मिलन मात्रैको आशा के गर्नु जिन्दगी विदाई पनि हो

22

मिलन मात्रैको आशा के गर्नु जिन्दगी विदाई पनि हो

संधैलाई मुस्कान होइन रहेछ जिन्दगी रुवाई पनि हो
केही दिन आफ्नै लागेर के भो जिन्दगी पराई पनि हो
सांस नरोकिदासम्मको सफर जिन्दगी हिंडाई पनि हो
मिलन मात्रैको आशा के गर्नु जिन्दगी विदाई पनि हो

जिन्दगीको सफरमा मानिस यहाँ त जति पनि भेटिन्छ
कोही कोहीलाई भुल्न सकिन्न अरु सबैको याद मेटिन्छ
भुल्न खोज्दा भुल्नै नसकिने किन कोही त्यस्तो हुन्छ
बिछोड हुन्छ थाहा छ एकदिन फेरि यो मन किन रुन्छ
कसैलाई सम्झि सम्झि के रुनु जिन्दगी बुझाइ पनि हो

कर्मले मिल्छ मनलाई शान्ति मुटु कर्मैले भतभती पोल्छ
भत्किन्छ शरिररुपी यो घर अनि मृत्युले रहस्य खोल्छ
कालचक्रसँगै हेर घट्दै छ जीवनको एक एक पलछिन
कसैले भन्छन् मृत्यु नहोस् कोही भन्छन् जिउन कठिन
हिमाल पहाड मात्रै त होइन जिन्दगी तराई पनि हो

खै के पाउनलाई गर्दछन् मान्छे छल कपट र बैमानी
हर एक कर्मको हिसाब हुन्छ गर्दैछन् स्रष्टाले निगरानी
कसैले देखेको छैन सोच्दै पाप गर्दै छौ खुब लुकेर
अहंकारको बाटो हिंड्न छोड केही बिग्रिदैन नि झुकेर
झूटको सहारा लिन नखोज जिन्दगी सच्चाई पनि हो

शब्द भावः राजु विके (२०७७ पुस २३ गते)

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg