अब देश बचाउने जिम्मा नागरिकको

343

राजनीतिलाई नीतिमा सबैभन्दा प्रमुख नीति पनि भनिन्छ । विश्वमा सबै राष्ट्रले राजनीतिलाई नै प्रमुख मानेर देशका हरेक पक्षको विकासमा त्यहाँको राजनीतिक प्रणाली र राजनीतिक संस्कारलाई अँगाल्छन् । व्यक्ति या समूहको राजनीति र राजनीतिक वस्तुप्रतिको दृष्टिकोण नै उसको राजनीतिक संस्कार हो ।

नेपालको वर्तमान राजनीतिलाई हेर्ने हो भने मान्छेहरु राजनीतिलाई घृणाको दृष्टिले हेर्दछन्, अझ भनौँ राजनीति एक फोहोरी खेल हो भन्छन् । उनीहरु राजनीतिबारे पटक्कै चासो राख्दैनन् । यस्तो किन भयो ? सहज उत्तरका रुपमा भन्दा हाम्रा नेताहरुले असल तथा कुशल राजनीतिक संस्कारको राजनीति गरेनन् र जनतालाई सधैँ धोकामात्रै दिए । कुनै व्यक्तिको आफ्नो मुलुकमा प्रचलित राजनीतिक प्रणालीप्रति सहमति या लगाव हुन्छ भने कुनै व्यक्तिको त्यसप्रतिको दृष्टिकोण असहमत, भिन्न र अलगावपूर्ण हुन्छ । कसैले समाजवादी राजनीतिक प्रणाली, कसैले पुँजीवादी, कसैले संसदीय त कसैले साम्यवादीजस्ता विभिन्न किसिमका राजनीतिक प्रणाली रूचाउँछन् ।

वास्तवमा व्यक्तित्व या समूहको उपयुक्त दृष्टिकोण वा मानसिक अवस्था नै उसको राजनीतिक संस्कार हो । राजनीतिक संस्कार राजनीतिक प्रणालीको सामूहिक इतिहास र त्यसका सदस्यहरुको जीवन इतिहासको उपज हो । त्यसैले, यो सार्वजनिक घटना र व्यक्तित्व अनुभव दुवैमा समानरुपले निहित रहन्छ । समाजको सन्दर्भमा संस्कृतिको जुन स्थान छ राजनीतिक संस्कारको पनि त्यही स्थान छ ।

नेपालमा राजनीतिलाई गलत तरिकाबाट प्रयोग गरिएको छ । यसरी राजनीतिको खोल ओढाएर सबैतिरबाट नेता तथा कार्यकर्ताले आफ्नो निजी स्वार्थ पूरा गर्ने अनि जनतालाई सधैँभरि समस्या थुपार्दै जाने नेपालका राजनीतिक दलहरुको नियति प्रस्टरुपमा देखियो । यहाँ राजनीतिलाई समाजमा यसरी पु¥याइएको छ कि अन्यायमा परेकाहरुलाई न्याय दिलाउन पनि कठिनाइ बेहोर्नु परेको पीडा यथार्थपरक छ ।

नेपाली नागरिकलाई सामान्य काम गर्न पनि राजनीतिमा नजोडीकन सुख नै छैन, कतै न कतै खराब राजनीतिक नेतृत्वको पछाडि लाग्नु नै पर्ने बाध्यता रहेको छ । नेपाली नागरिकलाई जन्मिएदेखि मरून्जेलसम्म नै राजनीतिक रङ लगाउनुपर्ने बाध्यता बनाइएको छ । यसरी सबै नागरिकलाई राजनीतिक रङ लगाएर आफूहरु बाँचुन्जेलसम्म सत्तामा रहिरहने रणनीति नेताहरुको छ ।

एउटा गाउँमा टोल सुधार समिति बनाउँदा कतै न कतै राजनीतिक रङ नदलेको मानिस छ भने त्यसलाई समाजमा स्वीकार गर्न नसक्ने बाध्यात्मक अवस्था बनाइएको छ । स्कुल व्यवस्थापन समितिमा राजनीतिक दलको बिल्ला लगाएको हुनैपर्छ । खानेपानीको समितिमा राजनीतिक दलमा आबद्ध भएको हुनुपर्ने, सामुदायिक वन समितिमा यो दलको प्यानल नै भएको सुन्नुपर्ने, जनताको दैनिकीसँग जोडिएका क्षेत्रहरुमा पनि राजनीतिक दलहरुबाहेक अरु टिक्न नसक्ने ! यसरी हरेक नागरिकलाई कुसंस्कारको राजनीतिमा जबर्जस्ती लाग्नुपर्ने बाध्यताको वातावरण बनाउन सफलता प्राप्त गरेका छन् ।

सरकारी संस्थानको प्रमुखको नियुक्ति, राजदूतको नियुक्ति, प्रमुख जिल्ला अधिकारी, न्यायालयमा नियुक्ति, सामान्य कर्मचारीको सरूवाबढुवा र नागरिकको दैनिकीसँग जोडिएका सबै क्षेत्रमा राजनीति हाबी छ । हाम्रो देशमा सक्षम व्यक्ति बनेर हैन राजनीतिक दलको सदस्य बनेर हुने नियुक्तिले कस्तो देश विकास होला र नागरिकले कसरी राहत पाउलान् ? राम्रा स्कुल÷कलेजमा पढाउनलाई मेरो मान्छे यो दलको नेता हो भन्नुपर्ने वा नेताले नै मेरो मान्छे हो, राम्रोसँग पढाइदिनू भन्नुपर्ने कस्तो अवस्था हो हाम्रो, जब कि कुनै स्कुल÷कलेजमा नै यो दल र त्यो दलमा विभाजन गरिएको छ । के स्वतन्त्र नागरिक बनेर स्कुल÷कलेजमा पढ्न पाउनु नागरिकको अधिकार हैन ? बिरामी परेर अस्पतालमा उपचारका लागि जाँदा पनि नेताले उहाँ मेरो मान्छे हो, राम्रोसँग उपचार गरिदिनुस् भनिदिनुपर्ने वा अस्पतालमा सुविधाका लागि नेतालाई नागरिकले गुहार्नुपर्ने बाध्यता कहिलेसम्म रहने हो ? स्वतन्त्र नागरिकलाई अस्पतालमा गएर राजनीतिक दलको रङ दलिएका नागरिकसरहको सुविधा नहुने व्यवस्था छ कि ?

स्कुल÷कलेजमा राजनीति, अस्पतालमा राजनीति, मालपोतमा राजनीति, यातायातमा राजनीति, वैदेशिक रोजगारमा राजनीति, लोकसेवामा राजनीति, अदालतमा राजनीति, प्रशासनमा राजनीति, स्वरोजगारमा राजनीति र मानिस जन्मिएर नमरून्जेलसम्म आवश्यकता पर्ने हरेक क्षेत्रमा राजनीति, अनि कसरी आमनागरिक स्वतन्त्रतापूर्वक आफ्नो दैनिकीलाई सहजीकरण गर्न सक्ने अवस्थामा रहन्छन् ?

आज विश्वका जुनसुकै मुलुक समृद्ध छन् ती सबै कुनै न कुनै राजनीतिक संस्कारसँग आबद्ध छन् र सरकारका सबै अङ्ग बिनाहस्तक्षेप एउटा प्रणालीमा आधारित रहेर चलेका छन् । जति गरिब राष्ट्रहरु छन् ती देशहरु उचित संस्कारको अभावमा कुनै पनि व्यवस्थाको अभ्यासमै व्यस्त छन्, चाहे त्यो प्रजातान्त्रिक होस् वा संसदीय होस् वा अन्य कुनै ।

जबसम्म राजनीतिक दलहरुमा राम्रो गर्नका लागि प्रतिस्पर्धा हुँदैन तबसम्म हाम्रो देशको विकास हुनेछैन । राजनीतिलाई नेता तथा कार्यकर्ताले मात्र बिगारेका हैनन्, कतै न कतै हामी नागरिक पनि त्यसमा दोषी छौँ । त्यसैले, बिग्रेको राजनीतिक संस्कारलाई सुधार्नु हामी नागरिकको ठूलो जिम्मेवारी रहन्छ । जबसम्म हामी नागरिक स्वतन्त्र रहँदैनौँ तबसम्म सुधारिएको राजनीतिको विकास हुन सक्दैन । अब आमनागरिकले राजनीतिक खोल लगाउने हैन, स्वतन्त्र तरिकाले स्वच्छ छवि भएका जनताको काममा निरन्तर र स्वतन्त्र ढङ्गले लागेका व्यक्ति वा नेतालाई मात्र छनोट गर्न सक्यौँ भनेमात्रै परिवर्तनको सम्भावना रहन्छ । विश्वका विकसित मुलुकमा आमनागरिकहरु स्वतन्त्र हुन्छन्, त्यसैले हरेकपटक नयाँ नेतृत्व छनोट गर्दछन् । तर, हामी दशकौँदेखि उही व्यक्ति र दललाई मात्र नेतृत्वमा पु¥याउँदै आएका छौँ । आज काम गर्न नसक्नेले भोलि कसरी गर्न सक्ला ?

राजनीतिक दलदलमा फसेको हाम्रो देशलाई त्यो दलदलबाट निकाल्नु हामी आमनागरिकको महत्वपूर्ण भूमिका रहेको हुन्छ । त्यसैले, अब आमनागरिकले आफ्नो बुद्धिमत्ता प्रयोग गरी खराब राजनीतिक दलदलबाट बाहिरिनुपर्ने जिम्मेवारी आएको छ । त्यसैले, अब हाम्रो डुब्नै लागेको
देशलाई जोगाउन सबैले आआफ्नो ठाउँबाट पहल गरौँ । प्रबल सम्भावना रहेको हाम्रो देशमा असल नेतृत्वको खोजी गरौँ । पुराना पुस्तकलाई अध्ययन गरेर नयाँ पुस्तक लेख्नेतिर अग्रसर बनौँ । ###

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg