तीज संस्कृति कि विकृति ? माइती घरको ठाउँमा पार्टी प्यालेस, रेस्टुरेन्ट, होटल

138

हरितालिका तीजको हार्दिक शुभकामनाका साथै खुसी रहनु सुखी रहनु, बा घर (माइती घर) धाउनु रेस्टुरेन्ट बार नधाउनु , माड खानु जाँड नखानु, भेट हुनु अप्सेट नहुनु , मौलिकता झल्काउनु मदिरा भगाउनु , संस्कृति जोगाउनु, विकृति हटाउनु सबैलाई एकपटक फेरि पनि यो पालीको तीजको हार्दिक शुभकामना ।

भदौको महिना थियो, पानी पर्दा अलि चिसो हुने घाम लाग्दा पोल्ने गर्थ्यो । धान पोकाएर फुलेली परेको हुन्थ्यो, आकाशमा फ्याट्ट फुट्ट बादल देखिन्थ्यो । यो समय कालखण्डमा हाम्रो गाउँघरतिर गौरा पर्व र हरितालिका तीज धूमधामसंग मनाउने गर्थे । म ११/१२ वर्ष हुँदाको सम्झना गर्दा, त्यो अविरल झरी, खेतीको आली–आली हिँड्दा प्यान्ट त पुरै भिज्ने, आलिको बाटो ठाउँ–ठाउँमा पानी बगेर हिलाम्य हुँदा हातमा चप्पल लिँदै तीज हेर्न गएको याद आउँछ । तीजको अवसरमा नाचगान कार्यक्रम हुने ठाउँ हाम्रो गाउँबाट अलि परको गाउँ बसन्तपुरतिर जान्थ्यौं । किनकि हाम्रो गाउँतिर सुदूर भेगको बाक्लो बस्ती थियो, अहिले पनि सोही ढाँचामा हाम्रो गाउँको बसोबास छ । बसन्तपुरतिर पूर्वी भेकका मानिसको बसोबास थियो । त्यसैले त्यति बेला तीज बसन्तपुरमा मात्र मनाउँथे । अहिले घर घरमा तीज छ ।

हाम्रो सुदूरतीर तीजलाई गौरा पर्वले ओझेलमा पारेको होला भन्न सकिन्छ खासै हुँदैन थियो । तर केही विशेष समुदायले तीर्थ वार्ताका रुममा माने पनि सुदूरतिर खासै रोनक देख्न मिल्दैन थियो । त्यसैले हामी तीज हेर्न भनी घरमा रोई कराई गरी पैसा माग्थ्यौं । तर भदौको महिना धान पाक्न बाँकी, संचित गरेर राखेको गहुँ आधा सकिएको अवस्था हुने बेलामा अभिभावकले पैसा दिउन् त
कताबाट दिउन्, न कुनै रोजगार छ न अन्य कुनै आय आर्जन गर्ने बाटो । जुनसुकै सौदामा पनि त्यहि धान र गहुँ ओर्कैन्थ्यो फर्काइन्थ्यो ।

धेरै रोई कराई गरे पछि आमाले अलि कति गहुँ झोलामा राखी दिनु हुन्थ्यो । त्यो झोला उठाएर दोकानतिर लगिन्थ्यो । त्यति बेला गहुँको मूल्य १२ रुपैयाँ प्रतिकिलो थियो । आमाले दिएको गहुँ कहिले १ किलो ८०० ग्राम हुन्थ्यो भने कहिले २ किलो पुगी हाल्थ्यो । मैले २० रुपैयाँ देखि २५ रुपैयाँसम्म दोकानदारबाट पाउँथे । तर त्यो दिन मैले २४ रुपैयाँ पाएको थिएँ ।

त्यही २४ रुपैयाँ लिएर तीज हेर्न बसन्तपुरतिर लागें । त्यति बेला गोजीमा २४ रुपैयाँ हुँदाको शानै बेग्लै, म मात्र हो जस्तो अनुभूति हुने, खुसीको ठेगान नहुने, उमंगले भुईमा खुट्टा नहुने । तीज हुने ठाउँमा पुगियो त्यहाँ नाची रहेकाछन् गीत गाई रहेका छन् त्यो देखेपछि त मन झन् उत्साहित हुने झन् उफ्रूँ–उफ्रुँ हुने । कहिले लुकामारी खेलिन्थ्यो, कहिले साथीसँग भागादौडी हुन्थ्यो तर के गर्दै छु भनी आफैलाई थाहा हुँदैनथ्यो । केही बेरको भागदौड पछि थाकेर बस्न मन लागेको थियो तर पनि साथीहरु मच्चिएको देख्दा मन थाम्न सकिँदैनथ्यो । थाकेर प्यास लागेको हुने, ज्यूको लुगा सबै पसिनाले भिजेको हुने । केही खान मन लागेको हुन्थ्यो पसल अलि टाढा थियो प्यास लागीरहेको थियो । प्यास थाम्न नसकी पहिले नलकामा गएर पानी पिएर केही बेर आराम गरें फेरि साथी र म दोकानको लागि हिँड्यौ । दोकान पुगेपछि मेरो पहिलो रोजाइ चाउचाउ हुन्थ्यो । त्यति बेला वाईवाईको १० रुपैयाँ पर्थ्यो भने राराको ७ रुपैयाँ पर्थ्यो रमपमको ९ रुपैयाँ पर्थ्यो । मेरो रोजाइ जहिलेनी मध्यम हुन्थ्यो । मैले रमपमलाई रोजें । ४ जना साथी मिली बसेर खाँदा के हुन्थ्यो र छिन् भरमै सकियो । अब मसँग बाँकी १५ रुपैयाँ थियो । म त्यति बेला घुच्ची खेल्ने केटो मनले कहाँ मान्थ्यो र ? ५ रुपैयाँ त घुच्चीको लागि अलग राखी हालें । अब मसँग १० रुपैयाँ थियो ।

त्यो १० रुपैयाँलाई कसरी खर्च गर्ने भनेर मेरो मनमा अनेकौं प्रश्न थिए । त्यतिबेला एक रुपैयाँको पाँच खोडा मिश्री मिल्थ्यो, २ रुपैयाँको किन्दा १० खोडा आउने । मैले २ रुपैयाँको मिश्री किनें । एक गोजीमा गहुँ ल्याएको झोला थियो भने अर्को गोजी खाली थियो त्यसैमा मिश्री राखें । अब मसँग बाँकी ८ रुपैयाँ थियो । त्यसलाई के गर्ने ? मन शान्त थिएन । मनमा अनेकौं विचार उथुल पुथल थियो । त्यो दाईले पानछाप खानु हुन्थ्यो मैले खाए कसो होला, अर्को दाईले राहत गुट्खा खानु हुन्थ्यो मैले खाए कसो होला ? हैन अर्को दाईले त खैनी खानु हुन्थ्यो मैले खाए कसो होला ? किन्न त किन्ने किनेर खाने कता, मेरो अभिभावक यता नभए नि साथीहरुले चुग्ली लगाई देलान् भन्ने डर , कुनै बेला सोचिन्थ्यो, जेपर्ला पर्ला, कुनै बेला सोचिन्थ्यो होइन यसो गर्नु हुँदैन, शिक्षकले बिहानको प्रार्थनाको बेला सधैं भन्नु हुन्छ सुर्ती खैनी सिगरेट सेवन गर्नु हुँदैन । कतै म गलत त गरिरहेको छैन ? यी यस्ता धेरै प्रश्नले मेरो दिमाग घेरी सकेको थियो । त्यति बेला एकजना साथी आउँछ र पसलमा जाउँ भन्छ र हामी पसल गयौं र साथीले खैनिको डब्बातिर इशारा गर्दै भन्छ खाने हो, मैले कुनै पनि प्रतिक्रिया दिइन । फेरि आफैले भन्यो खैनी कडा हुन्छं पानछाप है, मैले पनि टाउको हल्लाएँ । हामी दुवैले एउटा एउटा पानछाप लियौं । मैले एउटा पाइनेप्पल बिस्कुट पनि किनें । त्यो पनि मिश्री भएको गोजीमा राखें । पान छाप मुठ्ठीमा राख्दै एकान्त ठाउँ खोज्दै थियौं । कुनै ठूलो मान्छेले देख्छ कि भनेर एकान्त ठाउँमा गयौ र पहिलो स्वाद लिन आतुर थियौं । एकान्त ठाउँ फेला पार्दै हामीले पानछाप सुपारी खोल्यौं । मैले अलिकति बायाँ हातको हत्केला राखेर मुख भित्र के हालेको थिएँ त्यसको १०–१५ मिनेटमा त दुनिया नै उलटपुलट भयो जस्तो लाग्यो । केही बेर पछि बान्ता भयो । संसार हल्लिरहेको कम् भए जस्तो लाग्यो, केही बेरको विश्राम पछि, घरतिर लाग्यौं । त्यो नै मेरो जीवनमा पान छापको पहिलो र अन्तिम अनुभव थियो जुन तीजको अवसरमा मैले आर्जन गरेको थिएँ ।

त्यस्तै आजको समाज पनि ११–१२ वर्षको बच्चा जस्तो छ । के गर्दै छौं ? किन गर्दै छौं ? के का लागि गर्दै छौं ? थाहा छैन , हरितालिका तीजको व्रत बस्नै पर्ने नबसे श्रीमान खस्ने, छोरा बित्ने शंका, उपशंकाले डराएको छ । हरितालिका तीजको व्रत बस्यो भने सौभाग्यवती हुने, धन प्राप्त हुने पुत्र प्राप्त हुने र पतिको आयु लामो हुने आश अर्कोतिर देखाइन्छ । कन्याले हरितालिका तीजको व्रत बस्दा विद्वान धनी पति पाउने आशा देखाइन्छ । यही व्रतको नाममा महिलाले पानी पिए जुका हुने, अन्न खाए सुगर हुने, मिठाई खाए कमिलो हुने अनि फल खाए बाँदर हुने, यहाँसम्म कि राति सुते अजिङ्गर हुने डर त्रास देखाएर महिलामाथि दमन शोषण गरेको भेटिन्छ । चाणक्य नीति शास्त्रको दोस्रो अध्यायको पहिलो श्लोकमा वर्णन छ –:

अनृतं साहसं माया मूर्खत्त्वमतिलोभिता ।
अशौचत्वं निर्दयत्वं स्त्रीणां दोषाः स्वभावजाः ।।१।।

अर्थात् झ्रूटा कुरा बोल्नु, कठोरता, छलकपट गर्नु, मूर्खता, लोभ, अपवित्रता र निर्दयता यी स्त्रीका स्वाभाविक दोष हुन् । यो कुरालाई हामी सहजै स्वीकार गर्छौं किनकी हाम्रो संस्कृति परम्पराले त्यही गर भन्छ । संस्कृतिको जगेर्ना गर्न यसरी नै सिकाइन्छ । अर्कोतिर दरको ठाउँमा दारु स्थापित भइदियो र माइती घरको ठाउँमा पार्टीहल रेस्टुरेन्टमा तीज कार्यक्रम गर्न थालियो । जसै म बसन्तपुर हुँदा राम्रो नराम्रो छुट्याउन नसकी पानछाप लिन कोसिस गरें त्यसै होटल र पार्टी हलको तीजले पनि राम्रो नराम्रो छुट्याउन सकिन्छ होला । त्यसैले दरको ठाउँमा दारु खानु स्वाभाविकै हो । किनकि मान्छे जब बन्धनबाट मुक्त हुन्छ, तब आफ्नो स्वाभाविक गुण देखाउन सुरु गर्छ । भारतको धेरै ठाउँमा तीज के हो थाहा छैन् तर हाम्रो नेपालमा लगाउने सारी, लहेंगा सबै लुगा भारतद्वारा उत्पादन हुन्छन् । खै त हाम्रो संस्कृतिको जगेर्ना कहाँ छ मौलिकता ? यदि सँस्कृतिको जगेर्ना र मौलिकता झल्काउने हो भने राईले आफ्नो पोसाकमा सजिनु पर्यो, लिम्बूले आफ्नो पोसाकमा सजिनो पर्यो, मगरले आफ्नो पोसाक, थारुले आफ्नो पोसाक, मधेसीले आफ्नो, नेवारले आफ्नो पोसाक, तराई हिमाली पहाडीले आफ्नो आफ्नो पोसाकमा सजिनु पर्यो । खै त, त्यसो त देखिन्न कतै । फेरि नेपालको सबै भेकका मानिसले पनि त मान्दैन थिए । अहिले आएर देखोसिको गरेको होइन र ?
तीजले न मौलिकता झलकायो न संस्कृति बचायो फेरि किन तीज ?

हाम्रो देश नेपाल सर्वसम्मपन्न देश होइन । हाम्रो जीडीपी हेर्ने हो भने लगभग ३४.४५ billion US dollar छ । अरु देश ट्रिलियनमा छन् । हाम्रो देशको आयआर्जनको त्यही वैदेशिक रोजगारी हो नेपालमा लगभग आधा जति आयआर्जन वैदेशिक रोजगारबाट आएको रेमिटान्स हो । भन्नेवेला भन्छौं महिला हिंसा भो । हाम्रो समाजको संरचना पुरुष प्रधान रहेको छ । पैतृक सम्पति हुन्छ । यता मातृ सम्पत्ति हुँदैन । श्रीमानले आयआर्जन गरोस् या श्रीमतीले, जसले गरे पनि, सम्पत्ति छोराको हुन्छ छोरीको त हुँदैन । हामीले चाडपर्वको नाममा अथाह खर्च गर्नुभन्दा महिला सशक्तिकरणका लागि खर्च गर्नु ठीक होला जस्तो लाग्छ । महिलाको लागि शिक्षा स्वास्थ र सीपमूलक तालिमको व्यवस्था गर्नु ठीक होला ।

अहिलेको तीज प्रत्येक वर्ष विकृति बढ्दो क्रममा भेटिन्छ । गाउँ छोडेर शहर पस्यो, घर छोडेर होटल बस्यो । उत्ताउला छाडा गीतमा उफ्रियो । विदेशी लुगा र सुनको गहना लगायो । यही हो संस्कार र संस्कृति ? गहनाको कुरा गर्दा मेरो बुझाई अनुसार सुन भारतमा प्रति वर्ष १.४ टन उत्पादन हुन्छ, मलेसियामा २.१२ टन उत्पादन हुन्छ साउदीमा ४.३ टन प्रति वर्ष उत्पादन हुन्छ तर यी देशहरुभन्दा धेरै सुन लगाउने देश नेपाल होला । जहाँ सुनको कुनै उत्पादन हुँदैन। हामी सधैं अरुमाथि निर्भर हुने कि आफू स्वावलम्बी र आत्मनिर्भर बन्ने ? सुन बिना कुनै व्यक्ति मरेको मैले देखेको छैन बरु नून बिना बच्न सकिन्न होला । समाजमा भएका विकृति र विसंगतिलाई त्याग्नु पर्छ । एउटा उच्चतम कोटिको सभ्य र वैज्ञानिक समाजको निर्माण गर्नु पर्छ ।

नारीले तीज पर्व होइन जीवन धान्ने शीप पर्व रोजौं ।
संस्काररूपी बन्धन त्यागौं आफूभित्रै आत्मनिर्भरता खोजौं ।। धन्यबाद !!!!!

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg