दुबइबाट आएर बुटवल आइसोलेशनमा भर्ना भएको ३ दिनमै मृत्यु

1060

राजु विके/रुपन्देही ।
२०७६ साल चैत्र महिनाको १३ गते बिहीबारका दिन आइसोलेशन वार्डमा भर्ना भएका युवक बाबुराम थापाको भर्ना भएको ३ दिनमै मृत्यु भएको छ । कोरोना सँक्रमण हुन सक्ने आशंकामा विरामी भर्ना गरिए पनि समयमा परीक्षण गराउन कदम नचालिदा विरामीको मृत्यु भइसक्दा पनि मृत्युको कारण कोविड १९ नै हो भन्ने कुराको पुष्टि हुन सकेको छैन । सुविधाको अभाव र जनशक्तिको अपर्याप्ताका कारण सरकारी पक्षबाट स्थापना गरिएका क्वारेन्टाइन र आइसोलेशन वार्डहरुको यथार्थ प्रभावकारिताको अनुभूति लिन जनताले पाएका छैनन् ।

बाबुराम थापाको यात्रा
रिब्दीकोट गाउँपालिका पाल्पा स्थायी घर भई हाल सैनामैना नगरपालिका वार्ड नं ४ मा बस्दै आएका ३४ वर्षीय बाबुराम थापा वैदेशिक रोजगारको सिलसिलामा कामदारको रुपमा दुबई गई ट्याक्सि चलाउने गर्थे । २०७७ बैशाख महिनामा स्वदेश आउने योजना भएपनि विश्वभरी फैलिएको कोरोना महामारीले देश लकडाउन भएपछि उनी कार्यरत कम्पनीले छिट्टै घर पठायो । थापा २०७६ चैत्र ०६ गतेका दिन दुबइबाट काठमाण्डौ आइ पुगे । काठमाण्डौदेखि बसबाट २०७६ चैत्र ०७ गते घर आए । आफ्नो परिवारसँग ८ दिन जति बसेपछि २०७६ चैत्र १३ गते ज्वरोको लक्षण देखिइ बिसन्चो जस्तो अनुभूति भए पश्चात स्थानीय मेडिकलबाट औषधि उपचार गराउँदा नि निको नभएको हुँदा आफ्नी २६ वर्षीया श्रीमतीसँग सल्लाह गरेर उनी एक्लै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल आए । उनकी श्रीमतीले म पनि सँगै जान्छु भन्दा छोराहरु एक्लै हुन्छन् भन्ने लागेर श्रीमतीलाई घरै बस्न भनी जँचाउन आफु एक्लै आएका थिए । चेकजाँच गरेपछि अस्पतालले प्रारम्भिक निदान स्वरुप कोरोना सँक्रमणको आशंकामा थापालाई ढिलाई नगरी आइसोलेशनमा बस्न पठायो । थापाले अस्पतालको निर्देशन पालना गर्दै बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल–१०, धागोकारखानामा स्थापित बुटवल कोरोना विशेष(अस्थायी) अस्पतालमा भर्ना भए ।

श्रीमतीसँग अन्तिम कुराकानी
६/७ वर्षका दुई अबोध छोराहरु एक्लै हुन्छन् भनी थापाले साँझ घरै फर्किनेमा विश्वस्त भई श्रीमतीलाई आफुसँग नआउन आदेश दिई घरबाट निस्केका थिए । आज घरदेखिको प्रस्थान जीवनको अन्तिम प्रस्थान हुने छ, उनले कल्पना समेत गरेका थिएनन् । नियतिले मार्गनिर्देश गरेअनुसार नै उनी सबैकुरा सहजै अँगीकार गर्दै थिए । ठुलो आशा थियो निको भएर पुनः आफ्नो सानो परिवारसँग प्रसन्नतापूर्वक बाँच्ने । उनको सारा आशाहरु आइसोलेशनको अन्ध्यारो संसारमा विलय भईरहँदा उनी ती अप्रत्याशित पलहरुबाट कत्ति विचलित भएनन् बरु पहिले जस्तै नयाँ दिनको कल्पना गर्दै धैर्यता साथ आइसोलेशनमै समर्पित भए । उनलाई कसैले भेट्न पाउदैन्थे । २०७६ चैत्र १५ गते दिउँसो श्रीमतीसँग मोबाइलमा विडियो कल गरे । राति ९ बजे पुनः श्रीमतीसँग मोबाइलमै कुरा भयो । सायद श्रीमतीले चिन्ता गर्छिन् सोचेर होला, म ठिक छु, खाना मिठो भएको छैन, थोरै खाएँ भन्दै श्रीमतीलाई खबर गरेका थिए । यो नै आफ्नी श्रीमतीसँग उनको आखिरी पटकको संवाद थियो ।

थापाको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले बताए अनुसार २०७६ चैत्र १६ गते बिहानैदेखि थापाको अवस्था बिग्रदै गएको थियो । अवस्थामा सुधार नआएपछि काठमाण्डौ लैजान पर्छ, तपाई तयारीका साथ आउनुहोस् भन्दै आइसोलेशन वार्डबाट रीता थापालाई खबर गरियो । अध्यक्ष भट्टराईले दिएको जानकारी अनुसार थापालाई दिउँसो १ बजे काठमाण्डौ रिफर गर्ने भनी आइसोलेशन वार्डले योजना बनाइसकेको थियो । परिवारलाई सूचना पनि पठाइ सकेको थियो । अवस्था झन् बिग्रेपछि थापालाई एक्कासी श्वास फेर्न गाह्रो भयो । लाक्षणिक उपचारकै क्रममा थापाको शरीरले २०७६ चैत्र १६ गते दिउँसो १ बजे प्राण छोड्यो ।

कोविड १९ परीक्षणका लागि नमूना पठाउन ढिलाई
लुम्बिनी प्रादेशिक अस्पतालसँग चैत्र १३ गते नै प्रारम्भिक परीक्षणका लागि मृतक सम्पर्कमा आएका थिए । सोही दिन साँझ उनलाई आइसोलेशनमा राखिएको थियो । परीक्षणका लागि नमूना पठाउन किन ढिलाई भयो भन्ने प्रश्नको जवाफमा अध्यक्ष भट्टराई भन्छन्–‘‘विरामी १३ गते साँझ मात्रै सम्पर्कमा आयो, साँझ नमूना पठाउने कुरा आएन । १४ गते पठाउने साधन भएन । १५ गते शनिबार पर्याे । आज (चैत्र १६ गते) बिहानै एम्बुलेन्समा पठाइयो । नेपाल सरकारले हेलिकप्टर परिचालन गरी दिनमा एकचोटी पूर्वदेखि पश्चिमसम्मका सातैवटा प्रदेशबाट कोविड १९ परीक्षण थ्रोट स्वाब नमूना संकलन गररे लगीदिए रिपोर्ट छिटो आउन सक्थ्यो ।’’

कोरोना संक्रमण व्यवस्थापनमा जनप्रतिनिधिहरुको भूमिका नगण्य
२०७६ चैत्र १६ गते दिउँसो १ बजे थापाको मृत्यु भए पनि लाश व्यवस्थापनका लागि महिला एक्लैलाई जिम्मा दिन उचित भएन । मृतकका आफन्तीहरु खबर गर्नुका बावजुद लाश बुझ्न आएनन् । यस्तो अवस्थामा जनप्रतिनीधिहरुले भूमिका खेल्नु पर्नेमा त्यसो गरेको पाइएन । लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष भट्टराईले बुटवल उपमहानगरपालिका नगर प्रमुखदेखि सैनामैना नगरपालिकाका मेयर, सम्बन्धित वडाका अध्यक्ष सबैलाई आइसोलेशन वार्डमा व्यक्तिको मृत्यु भएको जानकारी गराउँदा समेत कसैले परिणाममुखी भूमिका निर्वाह गर्न अघि सरेको भेटिएन ।

कोरोना सँक्रमणले मृत्यु भएको पुष्टि हुन बाँकी
कोरोना सँक्रमणकै कारण मृत्यु भएको हो कि अन्य कारणले भन्ने तथ्य मृतकको थ्रोट स्वाब टेस्ट रिपोर्ट नआएसम्म यकिन साथ केही भन्न नसकिएको अवस्था छ । यद्यपि चैत्र १० गतेदेखि चैत्र १६ गतेसम्म कोरोना सँक्रमणसँग मिल्ने लक्षण देखिएका जम्मा १७ जना आइसोलेशनमा भर्ना भए तर अहिलेसम्मको रिपोर्ट अनुसार कोरोना सँक्रमण पुष्टि भएको दर शून्य नै छ, अर्थात् कसैमा कोरोना सँक्रमण भेटिएन ।

सुविधाविहीन क्वारेन्टाइन तथा आइसोलेशन साक्षात मृत्यु घर
मृतकको हकमा पनि रिपोर्ट निगेटिव आउन सक्ने भएकोले यस्तो रिपोर्ट आएको खण्डमा आइसोलेशन गृह साक्षात मृत्यु घर बाहेक केही हुन सक्दैन । क्वारेन्टाइन होस् वा आइसोलेशन, शंकास्पद जो कोही व्यक्तिको छिटोछरितो आवश्यक परीक्षण गराई आएको रिपोर्टको आधारमा उपचार गर्न नसके क्वारेन्टाइन वा आइसोलेशनको अर्थ छैन । पर्याप्त मनिटरको व्यवस्था छैन, आवश्यक परिमाणमा नेबुलाइजर उपकरणको व्यवस्था छैन, न सुविधायुक्त ल्याबको व्यवस्था छ, न त निडर ढुक्क भई उपचार गर्न सेवामा समर्पित जनशक्ति । यस्तो अन्यौलको माहौलमा आफन्तीलाई राखेर नदुखेको टाउको किन दुखाउनु भन्ने खालका प्रतिक्रियाहरु जनसमूहबाट आउन थालेको छ ।

मृतककी श्रीमतीको गुनासो
२०७६ चैत्र १६ गते बिहान श्रीमान्लाई फोन गर्दा फोन लागेन । आइसोलेशन वार्डबाट कसैले फोन चार्जमा राखेको भएर नउठेको हो, विरामी ठिकै छ भनियो । उपचार गर्न नसक्ने भए यहाँ जबरजस्ती किन राखियो ? रीता थापाले व्यवस्थापन पक्षसँग आफ्नो गुनासोलाई प्रश्नको रुपमा राखिन् ।
‘मैले मेरो श्रीमान्को लाश त हेर्न देउ भन्छु, देखाउदैनन् । अरु रोग केही थिएन । सामान्य ज्वरो थियो । खाना रुचेको थिएन । निको नहुने भए मैले घरै लान्थे नि ।’ उनले भनिन् ।
मान्छे मरेपछि मात्र परीक्षणको लागि नमूना पठाउने हो ? अस्पतालको लापरवाही हो । भन्ने नै आइसोलेशन व्यवस्थापन पक्षलाई उनको मुख्य आरोप थियो ।

शून्य मानवता
कोही व्यक्ति कोरोना सँक्रमणका कारण रोगी हुनु वा मर्नुलाई विश्वभरका देश, समाजले बहिष्कार योग्य मान्न थालेको छ । रोगी हुने रोगी भयो, मर्ने मरेर गयो, आफुलाई पनि संक्रमित बनाउला, आफ्नो पनि प्राण हरण गर्ला भन्ने डर त्रासको वातावरण अहिले विश्वभरी व्याप्त भएको छ । मानिस मर्दा पर्दा काम लाग्नुपर्छ भन्ने भावना प्रायः लोप भइसकेको छ । न त लाश हेर्न दिइन्छ, न त अन्तिम संस्कार गर्न नै । डाक्टरहरु अस्पतालमा बस्न छोडी सके । रुघाखोकी, ज्वरो आएको बिरामीलाई अस्पतालले कोरोनाको आशंकमा गेटबाटै फर्काउन थालेको छ । स्वस्थ व्यक्तिहरुले पनि एकअर्कालाई यो मेरो मृत्युको कारण बन्न सक्छ भन्दै तर्किन, तर्काउन थालेका छन् । सम्पूर्ण सुरक्षाको सुविधा नभएकाले मानिसहरु आ–आफ्नो घरमा नजरबन्द बन्न बाध्य छन् ।
यो समाचार सम्प्रेषण गर्ने क्रममा आज मेरो कम्प्युटर कि बोर्डले काम गरेन । सबै बजार त बन्द नै छ । कहाँबाट ल्याउँ कि बोर्ड भन्ने सोच मस्तिष्कमा खेल्दा–खेल्दै मैले तिलोत्तमा नगरपालिकाको शंकरनगर चोकैमा रहेको रेसुङ्गा मोबाइल अस्पताललाई सम्झिन पुगेँ । रेसुङ्गा मोबाइलका सञ्चालक विचार मिल्ने, कुरा मिल्ने मेरा पुराना मित्र पनि हुन् । उनलाई साँझ ६ बजेर १२ मिनेटमा फोन हाने । पसल खोलेर किबोर्ड उपलब्ध गराउन आग्रह गरें । उनले एकैछिन् , चिया खान्छु र १५ मिनेटमा आउँछु । अन्य तीन चारजनाले पनि फोन गरेको गरै छन् भन्दै मित्रले मिलनसारिता र तत्परता प्रकट गरि हाले । कुर्दाकुर्दै १९ मिनेट बित्यो । करिब ५०० मिटरको दुरीबाट पसल आउन त लामो समय नलाग्नु पर्ने थियो । फेरि कल गरें । फोन उठेन । ६ बजेर ३७ मिनेट जाँदा फेरि कल गरें । साथीले यस पटक फोन उठाउन साथ ‘‘घरमै छ कि कि बोर्ड, खोज्दै छु, तपाईलाई दुई मिनेटमा कल गरें है ।’’ भने, मैले हस् भनेर फोन राखें । थप आधा घण्टासम्म कुरें तर साथीको फोन नै आएन । कारण, मैले धागो कारखाना बुटवलको आइसोलेशनमा एक व्यक्तिको मृत्यु भएको छ, त्यहाँ गएर समाचार संकलन गरेको छु, पब्लिश गर्न ढिला भयो भनेको थिएँ । मित्रलाई कोरोना वायरसको चपेटामा पर्नी भएँ झै पो भएछ ।

Facebook Comments

https://pahilosandesh.com/wp-content/uploads/2020/05/How-To-Prevent-COVID-19_NEP1-1542x2048.jpg