बैनीको बिहे (कविता)

115

झ्यालमा च्यातिएको पर्दाले मलाई गिज्याइरहँदा
मैले बैनीको बिहेमा मनग्गे फर्निचर उपहार दिनुपर्छ ।

आमाको फाटेको पटुकाले मलाई जिस्काइरहँदा
मैले बैनीको बिहेमा थुप्रै सुट र साडिहरु उपहार दिनुपर्छ ।

हिंजो बैनीलाई स्कुल जाने झोला किन्न नसक्ने म
आज बैनी लिउन आउने सबैलाई झोला उपहार दिनुपर्छ ।

अस्ति रामेसँग लिएको चामलको पैसा तिर्न नसक्दै
आज पुरै गाउँलाई प्रीतिभोज मैलै खुवाउन पर्छ ।

हिजो बैनी पढाउन ल्याएको साहुको रिन तिर्न नपाउँदै
आज उसैको बिहेकोलागि उपहार किन्न रिन थप्न परिरहेछ ।

हिजो इज्जत बचाउन किनेको श्रीमतिको तिलहरि मासेर
आज इज्जत जोगाउन थुप्रै औंठी लगाइदिनुपरेछ ।

हिजो रहरले आफुलाई बनाएको सिक्री
आज बाध्यताले बेहुलाको घांटिमा लगाइदिन परेछ ।

अनि बैनी तलाई दूध खुवाउन किनेको त्यो मालि गाइ
आज त्यहि बेचेर मैले सुट लगाएको छु

किन थाहा छ ??
किन कि अब “तँ“ बिना दूध मलाई मन पर्दैन ।

मैले चढ्ने बुलेट बेचेदिएँ बैनी आज
किन थाहा छ ?

किन कि तैंले स्कुटि कुदाएको हेर्नलाई
थाहा छ किन?

किन कि “तँ“ पैदल हिंडेको मन पर्दैन ,
हिंजो तँलाई के–के भन्दै रुवाउने म ।

आज तँलाई अन्माउँदा मेरो आशु अनायासै झरेछन् ,
हिजो तँ नाच्दा रमाइलो लाग्ने आँगन ।

आज तँ पराईसित जांदा रित्तिएको महसुस भैरहेछ ।
हिंजो तँलाई जिस्काउँदै रुवाउँदै हाँस्ने म,

आज तँ रुँदा मेरो मुटु भक्कानो परेछ ।
हिंजो तँसँग रिसाएर ढुस्किने म

आज तँलाई च्याप अङ्गालो हालेर रुन मन लागेको छ ।
असीम शुभकामना प्यारी बैनी !

खुशी रहनु सदा, तिमी खुशी हुन्छेउ जति,
तिमी बस्ने घर ठाउँको प्रगति हुन्छ उति ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg