युरोपियन युनियनसँग सम्बन्ध नरहेको, आर्थिक लेनदेनसमेत नगरेको रुपा सुनारको दाबी

161

पहिलोसन्देश, रुपन्देही, असार ११ गते ।
सामाजिक सञ्जाल, युट्युब विडियो र अनेकौं अनलाइन न्यूज मिडियामा बिगत केही दिनदेखि कतै सकारात्मक त कतै नकारात्मक दृष्टिकोणबाट चर्चित बन्दै गएको नाम हो रुपा सुनार । केहीले रुपाप्रति सहानुभूति भाव राखेका छन् भने केहीले आक्रामक शैलीमा उनको नैतिक चरित्र हत्यासमेत गर्न आफ्नो उर्जा लगाएका छन् । योभन्दा अघि रुपा सुनार लुकेको नाम पनि होइन । उनी कलाकार अनि सञ्चारकर्मी पनि हुन् । धेरै जनाले मन पराउने छवि छ उनको । उनलाई फलो गर्नेहरु हजारौंको संख्यामा छन् । सामाजिक सञ्जालमा उनलाई फलो गर्ने ४० हजारभन्दा बढी छन् । उनै सुनार अहिले विवादको घेरामा छिन् ।

युरोपियन युनियन नामक संस्थाबाट नेपालमा जातीय विभेदजन्य घटनाका आधारमा उपद्रव फैलाउन डेढ करोड रुपैयाँ सञ्चाकर्मी सुनारको नाममा आएको भन्ने समाचार तिनकुने काठमाडौबाट सञ्चालित नेपालपाना डट कम नामक अनलाइन न्यूज मिडियाले प्रकाशन गरेको छ । यो मिडियाले असार १० गते प्रथम पटक नेपालमा जातीय द्वन्द्व भड्काउन रुपा सुनारलाई युरोपेली युनियनले दियो डेढ करोड ! नामक शीर्षक राखेर दिउँसो ४ बजेर ५ मि. र दोस्रो पटक दलित अभियन्ता रुपा सुनारको स्टन्टः जातीय द्वन्द्व गराउने युरोपियन युनियनको खेल, घरबेटीका श्रीमानले बाहिर ल्याए रुपाको असली कर्तुत भन्ने शीर्षक राखेर साँझ ७ बजेर ५४ मिनटमा एकै दिन दुई–दुई पटक समाचार प्रकाशन गरेको छ । पहिलो समाचार १००.१ र दोस्रो समाचार ५०.० हजारले शेयर गरेका छन् ।

यस समाचारको प्रभाव स्वरुप सामाजिक सञ्जालमा कालो मोसो र जुत्ताको माला सहित रुपा सुनारको फोटो इडिट गरेर पोस्ट गरिएको छ ।

May be an image of 1 person and text

काठमाडौका घरबेटीहरुले कोठा भाडामा दिने नदिने घरबेटीको इच्छाको कुरा हो, जातीय विभेद गरेको आरोपमा मानसिक र शारीरिक यातना दिन पाइदैन, रुपा सुनारलाई कडा कारवाही होस् भन्दै आवाज उठाएका छन् भने रुपा सुनारले पनि आफु हार नमान्ने र भ्रामक समाचार सम्पादन, सम्प्रेशन र प्रकाशन गर्ने न्यूज मिडिया विरुद्ध केस गर्ने भनेकी छिन् ।

युरोपियन युनियन भन्ने संस्थाको नाम आफुले यही समाचार मार्फत थाहा पाएको र यो संस्थाबाट आफुले कुनै रकम नलिएको बताउंछिन रुपा सुनार ।

सुनारको भनाइ अनुसार समाचारमा जे जे भनिएको छ सबै झुटा र भ्रामक हुन् । जातीय द्वन्द्व भड्काउने र अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग आर्थिक लेनदेन गर्ने जस्ता राष्ट्र विरोधी गतिविधिसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताउँछिन् सुनार ।
मन्त्रीको ठाडो सिफारिसमा अनुसन्धानका लागि थुनामा राखिएकी घरबेटी सरस्वती प्रधानलाई रिहा गरिएपछि अब यो जातीय मुद्दा मेरो व्यक्तित नभइ सिंगो उत्पीडित समुदायको विषय भएको सुनारको ठहर छ । उनी भन्छिन्
‘‘शिक्षा मन्त्रीले छुटाए पछि अब यो मुद्दा दलित समुदायको भै सक्यो नि । अब विषय मेरो मात्र रहेन ।’’

शिक्षामन्त्री श्रेष्ठको दबावमा जातिय छुवाछुत गर्ने घरबेटी सरस्वती प्रधान थुनामुक्त

गत असार १ गते (जुन १५) का दिन रुपा सुनारले ६० वर्षिया घरबेटी प्रधानसँग भेटेर कोठा भाडामा दिन आग्रह गरेकी थिइन् । सुनारले आफु कामीकी छोरी भएको बताएकाले घरबेटी प्रधानले घरमा हजुरआमा रहेको र उनले जातिपाती, छुवाछुतलाई मान्ने गरेको बताउँदै कोठा नदिने कुरा सुनारलाई फोनमा जानकारी गराएकी थिइन् ।

त्यसपछि जातीय भेदभाव तथा छुवाछुत (कसूर तथा सजाय), (पहिलो संशोधन) २०७५ अनुसार सुनारले प्रधानविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।

तर शिक्षा मन्त्रीले प्रधानलाई आफ्नो रोहबरमा थुनामुक्त गरीसकेका छन् । कसूरदार घरबेटी थुनामुक्त भएपनि केस नसकिएको जानकारी पहिलोसन्देशलाई प्राप्त भएको छ । न्याय खोज्दै गरेकी सुनार भन्छिन् ‘‘अनुसन्धन बांकी छ । हाजिरी जमानतमा छुटेको छ । केस सकिएको छैन ।’’

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-९ को धर्म सम्बन्धी कसूर अन्तर्गत दफा १५७ मा धार्मिक रीति–स्थितिमा बाधा पुर्याउन नहुनेः (१) कसैले सनातनदेखि अपनाउदै वा चली आएको अरुको धार्मिक रीति–स्थितिमा जानीजानी बाधा पुर्याउन हुँदैन भनिएको छ ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलार्ई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

पहिलोसन्देश टिमले सुनारलाई माथि उल्लेखित मुलुकी अपराध संहिता, २०७४ मा रहेको प्रावधान बारे जानकारी गराउँदै नेपालमा यस्तो दोहोरो कानून छ । तपाईले न्याय पाउनुन्छ जस्तो लाग्छ ? भनेर सोधेको थियो । उत्तरमा उनले–
‘‘त्यसैको लागि त अब लड्ने भनेर हिडेका छौं हामी ।’’ भनिन् ।

यसैबीच नेपाल सरकार मन्त्री कृष्ण गोपाल श्रेष्ठ आरोपी छुटाउन आफै प्रहरी कार्यालय पुग्नुलाई दुःखद र सार्वजनिक पदको दुरुपयोगका रुपमा आफुले लिएको जनाउँदै राष्ट्रिय दलित आयोगले विज्ञप्ति निकालेको छ ।

घरबेटीले हजुरआमाको हवाला दिदै कोठा दिन नमिल्ने भनेकाले हजुरआमाको नाम समेत जाहेरीमा उल्लेख गर्न सकिन्थ्यो । किन कि जातीय विभदे गर्न उक्साउने वा प्रेरणा दिने व्यक्तिपनि उत्तिकै कसूरदार हुन्छ । तर हजुरआमाको नाममा घरबेटी आफैले जातीय विभेद गरेका कारणले घरबेटीको नाम मात्रै जाहेरीमा उल्लेख गरेको बताउँछिन् सुनार ।

‘‘दलितवाद र दलितको भविष्य कस्तो देख्नुहुन्छ तपाईले ?’’ पहिलोसन्देश टिमले सुनारलाई सोधेको थियो तर यो विषयमा उनी केही बोलिनन् । सुनारले बिहान ८ः३० बजेतिर आज भ्रामक समाचारदाता विरुद्ध केस गर्ने बताएकी थिइन् ।
त्यो कुरालाई समेत समेटेर समाचार प्रकाशन गर्ने योजना अनुरुप आज ४ बजेतिर रुपा सुनारसँग पहिलोसन्देशले अनलाइन सम्पर्क आउने कोशिस गर्याे । तर सुनारले अनलाई भएता पनि इग्नोर गरिन् ।

पहिलोसन्देश टिमले नेपालपाना डट कमसँग सम्पर्क साधेर सत्यतथ्य के हो, कुन सबुत प्रमाणका आधारमा समाचार प्रकाशन गरियो भनेर अनुसन्धान गर्ने प्रयास गर्याे । तर उक्त न्यूज मिडियाको वेवसाइट पेजमा सम्पादक सञ्चालकको नाम, कम्पनी दर्ता नम्बर, सूचना तथा प्रसारण विभाग दर्ता नम्बर, सम्पर्क सूत्र लगायतका आवश्यक विवरण नै भेटिएन ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg