नेपालमा पनि नयाँ प्रकृतिको भाइरस फैलिने जोखिम उच्च, सतर्क बनौं

19

काठमाडौं । कोरोनाभाइरसविरुद्धको खोप विश्वबजारमा भित्रिँदै गर्दा नयाँ भनिएको भाइरसको संक्रमण एकपछि अर्को मुलुकमा फैलन थालेको छ । वेलायतबाट शुरु भएको यो भाइरस मंगलबारसम्म स्वीडेन, नेदरलैण्ड्स, कनाडा, जापान, इजराइल, फ्रान्स, अमेरिका, इटली, स्पेन, डेनमार्क, दक्षिणी अफ्रिका, नाइजेरिया लगायतका  १३ देशमा फैलिइसकेको छ ।

बेलायतबाट नेपाल आएका पाँचजनामा सोमबार कोरोनाभाइरसको संक्रमण देखियो । तर, यो नयाँ प्रकृतिको भाइरस हो–होइन भन्ने पुष्टि भइनसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

नयाँ भाइरस कोभिड–१९ कै जेनेरेसन : डब्लूएचओ 
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नयाँ भाइरसलाई कोभिड–१९ कै परिमार्जित प्रकृतिको भाइरसको रुपमा परिभाषित गरेको छ । डिसेम्बरको पहिलो साताबाट सुरु भएको भाइरसबारे संगठनले २२ डिसेम्बरमा विज्ञप्ति जारी गर्दै नयाँ प्रकृतिको भाइरस फेला परेको पुष्टि गरेको थियो । जसको नाम सार्स कोभ २ दिइएको छ । यो भाइरसलाई सार्स कोभ २ भीयूआई २०२०–१२–०१ (सन् २०२० को १२औँ महिनामा देखिएको भाइरसको भेरियन्ट १) शीर्षकमा अनुसन्धान गरिरहेको विश्व स्वास्थ्य संगठनको विज्ञप्तिमा जनाइएको छ ।

नयाँ भाइरस अर्थात् भेरियन्ट १ कोभिड–१९ को तुलनामा धेरै छिटो फैलने संगठनले भाइरस पुष्टि गरेकै समयमा जनाएको थियो । दक्षिण पूर्वी इंग्ल्यान्डमा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनमा ६० वर्षमाथिका अधिकांश कोरोना संक्रमितमा भेरियन्ट १ देखिएको थियो ।

अष्ट्रेलिया, आइल्यान्ड, डेनमार्क, इटाली र नेदरल्यान्ड्समा यसको संक्रमण धेरै देखिएको भए पनि विश्वका सबै देशलाई रोकथामको तयारीमा जुट्न डब्लूएचओले आह्वान गरेको छ ।

कसरी पत्ता लगाउने भेरियन्ट १ ? 
विश्व स्वास्थ्य संगठनले भेरियन्ट १ को संक्रमण पत्ता लगाउन स्पाइक जिन पत्ता लगाउनसक्ने किट प्रयोग गर्न सुझाएको छ । स्पाइक जिन भनेको भाइरसको सर्ने गति हो । अर्थात् कति छिटो एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ भन्ने कुरा स्पाइक जिनमा निर्भर गर्दछ । यो परीक्षण सामान्य पीसीआर किटबाट सम्भव हुँदैन । त्यसका लागि पीसीआरपछि पनि जिन सिक्वेन्सिङ गर्न संगठनले सुझाएको छ ।

नेपालमा जिन सिक्वेन्सिङ कति सम्भव ?
जिन सिक्वेन्सिङ पीसीआरसँगै विशेष रोगको पहिचानका लागि गरिने परीक्षण हो । भेरियन्ट १ को परीक्षणका लागि पीसीआर गरिसकेपछि जिन सिक्वेन्सिङ गरेर थप रोगको वर्गीकरण गर्न सकिन्छ ।

नेपालमा हालसम्म जिन सिक्वेन्सिङ परीक्षणको अभ्यास नभएको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले बताइन् । भेरियन्ट १ पहिचानका लागि जिन सिक्वेन्सिङ परीक्षण गर्नुपरेमा मन्त्रालयले विशेष किटको व्यवस्था गर्नुपर्ने हुन्छ । सुरुआती चरणमा कोभिड–१९ को परीक्षणका लागि पनि नमुना हङकङ पठाइएको थियो ।

भेरियन्ट १ किन खतरनाक ? 
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अधिकांश सरुवा रोगहरुको भाइरस निश्चित चरणमा पुगेपछि म्युटेसन हुने गर्दछ । अर्थात् भाइरसले रुप परिवर्तन गर्दै जान्छ । यस्तो प्रकृतिका भाइरसहरु अत्यन्तै तीव्र गतिमा व्यक्तिको शरीरमा प्रवेश गर्छन् । यसरी तीव्र स्पाइक जिन भएका भाइरस एक व्यक्तिबाट अर्कोमा सर्दा यसको असर गर्ने क्षमता ७० प्रतिशतसम्म वृद्धि हुन्छ । अर्थात् जति धेरै मनिसमा भाइरस फैलियो, त्यति नै भाइरसले गर्ने असर बढ्दै जान्छ । यसैअनुसार नयाँ प्रकृतिको भाइरसको असर अहिले देखिएका मुलुकहरुमा उच्च रहेको आँकलन गर्न सकिन्छ ।

डब्लुएचओ ले भौतिक दुरी, सेनिटाइजर र मास्कको प्रयोगलाई थप गम्भिरतापूर्वक लिनुपर्ने बताउँदै यस भाइरसको प्रभावलाई न्यूनिकरण गर्न सबै देशका सरकारले पूर्वतयारी गर्नुपर्ने आवश्यकता औँलाएको छ । रुघा खोकीको लक्षण देखा परेका विरामी आएमा स्वास्थ्यकर्मीहरुले सुरक्षाका सबै मापदण्ड अपनाएरै उपचारमा संलग्न हुन समेत विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको छ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg