको पिण्ड नासो अरुकै

21

 

हाड, मासु, रगतको पिण्ड नासो अरुकै 
कविता

छोडेर जाने चोला हो यो माया यसको के मान्नु
हाड, मासु, रगतको पिण्ड नासो  अरुकै जान्नु
ज्ञानेन्द्रियले भ्रममा पार्छन् धोखा कहिलै नखानु
यै जन्मलाई मोक्ष पाउने अन्तिम मौका बनाउनु……

पंचभूतमै हुन्छ यो विलीन पंचभूतद्वारा हो निर्मित
समयसँगै रुप बदलिन्छ आयु छ यसको  सीमित
यस्तै सुन्दर मनमोहक सँधै रहन्छ शरीर न ठान्नु
हाड, मासु, रगतको पिण्ड नासो  अरुकै जान्नु……

साधु अनि सन्त भन्छन् देह हो सड्ने दुर्गन्धी वस्तु
सत्य के हो दर्शन गर्नलाई चिहानमा गइ हेर्नु अस्तु
सुइको टुप्पो बराबर पनि केही छैन सँगै लैजानु
हाड, मासु, रगतको पिण्ड नासो  अरुकै जान्नु……

भेट्नलाई खोज्दा पाइदैन एकदिन हुन्छ यो अस्त
योवन बल बुद्धि छंदा जीव हराइरहने भइ मस्त
मोहमायादेखि मन हटाइ पर्छ बेलैमा कर्म सुधार्नु
हाड, मासु, रगतको पिण्ड नासो अरुकै जान्नु……

आत्मा हौ तिमी तन होइन गर सत्यको पहिचान
घमण्ड के गर्नु नासिन्छ शरीरसँगै आन बान शान
भ्रमजाल हो संसार आफ्नो मौलिक अस्तित्व धान्नु
हाड, मासु, रगतको पिण्ड नासो  अरुकै जान्नु……

जस्तो कर्म उस्तै फल हो हेर कर्मले पिछा छोड्दैन
भलो हुन्न जबसम्म जीवले सत्यतिर ध्यान मोड्दैन
सुकर्म गरि परम सत्यलाई आफुतिर पर्छ तान्नु
हाड, मासु, रगतको पिण्ड नासो  अरुकै जान्नु……
शब्दभाव: राजु विके (२०७७ मंसिर १७)

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg