जनवरी महिना (पुस) देखि नयाँ वर्ष मान्न उचित कि वैशाखदेखि ?

108

विदेशी सोसाइटीको नयाँ वर्ष, लगाउने लुगा, खाने खानाको मात्र अनुसरण गर्ने प्रवृत्तिको विकासले हाम्रो मूल संस्कृति धरापमा परेको हामी सबैलाई अवगत छ । हाम्रा पुर्खाहरु त सृजनात्मक ज्ञानका धनी थिए । उनीहरुले हाम्रो पहिचानलाई पुष्टि गरिदिने विशेष संस्कृति हामीलाई विरासतमा दिएका छन् । हामी सबै उहाँहरुको उत्तराधिकारी भएकाले ती कला, संस्कृतिलाई अभ्यासमा ल्याउन पायौं र पो हाम्रो आफ्नै पहिचान छ । हामी सबै सार्वभौम नेपाली भनेर विश्वमा परिचित छौं ।

हाम्रा पुर्खाहरुप्रति हामी कृतज्ञ छौं । हाम्रा अग्रजहरुको कला, संस्कृति, ज्ञानले हामी समृद्ध त भयौं तर हाम्रा कला, संस्कृति, ज्ञानको संरक्षक हुन सकेनौं ।

स्वयंलाई आधुनिक बनाउने होडबाजीमा विरासतमा पाएको संस्कृतिको संरक्षण गर्न हामी चुकेका छौं । हाम्रा वेषभूषामा अनपेक्षित परिवर्तन आएको देखिन्छ । हामीहरु अरुको अनुसरण गर्न सिपालु भयौं ।

अनुसरण गर्ने नै हो भने यसरी गरौं न ! विदेशीले छाउपडी मान्दैनन्, हामीले पनि नमानौं । विदेशीले देउकी प्रथा मान्दैनन्, हामीले पनि नमानौं । विदेशीले कुमारी प्रथा मान्दैनन्, हामीले पनि नमानौं । विदेशीले गुफा प्रथा मान्दनैन हामीले पनि नमानौं ।

विदेशीले तल्लो र उपल्लो भेद जनाउनेगरि जातीय छुवाछुत मान्दैनन् हामीले पनि नमानौं । विदेशीले बोक्सिलाई मान्दैनन् हामीले पनि नमानौं । हैप्पी न्यू यियर २०२१ र बर्थडे सेलिब्रेट गर्दैमा कोही पनि सभ्य र वैज्ञानिक भइदैन ।

सभ्य मान्छे बन्नु छ भने आफ्ना रुढिवादी कुसंस्कार, कुरीतिहरु हटाई आफ्ना सवै कल्याणकारी रीति, कला संस्कृतिको जगेर्ना गर्नुपर्दछ । जनवरी १ तारिकदेखि नयाँ वर्ष प्रारम्भ हुन्छ । नयाँ कैलेन्डर प्रयोगमा ल्याइन्छ । हामीले जुन कैलेन्डरलाई आधार मानेर आफ्ना जीवनका सबै महत्वपूर्ण कार्यक्रमहरुको रुपरेखा तयार पार्छौं, व्यक्तिगत र संस्थागत गतिविधिहरु सम्पादन गर्छौं त्यसलाई ग्रेगोरियन कैलेन्डर भनिन्छ ।

के हो ग्रेगोरियन कैलेन्डर ?

सबैलाई अवगत नै छ ई.पूर्व. र ई.वि. बारे धेरै बोल्न पर्दैन । ०१/जनवरी/०००१, यो दिन ईशामसी जन्मेको दिन मानिन्छ । यो भन्दा पहिले ईशा पूर्व र यो भन्दा पछि ईसवी भनिन्छ ।

हाम्रो विक्रम सम्वत यो जनवरी ०१ गते मानिने नयाँ वर्ष भन्दा ५७ वर्ष पुरानो छ । यो विक्रम सम्वत नेपालका लिच्छवि वंशका राजा धर्मपाल भूमिबर्मा विक्रम आदित्यले चलाएको कुरा इतिहासबाट प्रस्ट हुन्छ । तर भारतले जिद्दी गर्दै आएको छ कि भारतका राजा चन्द्र गुप्त विक्रम आदित्यले विक्रम सम्वत लागू गरेका थिए । यो कुरा इतिहासकारलाई छोडौं ।

भारतमा पनि १७५२ भन्दा पहिले विक्रम सम्वत नै लागू हुन्थ्यो । जब इस्ट इंडिया कंपनी भारतमा आयो त्यसपछि मात्र यो विदेशी कैलेन्डर लागू भयो र अंग्रेजहरुले भारतलाई छोडेर गएपछि पनि भारतमा विदेश कैलेन्डरले नै निरन्तरता पायो ।
पहिले सबै देशमा विक्रम संवत नै चल्थ्यो । त्यसको प्रमाण हेर्दा हामी पहिले पाला थाप्ने गथ्र्यौं । बिहान सूर्योदयसँग पाला थापिने चलन थियो । लगभग बिहानको ५ः३० देखि ६ बजेसम्म सूर्याेदय हुन्छ । नेपालमा बिहान हुँदा वेलायत (ब्रिटेन) मा रातिको १२ः०० बजेको हुन्छ ।

त्यसैले हाम्रोमा सूर्याेदय पछि एक दिन मान्छौं भने ब्रिटिशले रातिको १२ः०० बजे पछि अर्काे दिन मान्छन् । अरु देशले पनि त्यही ब्रिटिश संस्कृतिको अनुसरण गर्दै आए र रातिको १२ः०० बजे पछि दिन फेरिएको मान्छन् ।

यो अहिलेको विदेशी कैलेन्डर दुई ओटा कैलेन्डरलाई मिलाएर बनाएको पाइन्छ । पहिलो रोमका राजा जुलियस सिजरले बनाएको जुलियन कैलेन्डर र दोस्रो ग्रेगोरियन ।

यो दुवै कैलेन्डलाई मिलाउँदा एक अचम्मको कुरा भयो । सेप्टेम्बर १७५२ मा ११ दिन छैन ०२ तारिकबाट सिधै १४ तारिक आउँछ ।

जुलियन कैलेन्डरका अनुसार नयाँ वर्ष अप्रिल ०१ गते मान्थे तर ग्रेगोरियन कैलेन्डरमा जनवरी ०१ तारिकलाई नयाँ वर्ष मानिन्छ ।

पोप ग्रेगोरी – XIII ले आदेश दिइसकेका थिए कि अब जनवरी ०१ मा नयाँ वर्ष मान्नु पर्छ । तर जनताहरू सबै अप्रिल ०१ तारिकका दिन नयाँ वर्ष मान्थे ।

त्यसका लागि राजाले जनतालाई चेतावनी यो दिएका थिए कि जो कोही पनि अप्रिल एक तारिकका दिन नयाँ वर्ष मनाउने छ त्यो मूर्ख हुने छ ।

त्यसैले अप्रिल ०१ तारिकका दिन ग्रेगोरियन कैलेन्डर अनुसार नै मूर्ख दिवस अर्थात् अप्रिल फुल मनाइन्छ । ग्रेगोरियन क्यालेन्डर यति कम्प्लेक्स हुँदा हुँदै पनि विश्वले मानी रहेको छ । ग्रेगोरियन कैलेन्डर विक्रम सम्वत कैलेन्डरलाई संश्लेषण गरेर बनाइएको मानिन्छ ।

त्यसैले हामीले उनीहरुको मिति तिथिको अनुसरण गर्नु त्यति उचित लाग्दैन । विदेशी नयाँ वर्षमा के नयाँ देखिन्छ केही पनि नयाँ छैन ।

फेरि नयाँ वर्ष कसरी ?
वैशाखमा हेर्नुहोस् सबैतिर नयाँ नै नयाँ हुन्छ । शरद ऋतु विदा भएर वसन्त ऋतु आउँछ । बोट बिरुवाले नयाँ पात फेर्छन् । चराचुरुङ्गीले आफ्नो वासस्थान फेर्छन् । मानिसले आफ्नो लुगा फेर्छन् र जनावरले आफ्नो रंग फेर्छन् । यो पो नयाँ वर्ष !

१५८२ सालको अक्टोबर महिनादेखि पोप ग्रेगोरी-XIII ले जुन कैलेन्डर शुरु गरे त्यो नै ग्रेगोरियन कैलेन्डर हो । विक्रम सम्वत् कैलेन्डर अनुसार देखापर्ने जुन प्राकृतिक परिवर्तनको दुश्य देख्न पाइन्छ त्यो डिसेम्बर सकिएपछि जनवरी महिनाको पहिलो तारिकमा देख्न पाइदैन । यस पाली जनवरी १ तारिक विक्रम सम्वत् २०७७ को पुस महिनामा १७ गते परेको छ । यो महिना वैशाख महिना जस्तो प्राकृतिक परिवर्तनको खानी भएको महिना होइन । भनेपछि जनवरी १ लाई नयाँ वर्ष भन्नु र यसलाई उत्सवका रुपमा मनाउनु कत्तिको वैज्ञानिक छ आफैमा एक विचारणीय कुरा हो ।

विश्वका विभिन्न देशहरुमा येतिबेला अत्यन्तै चिसो मौसम छ । तापमान माइनस डिग्रीमा झेरको छ । हिमाली क्षेत्रमा वर्फबारीको अवस्था छ । तर बैशाख महिना यसको तुलनामा नितान्त फरक महिना हो जहाँ हर एक कुरामा नयाँपनको आभास हुन्छ । तसर्थ विक्रम सम्वत् अनुसार वैशाख महिनामा नयाँ वर्षलाई उत्सव स्वरुप मनाउनु सर्वदा उचित हो ।

नबुझी कसैको पनि अनुसरण नगरौं ।
आफ्नो कला संस्कृति रीतिरिवाजको जगेर्ना गरौं ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg