नेपाल बचाइदेउ सरकार नेपाल बचाइदेउ (गीत)

146

असफल देश होइन नेपाललाई सफल बनाइदेउ
नेपाललाई नि सगरमाथाको जस्तो ऊँचाइ देउ
रुने दुखी गरिबहरुलाई यसपाली त हँसाइदेउ
जनता बचाइदेउ सरकार जनता बचाइदेउ
नेपाल बचाइदेउ सरकार नेपाल बचाइदेउ
.
समृद्ध राष्ट्र कस्तो हुन्छ जनतालाई थाहै छैन
लाउन, खान, शान्ति, सम्मान पाए अरु चाहै छैन
देशकै सर्वाेच्च शक्ति जनता भिकारी जस्ता भए
अकालमै मर्छन् जनता यी दिनहरु कस्ता आए
भाग्यले पाएको पूर्ण आयु बाँच्ने आश जगाइदेउ
जनता बचाइदेउ सरकार जनता बचाइदेउ
नेपाल बचाइदेउ सरकार नेपाल बचाइदेउ
.
न रोजगार छ न पुर्खौली धन कसरी तिर्ने कर
लाखौं जनता पर्छन् विदेशी पेन्शनकै भर
आफ्नासँग आफ्नै देशमा बाँच्ने छ कति रहर
जानैपर्ने विदेश गएर आउँछ मर्यो भन्ने खबर
आफ्नै देशमा युवाहरुलाई बाँच्ने आधार जुटाइदेउ
जनता बचाइदेउ सरकार जनता बचाइदेउ
नेपाल बचाइदेउ सरकार नेपाल बचाइदेउ
.
भोक लाग्दा खाना छैन रोग लाग्दा छैन उपचार
जनताको छ यो हाल मन्त्रीहरु गर्छन् भ्रष्टाचार
राजनीति बन्यो नेतालाई देश लुटिखाने व्यापार
देश र जनताको सेवक भन्थे रहेछन् सबै गद्दार
मर्ने बेला भइसक्यो अरु झुट बोली नझुक्याइदेउ
जनता बचाइदेउ सरकार जनता बचाइदेउ
नेपाल बचाइदेउ सरकार नेपाल बचाइदेउ

 

नेपाली भूमि छलकपट गरी आफ्नैले बेचेका हुन्
सतीले सरापेको देश होइन नेताले ठगेका हुन्
चुनावताका गरेका बाचा पुरा गर्न चुकेका हुन्
जनता भेडा हुन् भनेर नेपाल लुट्न आँटेका हुन्
अब त चिन देशद्रोहीलाई कालकोठरीमा थन्काइदेउ
जनता बचाइदेउ सरकार जनता बचाइदेउ
नेपाल बचाइदेउ सरकार नेपाल बचाइदेउ

मरेको हुन्छ जुन मुलुकमा कानुनी न्याय प्रणाली
हत्या, बलात्कार अनि अपराधको हुन्छ हालीमुहाली
नियन्त्रण गर्न असम्भव छ केवल नाराजुलुस निकाली
वैकल्पिक राजनीति रोजौं सरकार बदल्न यसपाली
देशभक्त नयाँ पार्टीलाई देशभक्त जनता जिताइदेउ
जनता बचाइदेउ सरकार जनता बचाइदेउ
नेपाल बचाइदेउ सरकार नेपाल बचाइदेउ

अखण्ड देश बचाउन सबै देशभक्त नेपाली जुटौं
मिलेरै विकास हुन्छ है संधै संगठित बनौं नफुटौं
मानव एक राष्ट्रियता एक विभेदको सीमा मेटौं
भेदभाव विकृति हो बुझौं अब आफैलाई नढांटौं
विन्ति छ कसैले मूलवासीको एकतालाई नफुटाइदेउ
जनता बचाइदेउ सरकार जनता बचाइदेउ
नेपाल बचाइदेउ सरकार नेपाल बचाइदेउ

सार्वभौम शक्ति हौं देशको हामी दलित नबनौं
हामी जनता नै देशको सर्वाेच्च आफुलाई चिनौं
दास बनाए अछुत बनाए यस्तो त हामी होइनौं
सिपका धनी ज्ञानका धनी हाम्ले आफुलाई चिनेनौं
हामी मूल नागरिक हाम्रो राष्ट्रिय चिनारी फर्काइदेउ
जनता बचाइदेउ सरकार जनता बचाइदेउ
नेपाल बचाइदेउ सरकार नेपाल बचाइदेउ
शब्द रचना : राजु विके (भदौ १३, २०७७)

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg