तन जोगाउन पुराना लुगा फेरे जस्तै वतन जोगाउन नाकाम पार्टी र नेता फेर्नुपर्छ

152

नेपालमा माओवादीले चलाएको १० वर्षे जनयुद्धका कारण देशको आीर्थक, राजनैीतक र भौीतक पूर्वाआधारहरुको अवस्था प्रतिदिन झन्झन् कठिनाइपूर्ण बन्दै गएको थियो । नागरिकको बांच्न पाउने अधिकार पनि कुण्ठित नै थियो ।

कति बेला कहाँ के हुन्छ भन्ने थाहा नै हुँदैन थयो । यात्रा गर्दा समेत धेरै समस्याहरु झेल्दै ८ घण्टाको बाटोमा १६ घण्टासम्म यात्रा गर्दा बल्ल गन्तव्यमा पुगिन्थ्यो । गाउँमा बस्ने मानिसको दैनिकी कसरी चलेको थियो तात्कालीन अवस्थामा त्यो स्वयं तिनै नेतालाई थाहा छ आखिर किन र केका लागि भएको हो त्यो युद्ध भन्ने कुराको उत्तर तिनै युद्धको नेतृत्व गर्नेलाई पनि थाहा छैन । हजारौं नेपाली नागरिकको रगतको खोला बगाएर गणतन्त्र ल्याएका नेताले खै गणतन्त्रको मर्म बुझेको ?

यिनै नेतालाई सर्वेसर्वा बनाउनको लागि हो त्यो बलिदान नेपाली जनताको ? अब हरेक नेपाली नागरिकले सोच्नै पर्ने भएको छ । १० बर्षसम्म चलेको आतंककारीको शैलीमा चलाईएको युद्धमा जसरी जनतालाई एउटा मिठो सपनाको संसारमा डुलाएका थिए खै आज ती सपनाहरू पूरा गरेको ?

हरेक पटकका राजनीतिक परिवर्तन हुँदा प्रायः सर्वसाधारणलाई नै प्रयोग गरिएको छ त्यो संर्घषमा रगत बगाउने, ज्यान गुमाउने, आजीवन अपांगता बन्ने को छन् ? कुनै नेता छन् त ? सबै परिवर्तनको लागि बलिदान गर्ने जनता र परिवर्तन पछि रमाउने नेताकार्यकर्ता नै हुन् ।

हरेक पटक नेपाली जनताको सोझोपन र सहनशीलताको फाइदा उठाउन सफल भएका राजनीतिक दलका नेतालाई अब बिश्वास गर्ने कुनै पनि ठाउँ बांकी रहेन । अब यिनको विकल्प नै खोज्नुपर्छ । जनताले के गुमाउन बांकी रह्यो र हर पटक ब्यवस्था परिवर्तनको लागि तर ब्यवस्था परिवर्तन पछि के पाए जनताले ?

जनताको त्यस्तो ठूलो कुनै पनि अपेक्षा छैन । कमसेकम हरेक देशमा त्यहाँका नागरिकले पाउने सामान्य सुविधा पनि नपाउनु नेपाली नागरिकलाई कुन पापको सजायको भागीदार बनाएका छन् त ? यिनी नेताहरू व्यक्तिगत र आफन्तजनमा केन्द्रित स्वार्थमुखी राजनीति गर्ने लक्ष्यसाथ हिडेका छन् । नेता र कार्यकर्ताहरुलाई देश अनि नेपाली नागरिकको कुनै पनि चिन्ता छैन । चिन्ता छ त बस जनताले तिरेको कर र दातृ संस्थाहरुले दिएको आर्थिक अनुदानको दुरुपयोग कसरी गर्ने भन्ने बारे मात्र ।

नेपाली नागरिकको स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको दायित्व लिन राज्य संधै पन्छिन खोज्दछ किन ? नेताले आफ्नो पैतृक सम्पत्ति काटेर जनतालाई दिनुपर्ने जस्तो पो मनस्थिति देखाउने गरेका छन् । काठमाडौ उपत्यकामा जन्मिएको होस् चाहे कर्णालीमा, हरेक नागरिकले समान किसिमको स्वास्थ्य सुविधा, शिक्षा र सुरक्षा पाउनुपर्छ ।

नेपाली जनताले नेताको लागि धेरै पटक आन्दोलन गरे तर नेताले नेपाली जनताको लागि के गरे? अब हरेक नागीरकले सोच्नै पर्ने भएको छ । नागरिकका दैनिक जीवनसँग जोडिएको विषयमा कुन ठाउँमा राज्यबाट पूर्ण रुपमा सहजीकरण भएको छ ? एउटा ठाउँ पनि भेटिदैन । सत्तामा नपुग्दासम्म कर्णप्रिय भाषण गरेर जनतालाई उल्लु बनाउने अनि सत्तामा पुगेपछि तिनै जनतासँग अपधिकारबाट वञ्चित बनाइ शत्रुतुल्य व्यवहार गर्ने सबै नेताहरुसँग हिसाब खोज्ने बेला आयो ।

अहिले नेताहरू आफू सत्तामा हुँदासम्म सब ठिक, आफुले सत्ता नपाउँदा सबै गलत बनाउनेतर्फ लागेका छन् । जुनसुकै ब्यवस्था फेरिंदा पनि उनैहरु हावी हुने अनि कसरी देश र जनताको हित हुन्छ ? पात्र उनै हुन्, चरित्र उही, केवल ब्यवस्था फेरिदा परिवर्तन हुन नसकेको हो । सांच्चिकै देश र जनताप्रति उत्तरदायी हुनसक्ने नेतृत्व अब जनताले खोज्नु पर्छ ।

सत्तामा रहँदासम्म सिन्को नभाच्ने अनि सत्ता छाडनुपर्दा आरोप–प्रत्यारोपमा रोइलो गर्ने प्रवृत्तिले नेपाली नागरिकको भविष्य झन् अन्धकारतर्फ धकलिदै गएको छ । नागरिकको सहनशीलताको फाइदा उठाउँदै नेताहरू जहिलेपनि छलकपटको राजनीतिमा हावी हुँदै गएका छन् । नेपाली नागरिक जन्मिदानै करीब ४० हजार ऋणको भागिदार भएर जन्मनुको पीडा कति हुन्छ त्यो जनतालाई मात्र थाहा छ ।

त्यो ऋण यिनै नेता पाल्दा लागेको हो । जनताको हितमा भएको भएपनि सहनै पर्दथ्यो । फाइदा सबै नेताले लिने घाटा जति गरिब जनताको टाउकोमा थुपारी दिने अशोभनीय ब्यवहारले गर्दा नै अबको दिनमा धेरै ब्यवस्था फेर्दै देशभक्तिको नाममा देश र जनतालाई छल्दै आएका पुराना दलको विकल्प नखोजेसम्म नेपाल र नेपालीको गौरव गर्न मिल्ने प्रगति कहिलै पनि हुने छैन भन्ने कुरा प्रमाणित भैसकेको छ ।

कपडा पनि पुरानो हुँदा साथ नयाँ फेरिन्छ । नेपालको राजनीति र नेताहरू पनि पछौटेपनको दृष्टिकोणबाट पुराना भइसके । अब राष्ट्र अनि राष्ट्रियताको पक्षमा उभिने नयाँ शैलीको राजनीति र नेताको खोजीमा लाग्नै पर्छ । विकल्पको खोजी हुनुपर्छ भन्दै गर्दा कतै बाहिरबाट आयात गर्नुपर्छ भन्ने आशय चाहीं होइन । हरेक नेपाली नागरिक अब आफ्नो लागि आफै विकल्प बन्नु पर्छ । अहिलेसम्म अरुका लागि संघर्ष गरेका थियौं अब एकपटक आफु र आफ्नो सन्ततिको भविष्यको लागि गम्भीरता साथ संघर्ष गरौं । अब पुराना पार्टीको नेतृत्वमा रहेका अझै केही बर्ष आफै नेतृत्वमा रहन खोजीरहेका नेता र पार्टीबाट निकास कुनै हालतमा पनि निस्किदैन ।

पटकपटक नेतृत्वमा पुगेर पनि कुनै पनि काम नगरेका अनुहारलाई फेरि नेतृत्व सुम्पिदा देशको हालत उस्तै रहने निश्चित छ । किनभने उनीहरुमा परिवर्तनलाई स्वीकार गर्न सक्ने सामथ्र्य, चाहना र दूरदर्शिता केही पनि छैन । जनताकै बलबुतामा परिवर्तन ल्याएर उनीहरुलाई सुम्पिने हो भने त्यसलाई थेग्न र जोगाइराख्न समेत उनीहरुको क्षमता छैन ।

—के. आर. खनाल

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg