मुक्तकका माध्यमबाट ‘काल’ का बारेमा विद्यार्थीलाई सिकाउने एक प्रयास

232

हरि चालिसे एबिसी

कविताको लघुत्तम रुपका आधारमा परिचित पहिलो, दोस्रो र चौथो अनुप्रासयुक्त र तेस्रो अनुप्रासमय, व्यक्तिभित्र रहेको कोमल मनका विचारहरुले उथलपुथल वनाउन सक्ने, मान्छेको प्रवृत्तिलाई क्षणभरमै परिवर्तनको दिशातर्फ उन्मुख गराउन सक्ने सामथ्र्य भएको, व्यक्तिको मस्तिष्कलाई चलायमान वनाउन अहम भूमिका उत्पन्न गर्न सक्ने चोटिलो विधाका रुपमा मुक्तकलाई लिइन्छ ।

मुक्तकको प्रारम्भिक चरणमा शास्त्रीय छन्दको प्रयोग गरेर चार लाइनमा समेटेर लेखिएको पाइए पनि हाल स्वच्छन्द शैलीमा मुक्तक लेख्ने गरेको पाइन्छ । थोरै शब्दभित्र धेरै भाव र अर्थयुक्त सन्देश दिन सकिने हुनाले साहित्यका माझ ‘मुक्तक’ लोकप्रिय वन्दै गएको पाइन्छ ।

मुक्तकको लागि विविध विषयवस्तुलाई समेटेर आफ्ना मनका भावहरु प्रकट गर्न सकिन्छ । यहाँ विशेष गरी साहित्यको लोकप्रिय उपविधा मुक्तकलाई आधार वनाएर मुक्तककै माध्यमबाट नेपाली व्याकरणको काल र पक्षको बारेमा अत्यन्तै उत्सुकता हुने खालको अवस्था सिर्जना गरेर विद्यार्थीहरुलाई सिकाउन सकिन्छ भन्ने अभिप्रायका साथ प्रस्तुत गरिएको छ ।

काल शब्दले सामान्यतया समयलाई वुझाउँछ । क्रियाको कार्य व्यापार, घटना, अवस्था वा क्रियाको कामको समयलाई संकेत गर्ने व्याकरणिक कोटीनै काल हो । कालका वर्तमान, भूत र भविष्यत् गरी तीन चरण रहेको पाइन्छ । पक्ष कालको पनि काल समय हो । कालको सुक्ष्म अवस्थालाइनै पक्ष भनिन्छ । यसरी हेर्दा वर्तमान कालका तीन, भूतकालका पाँच र भविष्यत्कालका तीन ओटा पक्ष रहेका छन् ।
१) वर्तमान काल ः
अहिलेको समयमा कुनै पनि काम भइरहेको जनाउने क्रियाको काल नै वर्तमान काल हो ।

वर्तमान कालका पक्षहरु

क) सामान्य वर्तमान काल ः चलिरहेको समयमा कुनै काम सामान्य तवरले हुन्छ भन्ने बोध गराउने क्रियाको पक्ष सामान्य
वर्तमान हो । जसमा (धातु + छु, छौं, छस्, छन् , छेस्, छ्यौ, नुहुन्छ , छ, छे, छिन्) र यिनका अकरण रुपहरु पर्दछन् ।

शंकरले पढाइलाई ठूलो कुरा ठान्छ ।
विपिनले सरले भनेको सवै कुरा मान्छ ।
अनुशासननै ठूलो गहना हो मानिसको ,
सन्देश विद्यालयबाट सरासर घर जान्छ ।

प्रस्तुत सामान्य वर्तमान कालमा आधारित मुक्तकले शंकरका माध्यमबाट विद्यार्थीहरुले पढाइमा ध्यान दिनुपर्छ, विपिनका माध्यमबाट गुरु गुरुआमाको आज्ञाकारी वन्नुपर्छ र सन्देशका माध्यमबाट अनुशासनपुर्वक समयमै घर पुग्नुपर्छ भन्ने सन्देश विद्यार्थीका लागि दिन खोजिएको छ ।

ख) अपूर्ण वर्तमान काल ः चलिरहेको समयमा कुनै काम हुँदै छ । समाप्त भएको छैन भन्ने बोध गराउने क्रियाको पक्ष अपूर्ण वर्तमान हो जसमा, (धातु + तैं, दैं सामान्य वर्तमान कालका रुपायक प्रत्ययहरु छ, छौं )

सीताले घरबाट ल्याएको खाजा खादैंछे ।
रीताले फोहोर डस्विनमा हाल्न जादैंछे ।
ठूलालाई आदर, सानालाई माया गर्नुपर्छ ,
गिताले सानो भाइलाइ शौचालय लादैंछे ।

प्रस्तुत अपूर्ण वर्तमान कालमा आधारित मुक्तकले सीताका माध्यमबाट विद्यार्थीले घरैबाट सफा र स्वच्छ खाजा ल्याउनुपर्छ, रीताका माध्यमबाट फोहोर डस्विनमा फाल्नुपर्छ र गिताका माध्यमबाट सानोलाई माया र ठूलो लाई आदर गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।

ग) पूर्ण वर्तमान काल ः चलिरहेको समयमा कुनै काम पुरा भएको तर त्यसको असर बाँकी छ भन्ने अवस्थाको बोध गराउने
क्रियाको पक्ष पूर्ण वर्तमान हो । ( धातु + एको, एकी, एका + सामान्य वर्तमान कालका रुपायक प्रत्ययहरु )

रामले आज नयाँ साथी भेटेको छ ।
श्यामले साथीको नाम लेखेको छ ।
पढेकाहरु विदेश विदेश भन्छन् ,
हरिले नेपालमै भविष्य देखेको छ ।

प्रस्तुत पूर्णवर्तमान कालमा आधारित मुक्तकले रामका माध्यमबाट विद्यार्थीहरुले नयाँ साथी वनाउनुपर्छ भन्ने कुरा, श्यामका माध्यमबाट साथीको सँधै सम्मान गर्नुपर्छ भन्ने कुरा र हरिका माध्यमबाट पढेर विदेशको कल्पना मात्रै होइन नेपालमै पनि सुन्दर भविष्य छ है भन्ने सन्देश दिन खोजिएको छ ।

२) भूतकाल ः वितेको समय जनाउने क्रियाको समयलाई भूतकाल भनिन्छ ।

भूतकालका पक्षहरु ः

क) सामान्य भूतकाल ः विगतमा कुनै पनि काम सामान्य रुपमा घटेको थियो भन्ने बोध गराउने क्रियाको पक्ष सामान्य
भूत हो । ( धातु + एँ, इनँ, यो, एनौं, इस, इनस, यौ, एनौ, इनौ, इन, इनन्, ए, एनन )

दिपकले सुरिलो भाकामा गित गायो ।
रमेशले मादल बजाएर स्यावासी पायो ।
अनेक अनेक प्रतिभा हुन्छन् विद्यार्थीसँग
रोदनले उत्तर मिलाएर चक्लेट खायो ।

प्रस्तुत सामान्य भूतकालमा आधारित मुक्तकले दिपकका माध्यमबाट विद्यार्थीसँग गित गाउने कला, रमेशका माध्यमबाट सिर्जनात्मक क्षमता र रोदनका माध्यमबाट तिक्ष्ण वुद्धि विद्यार्थीसँग रहन्छ । जुन हामीले चिन्न सक्नु पर्छ भन्ने सन्र्दभ दिन खोजिएको छ ।

ख) अपूर्ण भूतकाल ः विगतमा कुनै काम सुरु भएर सम्पन्न हुँदै थियो भन्ने बोध गराउने क्रियाको पक्ष अपूर्ण भूत हो । (धातु+तै, दै) जोडेर थियो, थिए, थिइस, थिएँ, थियौ जस्ता सहायक क्रिया प्रयोग गरी निर्माण गरिन्छ ।

कमलले झोलामा सबै किताब कापी राख्दै थियो ।
मिलनले आफुले वनाएको चित्र भित्तामा टाँस्दै थियो ।
असल विद्यार्थीहरु केही न केही गरिरहेका हुन्छन् ,
राजनले कागजका टुक्रा डस्टविनमा हाल्दै थियो ।

प्रस्तुत अपूर्ण भूतकालमा आधारित मुक्तकले कमलका माध्यमबाट विद्यार्थीले सवै किताव कापी मिलाएर राख्नुपर्छ भन्ने कुरा, मिलनका माध्यमबाट आफ्नो प्रतिभा प्रदर्शन गर्नुपर्छ भन्ने कुरा र राजनका माध्यमबाट असल विद्यार्र्थीले आफ्नो वरीपरी सरसफाई राख्छन् भन्ने सन्देश दिन खोजिएको छ ।

ग) पूर्ण भूतकाल ः विगतमा कुनै काम सम्पन्न भएको थियो भन्ने बोध गराउने क्रियाको पक्ष पूर्णभूत हो । ( धातु + एको,
एका, एकी + थियो, थिए, थियौ, थिएँ ) जस्ता सहायक क्रियाको प्रयोग गरि निर्माण गरिन्छ ।

कामनाले कक्षाकोठामा ध्यान दिएर सुनेकी थिइ ।
भावनाले मुख्य मुख्य कुरा कापीमा टिपेकी थिइ ।
सवै विद्यार्थीले सकेको प्रयास गरेका थिए तर ,
चाहानाले गृहकार्य सवै भन्दा राम्रो लेखेकी थिइ ।

प्रस्तुत पूर्णभूतकालमा आधारित मुक्तकले कामनाका माध्यमबाट विद्यार्थीहरुले कक्षा कोठामा ध्यान दिएर सुन्नुपर्ने, भावनाका माध्यमबाट गुरु गुरुआमाले पढाउँदा मुख्य मुख्य शब्द कापीमा टिप्नुपर्ने र चाहानाका माध्यमबाट हरेक विद्यार्थीले उत्तिकै मिहिनेत गरेको हुन्छ त्सयमा कोही एक जना उत्कृष्ट हुुुन्छ भन्ने सन्देश दिन खोजिएको छ ।

घ) अज्ञात भूतकाल ः विगतमा कुनै काम भएको तर पछि मात्र थाहा हुन आएको अवस्थाको बोध गराउने क्रियाको पक्ष
अज्ञात भूत हो । ( धातु + एछु, इछस्, एछौ, इछेस् , एछौं, इछ्यौ, नुभएछ, एछ, इछे, इछिन्, एछन् र यिनका अकरण
रुपहरु )

नविन कक्षामा प्रथम भएछ ।
श्यामले थुप्रै पु¥रस्कार लगेछ ।
पुरस्कार देखेर होला सायद,
राम नियमित विद्यालय गएछ ।

प्रस्तुत अज्ञात भूतकालमा आधारित मुक्तकमा नविनका माध्यमबाट विद्यार्थी प्रथम भएको जानकारी, श्यामका माध्यमबाट लगनशिल व्यक्तिले धेरै पुरस्कार लैजान सक्ने कुरा र रामका माध्यमबाट पुरस्कार ले आर्कषित भएपछि नियमित विद्यालय नजाने विद्यार्थीलाई नियमित जान प्रेरित गरेको सन्देश दिन खोजिएको छ ।

ङ) अभ्यस्त भूतकाल ः विगतमा कुनै कामको वानी परेको तर हाल नभएको भन्ने बोध गराउने क्रियाको पक्ष अभ्यस्त भूत
हो । ( धातु + थे, थ्यौं, थिस्, थ्यौ, नुहुन्थ्यो, थ्यो, थि, थिन्, थें र यिनका अकरण रुपहरु)

उज्जवल कक्षामा ध्यान दिएर सुन्थ्यो ।
राम नवुझेका कुरा दोहो¥याएर पढ्थ्यो ।
सवैका आ आफ्नै विशेषता हुन्छन,
गोपाल सुन्दर अक्षरमा गुहकार्य लेख्थ्यो ।

प्रस्तुत अभ्यस्त भूतकालमा आधारित मुक्तकमा उज्जवलका माध्यमबाट विद्यार्थीले ध्यान दिएर सुन्नु पर्ने, रामका माध्यमबाट आफूले नवुझेका कुरा पटक पटक सोध्नु पर्ने र गोपालका माध्मबाट हरेक विद्यार्थीसँग केही न केही राम्रा पक्ष हुन्छन भन्ने सन्देश दिन खोजिएको छ ।

३) भविष्यत् काल ः पछि आउने समयमा हुन सक्ने कार्यको बोध गराउने क्रियाको समयलाई भविष्यत्काल भनिन्छ ।

क) सामान्य भविष्यत्काल ः पछि आउने समयमा कुनै कार्य हुनेछ भन्ने बोध गराउने क्रियाको पक्ष सामान्य भविष्यत् हो ।
( धातु+नेछु, नेछौं, नेछस्, नेछेस्, नेछौ, नेछ्यौ, नुहुनेछ, नेछ, नेछे, नेछिन् र यिनका अकरण रुपहरु )

सफलले राम्रो कविता लेख्नेछ ।
विकलले गृहकार्य सबै मेट्नेछ ।
ज्ञानी बन्न, असल हुनका लागि,
सरोजले मिहिनेत गरेर पढ्नेछ ।

प्रस्तुत सामान्य भविष्यत् कालमा आधारित मुक्तकमा सफलका माध्यमबाट विद्यार्थीसँग कविता लेख्न र सिर्जनशिलता हुनुपर्ने, विकलका माध्यमबाट गृहकार्य गर्न उत्प्रेरित गरेको अवस्था र सरोजका माध्यमबाट ज्ञानी र असल हुनका लागि मिहिनेत गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।

ख) अपूर्ण भविष्यत्काल ः पछि आउने समयमा कुनै काम भइरहने छ भन्ने अवस्थाको बोध गराउने क्रियाको पक्ष अपूर्ण
भविष्यत् हो । ( धातु+तै, दै, जोडेर हुनेछु, हुनेछौं, हुनेछस्, हुनेछेस्, हुनेछौ, हुनुहुनेछ जस्ता सहायक क्रिया प्रयोग )

विद्यार्थीहरु घर पुगी खाजा खाइ खेल्दै हुनेछन् ।
गुरु गुरुआमाले दिएको गृहकार्य लेख्दै हुनेछन् ।
विहान वावा आमासँग उठी नित्य कर्म गरी ,
मिहिनेती विद्यार्थीहरु पाठ पढ्दै हुनेछन् ।

प्रस्तुत अपूर्ण भविष्यत् कालमा आधारित मुक्तकमा विद्यार्थीहरुका माध्यमबाट विद्यार्थीहरु घर पुगेर खाजा खाइ खेल्ने अनि गृहकार्य गर्ने र मिहिनेती विद्यार्थीहरु पाठ पढिरहेको हुनेछन् भन्ने सन्देश दिन खोजिएको छ ।

ग) पूर्ण भविष्यत्काल ः पछि आउने समयमा कुनै काम भएको हुनेछ भन्ने अवस्थाको बोध गराउने क्रियाको पक्ष पूर्ण
भविष्यत् हो । ( धातु+एको, एकी, एका जोडेर हुनेछ, हुनेछौं, हुनेछस्, हुनेछेस्, हुनुहुनेछ, हुनेछु……जस्ता सहायक क्रिया

थपी क्रियापद निर्माण हुन्छ ।
उत्तमले प्रश्नको उत्तर सोचेको हुनेछ ।
पवनले पाठभित्रै उत्तर खोजेको हुनेछ ।
जसरी पनि विद्यार्थीले गृहकार्य गर्नै प¥यो,
नविनले आफ्नो दाजुलाई सोधेको हुनेछ ।

प्रस्तुत पूर्ण भविष्यत् कालमा आधारित मुक्तकले उत्तमका माध्यमबाट विद्यार्थीले गम्भिर भएर उत्तर सोच्नुपर्ने, पवनका माध्यमबाट उत्तर पाठभित्रै हुने र त्यसको खोजी गर्नुपर्ने साथै नविनका माध्यमबाट आपूmले जानिएन भने जान्ने ब्यक्तिसँग भएपनि सोधेर गृहकार्य गर्नुपर्छ है भन्ने सन्देश दिन खोजिएको छ ।

समाजलाई उज्यालो गराउने, समाजलाई सभ्य, सु–संस्कृत र समृद्ध को बाटोतर्फ उन्मुख गराउने क्षेत्र भनेको शिक्षा हो । शिक्षाको विकासविना सभ्य र समृद्ध समाजको निर्माण हुनै सक्दैन जसका लागि शिक्षा अपरिहार्य छ । शिक्षा अपरिहार्य छ भन्दैमा परम्परागत तरिकाको सिकाइ प्रक्रियामा मात्रै लागियो र समयानुकुलको शिक्षा, सिर्जनात्मक क्षमता वृद्धि गर्ने शिक्षा तथा प्रविधि युक्त शिक्षालाई आत्मसात गरिएन भने आशा गरे अनुरुपको उपलब्धि हासिल गर्न सकिदैन तसर्थ विद्यार्थीलाई सही बाटोमा लाग्नको लागि प्रेरित गर्ने, विद्यार्थीहरुको मनोभावनालाई समेटी सोही अनुरुपको पद्धतिलाई अवलम्वन ग¥यौ भने मात्रै पनि सफल हुन सकिन्छ । जसका लागि पहिलो सर्त भनेको शिक्षकमा सिर्जनशिलता, अध्यनशिलता सँगसँगै उचित वातावरणको आवश्यकता हो । तसर्थ वाल मनोविज्ञानलाई वुझेर समयले गरेको दिशा निर्देश सँगसँगै अगाडी वढ्नुपर्ने देखिन्छ ।

प्रस्तुत गरिएको सिर्जनात्मक लेखमा मुक्तकका माध्यमबाट साहित्यको उपविधा मुक्तकको विकास हुनुका साथै विद्यार्थीको सिर्जनशिलतामा अभिवृद्धि हुने, विद्यार्थीहरुमा नैतीक चेतना तथा सकारात्मक सोचाइको विकास हुने, विद्यार्थीहरुले कस्ता कस्ता क्रियाकलाप गर्नुपर्दोरहेछ भन्ने कुरा अत्यन्तै सटिकरुपमा प्रेरणादायी तवरले प्रस्तुत गरेकोले विद्यार्थीहरुको सोचाइमा परिवर्तन हुने र नेपाली व्याकरणमा काल र पक्षलाई फरक ढङ्गबाट वुझाउन सकिने भएकोले विद्यार्थीहरु सिक्नको लागि उत्सुक हुने र ऊनीहरु यसतर्फ आर्कषित हुने अवस्थाको विकास हुने देखिन्छ ।

लेखक श्री शिव माध्यमिक विद्यालय ग.न.पा.–८, काँडेवास, बागलुङका प्रधानाध्यापक  हुन् ।

प्रस्तुत गरिएका मुक्तकहरु गलकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको “शिक्षक प्रतिभा गोष्ठी –२०७५” मा प्रथम भएको थियो ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg