कोठा र कोटा : गीत

108

कोठा र कोटा

भेटिए कोठा र कोटालाई एकै नजरले हेर्नेहरु
देखिए भावनामाथि हमला गरेर स्वाद फेर्नेहरु
बढे यहाँ मानवताको शास्वत नियम नटेर्नेहरु
जुटे कमजोरलाई मार्न चारैतिरबाट घेर्नेहरु

कोठा नदिनु अस्वस्थ आस्थाको परिणाम हो
कोटा पाएनौं भन्दै हेप्नु यो भ्रमको नाम हो
आपसमै लड्नु के असल नागरिकको काम हो ?
अन्धविश्वासमा लाग्ने खै कहिले विराम हो ?
बढायो जातिहिंसाले मान्छे कालगति बिनै मर्नेहरु

कोठा नदिनु र कोटा नदिनु होइनन् समानान्तर
नझुक्यिुँ यी दुईमा छ आकाश पातालको अन्तर
विभेदको पीडा छ त्यतिनै जति गहिरो समन्दर
बाहिरी रहेछौ आफ्नाले आफ्नालाई हान्दैन खन्जर
प्रेमै प्रमाण आफन्तीको आफ्ना हुन्नन् घृणा गर्नेहरु

मानवहरु हुन् यौटै जाति भिन्न देख्ने धिक्कार छ
निष्पक्ष विश्लेषण गरी हेरौं कति गलत विचार छ
आरक्षणमा एकमात्र योग्य गरिबको अधिकार छ
के लैजान लड्दै छौ र चिहान सबैको तैयार छ
जाति हिंसा गर्दै जिउने मान्छे हुन् नर्कमा पर्नेहरु

देशको अखण्डता नेपाली एकतामाथि नगरौं प्रहार
संहार गरेर मानवताको नबनौं धर्तीको भार
राष्ट्र विरोधी काम गरे भन्छन् तिम्लाई सबैले गद्दार
आफ्ना विरुद्ध षडयन्त्र गरे भुटिन्छ आफ्नै परिवार
मान्छे होइनन् गासै खोसेर पेट आफ्नो भर्नेहरु

मधेशी थारु जनजाति दलित होइन मूल पहिचान
मानव हौं हामी सबै गरौ एकअर्काको सम्मान
मानवता नै हुन्छ ठुलो नगरौ जातको अभिमान
पाहुना हुन धर्तीमा आयौं सबै ईश्वरको सन्तान
बेलैमा आउ होशमा जाति धर्मको नाममा लड्नेहरु

जीवन छंदै पश्चाताप गरेमा गल्ती त सुधार हुन्छ
फर्कौं सत्यको मूल बाटोमा मानवको उद्धार हुन्छ
अछुत भनेर मान्छेमाथि यदि अत्याचार हुन्छ
बाँध टुट्छ सहनशिलताको एकदिन काटमार हुन्छ
अपराधी हुन् वध गर्न मिल्ने घृणाको बिउ छर्नेहरु

Lyrics : RAJU VK

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg