रहेसम्म भ्रष्ट र भ्रष्टाचार असम्भव छ देशको उद्धार (मर्मस्पर्शी लेख)

256

नेपालको नेतृत्व चित्त बुझ्दो र प्रभावकारी कामगर्ने हैसियतको कहिल्यै भएन । नेपालका प्रशासकहरु धेरै भए । नेपालमा मूलकाजी, देवानकाजी, चौतारिया, राजप्रतिनिधि, मुख्तियारी हुँदै प्रधानमन्त्री पद कायम गरिएको अपुष्ट इतिहास भए पनि नेपाल एकीकरणपूर्व दामोदर पाण्डे र नेपाल एकीकरणपछि काजी अभिमान सिंह बस्नेतले मुख्य प्रशासक प्रशासक मूलकाजीको उपाधिले कार्यसम्पादन गरेको पाइन्छ । नेपाल एकीकरणपछि सन् १७६८ देखि १७९९ सम्म मूलकाजीहरु, देवानकाजी, चौतारिया, राजप्रतिनिधि, मुख्तियारीहरु नै प्रधानमन्त्री सरह मानिन्थे जसमा अभिमान सिंह बस्न्यात, सर्वजीत राना मगर, वंशराज पाँडे, स्वरुप सिंह कार्की, बहादुर शाह चौतारिया, कीर्तिमान सिँह बस्न्यात, बख्तावर सिंह बस्न्यात आदि पर्दछन् ।

दामोदर पाण्डेले वि.सं. १८५९ देखि १८६० चैत ३ सम्म मुख्तियारीको रुपमा मुलुकको प्रशासनिक नेतृत्व सम्हालेका थिए । रणबहादुर शाह राजा भएता पनि उनले विसं १८६० देखि १८६३ बैशाखसम्म मुख्तियारी पद सम्हालेका थिए । भिमसेन थापा विसं १८६३ वैशाखदेखि १८८९ सम्म मुखित्यारी थिए । उनैलाई मुलुकको पहिलो प्रधानमन्त्रीका रुपमा चिनिन्छ । त्यसैगरी पण्डित रंगनाथ पौडेल (दोस्रो), पुस्कर शाह (तेस्रो), रणजंग पाण्डे(विसं १८९६ देखि १८९७–चौथो), चौारिया पत्तेजंग शाह( १८९७ देखि १९००–पाँचौं) र माथवर सिँह थापा(विसं १९०० देखि १९०२ सम्म–छैठौं) हुन् । माथवर सिंहलाई ६औं प्रधानमन्त्री मानिन्छ । माथवर सिंह पश्चात् चौतरिया पत्तेजंग शाहले पुनः एक वर्ष मुख्तियारी पद सम्हाले । त्यसपछि देशको कार्यकारी प्रशासनिक अधिकार राणा परिवारमा गएको पाइन्छ । विसं १९०३ देखि २००७ सम्म नेपालमा जहानियाँ राणा शासन व्यवस्था थियो । राणाकालीन प्रधानमन्त्रीहरुको सुची यस प्रकार छ :

७. जङ्गबहादुर कुँवर राणा (वि.सं. १९०३–१९१३, वि.सं. १९१४–१९३३)
८. बमबहादुर कुँवर राणा (वि.सं. १९१३–१९१४)
कृष्णबहादुर कुँवर राणाले १९१४ देखि १९१४ कै केही महिना कार्यकारी अधिकार पाएको पाइन्छ । तर, उनलाई प्रधामन्त्रीको रुपमा लिइएको देखिँदैन ।

केही इतिहासकारले उनलाई पनि प्रधानमन्त्रीको सूचीमा राखेका छन् । उनिपछि वि.सं. १९१४ देखि १९३३ सम्म पुनः जङ्गबहादुर कुँवर राणानै प्रधानमन्त्री भएको पाइन्छ ।
९. रणोदीपसिंह कुँवर राणा (वि.सं. १९३३–१९४२)
१०. वीर शम्शेर जङ्गबहादुर राणा (वि.सं. १९४२–१९५७)
११. देव शम्शेर जङ्गबहादुर राणा (वि.सं १९५७ देखि १९५८)
१२. चन्द्र शम्शेर जङ्गबहादुर राणा (वि.सं १९५८ देखि १९८६)
१३. भिम शमशेर जङ्गबहादुर राणा (वि.सं १९८६ देखि १९८९)
१४. जुद्ध शम्शेर जङ्गबहादुर राणा (वि.सं १९८९ देखि २००२ सम्म)
१५. पद्म शमशेर जङ्गबहादुर राणा (वि.सं २००२ देखि २००५ सम्म)
१६. मोहन शम्शेर जङ्गबहादुर राणा वि.सं. २००४ देखि वि.सं.२००७ सम्म प्रधानमन्त्री बनेका थिए । यिनी राणा वंशका

अन्तिम प्रधानमन्त्री हुन् भने प्रजातन्त्र स्थापनापछिका पहिलो प्रधानमन्त्री पनि यिनै हुन् ।

प्रजातन्त्र स्थापनापश्चात्
२००७ सालमा प्रजातन्त्र स्थापना भयो । त्यसपछि २०१६ साल सम्मका प्रधानमन्त्रीहरुको नाम र कार्यकाल यस्तो छ:
मोहन शम्शेर जङ्गबहादुर राणानै २००७ फागुन ७ गतेदेखि वि.सं.२००८ कार्तिक २९ गतेसम्म राण पक्षबाट प्रधानमन्त्री बनेका थिए ।
१७. मातृका प्रसाद कोइराला वि.सं. २००८ मंसिर १ देखि २००९ श्रावण २६ सम्म र २००८– २००९, २०१०–२०११ सम्म नेपालको प्रधानमन्त्री बनेका थिए ।
यसपछि राजा त्रिभुवनले २००९ साल साउन ३० गतेदेखि २०१० असार २ गतेसम्म निरंकुशतन्त्र लागू गरेका थिए ।
त्यसपछि पुनः वि.सं. २०१० साल असार २ गतेदेखि नै २०११ चैत्र ३१ गतेसम्म कांग्रेसका मातृकाप्रसाद प्रधानमन्त्री भएको पाइन्छ । त्यसपछि राजा महेन्द्रले २०११ चैत्र ३१ गतेदेखि २०१२ साल माघ १२ गतेसम्म पुनः निरंकुशता लागु गरेका थिए ।
१८. टंकप्रसाद आचार्य वि.सं. २०१२ माघ १२ गतेदेखि वि.सं. २०१४ असार ३१ नेपाल प्रजापरिषद् पार्टीबाट प्रधानमन्त्री बनेका थिए ।
१९. डा. के. आई. सिंह वि.सं. २०१४ श्रावण ११ गतेदेखि २०१४ कार्तिक २९ सम्म संयुक्त लोकतान्त्रिक पार्टीबाट प्रधानमन्त्री बनेका थिए ।
२०. सुवर्ण शम्शेर राणा वि.सं २०१४ देखि २०१६ सम्म मन्त्री परिषद्का अध्यक्ष बनेका थिए ।
२१. विश्वेश्वर प्रसाद कोइराला वि.सं. २०१६–२०१७ सम्म मुलुकको प्रधानमन्त्री बनेका थिए ।

पञ्चायतकाल
२२. डाक्टर तुल्सी गिरी अध्यक्ष मन्त्रिपरिषद्, वि.सं. २०१९–२०२१ सम्म अनि वि।सं। २०३२–२०३४, वि.सं २०१९ चैत्र २० देति वि.सं २०२० पुष ८ सम्म प्रधानमन्त्री बनेका थिए ।
२३. सूर्य बहादुर थापा अध्यक्ष मन्त्रिपरिषद्, वि.सं. २०२१– २०२३ सम्म, प्रधानमन्त्री वि.सं. २०२३ – २०२५, वि.सं. २०३– २०४०, वि.सं. २०५४–२०५४, वि.सं. २०६०–२०६१
२४. कर्तिनिधी विष्ट वि.सं.२०२५–२०२६, वि.सं.२०२८–२०३०, वि.सं.२०३४–२०३६ सम्म मुलुकको प्रधानमन्त्री बनेका थिए ।
२५. नगेन्द्रप्रसाद रिजाल वि.सं.२०३०– २०३२, वि.सं. २०४२ को केही महिना मुलुकको प्रधानमन्त्री बने ।
२६. लोकेन्द्रबहादुर चन्द वि.स.२०४०–२०४२, वि.सं. २०४६–२०४७, वि.सं. २०५३–२०५४, वि.सं. २०५९–२०६० सम्म मुलुकको प्रधानमन्त्री बने ।
२७. मरिचमान सिंह श्रेष्ठ वि.सं. २०४३–२०४६ सम्म प्रधानमन्त्री बनेका थिए ।

प्रजातन्त्र पुनर्स्थापनापश्चात्
२८. कृष्णप्रसाद भट्टराई वि.सं. २०४७ – २०४८, वि.सं. २०५६ – २०५६, नेपाली कांग्रेसबाट प्रधानमन्त्री बनेका थिए ।
२९. गिरिजाप्रसाद कोइराला वि.सं.२०४८–२०५१, वि.सं. २०५४–२०५५, वि.सं. २०५५–२०५६, वि.सं. २०५६ – २०५८, वि.सं. २०६३ –२०६५ सम्म नेपाली कांग्रेसबाट प्रधानमन्त्री बनेका थिए ।
३०. मनमोहन अधिकारी वि.सं. २०५१–२०५२सम्म नौ महिना नेपालको प्रधानमन्त्री बने । उनी नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री हुन् ।
३१. शेरबहादुर देउवा वि.सं. २०५२ – २०५३, वि.सं. २०५८ – २०५९, वि.सं. २०६१ – २०६१ वि.सं. २०७४।०२।२४– २०७४।११।०३ नेपाली कांग्रेबाटै प्रधानमन्त्री बने ।

गणतन्त्र स्थापनापश्चातका प्रधानमन्त्रीहरु
३२. पुष्पकमल दाहाल ‘प्रचण्ड’ वि.सं.२०६५–२०६६, वि.सं.२०७३।०४।१९ देखि २०७४।०२।२३ सम्म मुलुकको प्रधानमन्त्री बने ।
३३. माधवकुमार नेपाल वि.सं. २०६६।२।११ देखि २०६७।१०।२२ सम्म प्रधानमन्त्री बनेका थिए ।
३४. झलनाथ खनाल वि.सं. २०६७।१०।२३ देखि २०६८।५।११ सम्म प्रधानमन्त्री बने ।
३५. डा. बाबुराम भट्टराई वि.सं. २०६८।५।१२ देखि २०६९।११।३० सम्म प्रधानमन्त्री बने ।
३६. खिलराज रेग्मी वि.सं. २०६९।१२।१ देखि २०७०।१०।२८ सम्म मन्त्रिपरिषद् अध्यक्ष भएका थिए ।
३७. सुशील कोइराला वि.सं. २०७०।१०।२८ देखि २०७२।६।२४ सम्म मुलुकको प्रधानमन्त्री भएका थिए ।
३८. केपी शर्मा ओली वि.सं. २०७२।६।२५ देखि २०७३।४।१९ सम्म प्रधानमन्त्री भएका उनी दोस्रो पटक २०७४।११।०३ देखि हालसम्म पनि प्रधानमन्त्री छन् ।

दामोदर पाण्डे, रणबहादुर शाह र कृष्ण बहादुर कुँवर राणालाई पनि केही इतिहासकारले प्रधानमन्त्रीकै सूचीमा रोखका छन् । यसरी हेर्दा वर्तमान प्रम ४१औं प्रम हुन् ।

इतिहासले एउटै व्यक्ति पटक–पटक प्रधानमन्त्री बनेको पुष्टि गर्दछ । राजनीतिक र अन्य विशिष्ट पृष्ठभूमि बोकेका व्यक्तिहरु मात्रै प्रधानमन्त्री भए । देश र नागरिकका लागि केही गर्नसक्ने आँट र क्षमता भएका सर्वसाधारण नेपाली जनता केहिल्यै प्रधानमन्त्री भएनन् । खाली आफ्ना निकटतम भरौटे, झोले कार्यकर्ता र आफन्त बाहेक कोही कतै केही पनि समृद्ध भएको देखिएन ।

सरकारको  भ्रष्टाचार गर्ने सुरुदेखिको नियत नै कायम हुँदै आयो । भ्रष्ट र भ्रष्टाचारलाई संरक्षण दिनु पनि भ्रष्टाचार नै हो ।प्रजातन्त्र होस् या गणतन्त्र दस वर्ष जनयुद्ध लडेको माओबादी होस् या लोकतन्त्रकोलागि लडेको भन्दै आउने काँग्रेस होस् वा गणतन्त्र र लोकतन्त्रका लागि सँघर्ष गरेकोे भन्दै बुरुक बुरुक उफ्रिने पूर्ब एमाले होस् या मधेशबादी होस् सरकार बाहिर बस्दा सबैले यो गर्छम र उ गर्छम भन्दै माथिल्लो तहको जोश देखाउँछन् तर सरकारमा गए पछि आफ्ना भरौटेलाई भर्दाभर्दै ठिक्क हुन्छ ।

सरकारी कर्मचारीको रुपमा कुनै पोस्टमा लैजान होस् या बढुवा गर्दा होस् या सरुवा गर्दा यिनै नेताको गोडा मल्दै ब्रिफकेस बोक्ने र नेता, मन्त्री भेट्ने जतिसक्दो घुस खुवाएर आफुले रोजेको ठाउँ वा बढुवा हुने पद्धतिमा काम गरेका यी कर्मचारीले भ्रष्टाचार नगरेर कसले गर्छ ! उता बिकास योजना बजेट पार्ने मन्त्रीलाई पनि केही % दिनुपर्ने, कुन विभागबाट परेको बजेट हो विभागीय प्रमुखलाई पनि केही % दिनुपर्ने सिस्टम विकसित भएको यो मुलुकमा कसरी आउँछ त समृद्धि र खुशी ?
गाउँका स्थानीय सरकारदेखि माथिसम्म सबैलाई पाल्नुपर्ने ठेकेदारले अनि हामी जनता भन्छौं काम कमसल भयो ।

किन नहुने त काम कमसल ! सबैको गोजी भर्दाभर्दै काम त स्वतः कमसल हुन्छ नै । ठेकेदार पनि मानिस नै हो, ठेकेदारी उसको जीविकोपार्जनार्थ पेशा हो निशुल्क सेवा होइन क्यारे ! निकासा भएको बजेटबाट सबै भ्रष्टहरुलाई बाँड्दा बाँड्दै आफ्नो पक्षमा बचेको केही बजेटांशबाटै आफुसँगै आफ्ना श्रमिक कर्मचारीहरुलाई पनि धान्नै पर्याे । जनताको परिश्रम र पसिनाले तिरेको करबाट सृजित सरकारी ढुकुटीलाई सिनोको रुपमा देख्ने र त्यसैलाई लुछालुछ गर्ने मन्त्री र अधिकारीरुपी गिद्धहरुलै गर्दा ठेकेदारहरुले निश्चित समयमा निर्माण परियोजना सम्पन्न गर्न नसक्ने र बीचैमा छोडेर भाग्ने वा अलपत्र पार्ने भएको हो । इलाका प्रहरीदेखि भ्रष्टाचार निवारण वा निर्मूल गर्ने भनी ठुलो जिम्मेवारी बोकेको अख्तियार दुरुपयोग आयोगसम्म भ्रष्ट भएपछि कसरी हुन्छ बिकास !

हो, केही वर्ष पहिला केपी ओली प्रधानमन्त्री हुँदा सबैको आशाको केन्द्र बनेका थिए तर दोस्रो कर्यकालमा उनले सबैको मन खिन्न परिदिएका छन् । आफुले भ्रष्टाचार नगर्ने र गर्न नदिने घोषणा गर्दा होरैछ केही गर्लान् भन्ने भएको । तर आफ्नै धर्म पुत्र मानिएका बस्कोटालाई जोगाउने किसिम्को अभिव्यक्ति दिंदा अलि नपताउँदो देखियो । अब कसको आश गर्ने त ? जुन जोगी आए पनि उही कानै चिरेको भन्ने उखान हालका काम चलाउ सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई पनि थाहा छ । काम गर्न दिएनन् भन्दै प्रतिनिधिसभा विघटन भइसक्यो, पार्टी पनि अलग सरह भयो अब त हिम्मत भए २०४६ यताका प्रधानमन्त्री, मन्त्रीहरूलाई छानबिन गरी कटघरामा उभ्याउ, सँघीयता खारेज गर, यो जनतालाई घाडो भएको छ । तिमी जस्ता दुई चारजना नेतालै मन्त्री र मुख्यमन्त्री खान मात्र हो । हिन्दु राष्ट्र घोषण गर, प्रत्यक्ष कार्यकारी राष्ट्रपति भनी जनताको आगाडि आउ अनि पताउलान् जनताले । होइन भने तिमी पनि मात्र आस हो हुने केही होइन । अब काम गर्न कसैले रोकेको छैन । यो काम गर्न समय चाहिँदैन । काम गरेर देखाउ इतिहासले हिरो सम्झने छ ।

अब अरु नेताको त नाम पनि लिनु पर्दैन । युवा नेताको त झन् के कुरा गर्ने ! युवाले केही गर्लान् भनी युवा नेता मन्त्री बन्ने, प्रतिनिधि बन्ने लाइन लाग्यो तर सबैभन्दा भ्रष्ट युवा नै भए । मन्त्री त टाढै हो, स्थानीय तहमा वडा अध्यक्ष, वडा सदस्य युवा–युवा भन्दै ३ हात उफ्रिनुको कुनै औचित्य रहेन । उनीहरु पनि भ्रष्टाचारमा लिप्त भए । अब कसको आस गर्ने त ? बरु बुढा नेताहरुले हामी मर्ने बेला आयो भ्रष्टाचार त गर्न हुँदैन भन्दै उद्घाष त गर्छन् ! युवा नेतामा त्यो पनि भएन । नेपालमा हाल देखा परेको भ्रष्टाचार युवामा झन् बेशी देखियो । साच्चिकै अब हामी युवा–युवा भन्नुको कुनै औचित्य नै बाँकी रहेन ।
नेपाली काँग्रेस, माओवादी, एमाले, जसपा कुनै पनि अछुतो रहेन । कसैको आश गर्ने स्थिति रहेन ।

अब अहिले भर्खर पलाउँदै गरेका कहिले फुट्ने कहिले जुट्ने साझा विबेकशील….. पार्टी पनि उही बारीको मुला नै हुन् भन्ने त साझा पार्टीका संयोजकले एमसीसी पास गर्नुपर्छ भन्ने अभिव्यक्ति दिंदा नै चिनाइ सकेको छ । जनताले अब कसको आस गर्ने त ! अब चुनाव भनेर भोट माग्नेलाई होइन, अब भ्रष्टाचारबाट दिक्क परेका हामी देशप्रेमीहरु आ–आफ्नो गाउँ ठाउँबाट स्वतन्त्र उम्मेदवार उठ्नु पर्छ । भ्रष्टाचार विरुद्ध, गलत कामको बिरुद्ध उभिन सके मात्र जीर्णशीर्ण भएको मुलुक सुधार्न सकिन्छ, बचाउन सकिन्छ भन्ने मेरो व्यक्तिगत अवधारणा हो । गाउँ हुँदै, वडा, नगरपालिका, जिल्ला–जिल्ला हुँदै देश नै सुधार्ने माध्यम गाउँ र गाउँबासी नै हुन् , सर्वसाधारण नै हुन् । कुनै पार्टीको आश गरेर भएन अब आफै लागौं । आजैबाट लागौं, अहिलेदेखि लागौं । अवगत भएकै कुरा हो मृत्युले हामीलाई विलीन बनाउने छ तर जीवन छँदै मुलुक बचाउने, देश समृद्ध बनाउने र आम नागरिकलाई खुशी नै खुशीले हँसाउने मूल जिम्मेवारी हाम्रै हो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg