नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलालीले कैलालीका स्थानीय तहमा व्यापक भ्रष्टाचार र अनियमित भएको आरोप लगाएको छ ।
बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लामा भ्रष्टाचार र अनियमित भएका आयोजनाहरूको विवरण सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा भएको योजनामध्ये कैलालीका १३ स्थानीय तहमा भएका भ्रष्टाचार शृङ्खला बुधवार काँग्रेसले सार्वजनिक गरेको हो ।
कैलालीले गत आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय तहमा संघीय र प्रदेश सरकार तथा स्थानीय सरकारबाट भएका विकास निर्माण योजनाहरूको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा १३ वटा स्थानीय तहका ३९६ वटा योजनामध्ये ११६ वटा विकास निर्माण योजनामा अनियमितता भएको कांग्रेस कैलालीका पार्टी सभापति नरनारायण शाहले बताए ।
अनुगमनका क्रममा सबै भन्दा धेरै कैलालीको धनगढी उपमहानगरपालिकामा भ्रष्टाचार भएको पाइएको छ ।
धनगढी उपमहानगरपालिकामा मात्रै १७ वटा योजनामा भ्रष्टाचार तथा अनियमितता भएको कांग्रेसको ठहर छ ।
त्यस्तै गौरीगंगा नगरपालिकामा १० वटा घोडाघोडीमा ७ वटा, टीकापुरमा ८ वटा, कैलारी गाउँपालिकामा ९ वटा, चुरे गाउँपालिकामा १२ वटा, भजनी नगरपालिकामा ६ वटा, जानकी गाउँपालिकामा ३ वटा, लम्कीचुहामा १४ वटा आयोजनामा हिनामिना भएको कांग्रेसको ठहर छ ।
Facebook Comments