वर्षायामको झरीमा डुबानको ताण्डव, कारण हामी नै

80

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण, बिभिन्न प्रकारका खनिज, हिमाल, पहाड, तराइको मिश्रण, बिभिन्न जातजाति, वर्ग, समुदायको समग्रताले बनेको हाम्रो देश नेपाल विश्वकै सुन्दर देशमा गनिन्छ।

दुई शक्तिशाली देशको बीचमा रहेको, विश्वका प्रायः देशहरु गुलाम हुँदा पनि स्वतन्त्र रहन सफल, विश्वको शक्तिशाली मानिने बिर गोर्खालि भनेर संसारभर चिर परिचित बहादुर सेनाले सुसज्जित देशका बासिन्दा हामी नेपाली भनेर गर्व गर्न पाउनु नै हामी नेपालीको अहोभाग्य हो, तर बिडम्बना , केही गलत नेताहरुको कारण राजनीतिक उथलपुथल हुनु, पार्टी विभाजन हुनु, स्थायी सरकार नबन्नु, बहुमतको सरकार समेत असफल हुनु, नेताहरुमा मनमुटाब हुनु, देश अस्तब्यस्त रहनु नेपाल र नेपालीको दुर्भाग्य हो।

बर्षायाममा झरी लाउनु स्वाभाबिक नै हो तर झरीकै कारण डुबान पर्नु, नदीले बाटो बदल्नु, रोड जलमग्न हुनु, पुल भत्कनु जस्ता घटना हुनुको पछि सामान्य तर बैज्ञानिक कारणहरु लुकेका हुन्छन्। निदाइरहने बानी परेको सरकारको आँखामा धुलो र हिलो छ्यापेर अनपढ दलालहरुले सर्प घुमे जस्तो बिना प्लान, बिना मापदन्डको घडेरी प्लटिङ्ग गरे। पानी कता बग्नु पर्छ कता बग्दा डुबान हुदैन, कता कसरी रोड बनाउँदा स्थानीयलाई असर पर्दैन भन्दा पनि कसरी बढी पैसा कमाउने भन्ने बिचारधारा बोकेका केही स्वार्थी दलालले गर्दा आज डुबान मै नपर्ने जग्गाहरु पनि डुबेका छन्। हिउँद भरी आफ्नै र आफ्नोलागि जग्गाको दलाली गर्न बाध्य जनप्रतिनिधिहरु बर्षा लाग्न सुरु भएपछि बल्ल नदीमा बाँध हाल्ने बजेट छुट्याउँछन्। २०/३०% बाँध पुरा नहुदै बाढीले बाँध भत्काइदिन्छ अनि बस्ति नदीमा समाहित हुन्छ।

वक्ररेखामा बहाबको राहमा बनाइएका कालोपत्रे बाटोले पानीको बहाबलाई सजिलै रोकीदिन्छ अनि हुन्छ डुबान। कहाँ कसरी जग्गा प्लटिङ्ग गर्ने, कहाँ कस्तो रोड बनाउने भन्ने, कता ढलान राख्ने, कता ढलान नराख्ने भन्ने बिचार पहिल्यै गरेको भए सायद यस्ता घटना घट्ने थिएन। जब झरि लाग्छ बुटवल भैरहवा रोड पनि जलमग्न हुन्छ। कारण सुबिधाको लागि काम गरिएन, पैसाको लागि मात्र काम गरियो भन्ने, रोडभरी बगिरहेको खोला जस्तै भल देखेर छर्लङ्ग हुन्छ। रोडको दुर्इतिर ठुला ठुला नाला त राखियो तर पानी बग्ने ढलानतिर झनै उँचाई बनाइयो जस्ले गर्दा नालामा बग्नुपर्ने पानी रोडमा बग्यो। यस्ता अनियमितता अनुगमन गर्न, रोड बिभाग र ठेकेडारलाई खबरदारी गर्न न त जनप्रतिनिधिलाई समय र चासो छ न त स्थानीय बासिन्दालाई।

ठेकेदार त पूर्व झापा, पस्चिम महाकालीबाट आयो जता सस्तो पर्छ त्यतै काम गर्यो, सक्यो पैसा लियो गयो। भलले बगाएको माटो नाला पुरेर रोडसम्म आइपुग्दा पनि जनप्रतिनिधि र स्थानीयको न चासो छ न गुनासो।अनि जनप्रतिनिधिहरु फेस्बुकमा स्टाटस हाल्छन् ‘‘झरिले धेरै ठाउँमा डुबान पर्ने स्थिति छ कतै केही भए सम्पर्क गर्नुहोला ।’’

ए बाबा तपाईंलाई सम्पर्क गरेर डुबान सुक्छ ? कि पानी डराएर भाग्छ ? भन्नु त त्यतिबेला थियो जतिबेला रोड बनाउँदा ठाउँ ठाउँमा निकासको लागि हेन्डपाइप छ कि छैन ? पानीको बाटो रोडले छेकेछ कि छैन, काम गुणस्तरीय भाछ कि छैन ? त्यतिबेला २०% र ३०% कमिसन जसले दिन्छ त्यसैलाई ठेक्कापट्टा, त्यसैमाथि छोरा, ज्वाइ, साला, भतिजलाई ठेक्काको चाजोपाजो मिलाइदिने अनि अनियमित बस्ति, अबैज्ञानिक निर्माणको नतिजा बिनास नभएर के हुन्छ ? जग्गा बेच्दा चारकिल्ला बनाएकै २०÷२५÷३० हजार तिरेको छौं । यो त एउटा उदाहरण हो । यस्ता कर त कति हो कति तिरेका छौं । हामी शिक्षा, बिकास र निकासको लागि भनेर, अनि कहाँ जान्छ त्यो जनताको करको लगानी ?

अबैज्ञानिक निर्माण, बस्ति, संरचनाप्रति पनि स्थानीय सरकार, जनप्रतिनिधिको ध्यान जान जरुरि हुन्छ। बिगत धेरै दिन देखि बुटवल अस्पताल लाइनको बाटो अस्तब्यस्त देखिन्छ। सम्बन्धित निकायको ध्यान गएको देखिदैन। साथमै बनाएको रोड योगिकुटितिर केही नहुनु, अस्पताल लाइनमा प्रत्येकबर्ष बिग्रनु प्रति प्राविधिक हिसाबले सोच्नु पर्ने हो। रोड बन्छ अनि बिग्रन्छ तर पानी बग्ने निकास नभएर बिग्रेको रोड बनाउनु अगि पानीको निकास र रोडको गुणस्तर पनि ख्याल राख्नु पर्छ भनेर कसले भनिदिने ? पैसाले भोट किन्ने भ्रष्टनेता र केही पैसामा भोट बेच्ने भेडा जनताप्रति कसैको केही लाग्दैन। देश बन्न र बनाउन को लागि अन्तरात्मादेखि देशको माया भएको नेता हुनुपर्छ।

यहाँ त पद र कुर्सिको लागि पार्टि फुटाउनेदेखि दल अदल बदल गर्ने नेताले देश बनाइदेला भनेर विश्वास गर्नु भन्दा ठुलो मुर्खता अरु के हो? बाउको बिहे हुँदा प्रधानमन्त्री भएको ब्यक्ति छोराको बिहे हुँदा पनि प्रम तिनै छन् । नेता तिनै छन्। उच्च सिक्षा, असल ज्ञान, देशको माया, दृढ इच्छा शक्ति, देश बिकास गर्ने पागलपन भएको ब्यक्तिको नितान्त खाचो देखिएको अबस्था हो अहिले।एउटा कुकुरलाई दश हजार पर्छ तर हामी सजिलै एक हजारमै बिकिरहेका हुन्छौं अनि परिकल्पना गर्छाैं नेपाललाई पनि स्विटजरलैण्ड जस्तो बनाउने ?
नबिकौं नकिनौ मिलेर गरौं। नेपाल बन्छ हाम्रैपालामा बन्छ। समृद्ध नेपाल र सुखी नेपाल हाम्रै पालामा बन्छ र बनाउन कोही आउँदैन। तपाई हामी मिलेरै बनाउने हो।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg